लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ ।

जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै सभामुखसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

काफ्लेले मंगलबार दायर गरेको फिरादपत्रमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाएकी छन् ।

काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप तथा पदाधिकारीको नाम प्रयोग गरी पत्र तयार पारिएको र त्यसकै आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गरेकी छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा संसदीय दलको निर्देशन उल्लंघन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो । सोही क्रममा प्रदेशसभा सचिवालयले भदौ २४ गते उनको पद रिक्त भएको सूचना जारी गरेको थियो ।

तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । काफ्लेले विवादित पत्रको आधिकारिकता छानबिन गरी कीर्ते तथा जालसाजीमा संलग्नलाई कानुनी कारबाही गर्न र उक्त लिखत अमान्य घोषित गर्न माग गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

स्थापनाको ३०औँ वर्षमा आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य