कोप ३१ मा शून्य फोहोरमैलाको सवाल र जलवायु परिवर्तनमा भूमिका

जलवायु परिवर्तन आज विश्व समुदायले सामना गरिरहेको सबैभन्दा गम्भीर चुनौतीमध्ये एक हो । यसको समाधानका लागि स्वच्छ ऊर्जा, वन संरक्षण, दिगो कृषि र जलवायु अनुकूलनसँगै फोहोरमैला व्यवस्थापन तथा शून्य फोहोरको अवधारणालाई पनि प्राथमिकतामा राख्न आवश्यक छ । फोहोरमैलालाई केवल सरसफाइ र व्यवस्थापनको विषयका रूपमा मात्र नभई जलवायु परिवर्तन, जनस्वास्थ्य, आर्थिक विकास र प्राकृतिक स्रोत संरक्षणसँग जोडिएको महत्वपूर्ण सवालका रूपमा बुझ्न ढिला गर्नु हुँदैन । नेपालले कोपका विभन्न संस्करणहरुमा जलवायु परिवर्तनका विभिन्न मुद्दाहरु उठाँउदै आएको छ ।

यसै सन्दर्भमा सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) नेपालका लागि विशेष महत्वको अवसर हुनेछ । जलवायु परिवर्तनको विश्वव्यापी बहसमा फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण र चक्रिय अर्थतन्त्र जस्ता विषयको महत्व बढ्दै गएको सन्दर्भमा यस पटक यसलाई कोपको एजेण्डामा प्राथमिकताका साथ अगाडि सारिएको छ । यसले फोहोरमैला व्यवस्थापनलाई वातावरणीय सरसफाइको सीमित दायराबाट बाहिर निकालेर जलवायु कार्यको महत्वपूर्ण एजेन्डाका रूपमा स्थापित गरेको छ ।

शून्य फोहोरः वातावरण संरक्षणदेखि जलवायु समाधानसम्म
शून्य फोहोर भन्नाले फोहोरमैला उत्पादन नै कम गर्ने, श्रोत मै फोहोरमैलालाई व्यवस्थापन गर्न पहलकदमी लिने, वस्तु तथा सामग्रीको पुनःप्रयोग गर्ने, पुनर्चक्रणलाई प्रोत्साहन गर्ने र प्राकृतिक स्रोतको अधिकतम सदुपयोग गर्ने जीवनशैली तथा व्यवस्थापन प्रणालीलाई बुझिन्छ । यसको मूल उद्देश्य फोहोरमैलालाई विसर्जन गर्नुपर्ने वस्तुका रूपमा नभई पुनः प्रयोग तथा प्रशोधन गर्न सकिने स्रोतका रूपमा स्थापित गर्नु हो ।

अव्यवस्थित फोहोरमैला व्यवस्थापनले वातावरण प्रदूषण, जलस्रोतको दूषितीकरण, माटोको गुणस्तरमा ह्रास र जनस्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । विशेषगरी ल्यान्डफिल तथा खुला स्थानमा थुप्रिएको जैविक फोहोरमैला कुहिँदा मिथेन ग्यास उत्सर्जन हुन्छ, जुन शक्तिशाली हरितगृह ग्यास हो । त्यसैले जैविक फोहोरमैलाको स्रोतमा वर्गीकरण, छुट्टै सङ्कलन, कम्पोस्ट उत्पादन, बायोग्यास प्रविधि र पुनर्चक्रण प्रणालीको विकास जलवायु परिवर्तन न्यूनीकरणका प्रभावकारी उपाय हुन् ।

यसका साथै खाद्य फोहोरमैला न्यूनीकरण, एकपटक मात्र प्रयोग हुने प्लास्टिकको विकल्प, उत्पादन तथा उपभोग प्रणालीमा सुधार र जिम्मेवार उपभोगलाई प्रोत्साहन गर्नु शून्य फोहोर अभियानका महत्वपूर्ण पक्ष हुन् । यसले वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जना, स्थानीय उद्यमशीलता र हरित अर्थतन्त्रको विकासमा समेत योगदान पुर्याउन सक्छ ।

नेपालको सन्दर्भः चुनौती र सम्भावना
नेपालमा तीव्र सहरीकरण, जनसङ्ख्या वृद्धि, उपभोगमुखी जीवनशैली र पर्यटन गतिविधिको विस्तारसँगै फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । काठमाडौं उपत्यकालगायत प्रमुख सहरमा घरायसी फोहोर, प्लास्टिकजन्य सामग्री, खाद्य फोहोर, अस्पतालजन्य फोहोर तथा विद्युतीय फोहोरको उचित व्यवस्थापन अझै पनि चुनौतीका रूपमा रहेका छन ्।

फोहोरको स्रोतमा वर्गीकरण नहुनु, पर्याप्त प्रशोधन पूर्वाधारको अभाव, स्थानीय तहको सीमित क्षमता, जनचेतनाको कमी तथा फोहोर व्यवस्थापनमा निजी क्षेत्र र समुदायको प्रभावकारी सहभागिता नहुनु प्रमुख समस्या हुन् । फोहोरको दीर्घकालीन समाधानभन्दा सङ्कलन र विसर्जनमा बढी निर्भर रहने प्रवृत्तिले समस्या थप जटिल बनाएको छ ।

तर नेपालसँग यस क्षेत्रमा प्रशस्त सम्भावना पनि छन् । यदपि, नेपालले फोहोरमैला व्यवस्थापनका बिषयलाई न्युन प्राथमिकतामा राखेका छन । घरायसी तथा कृषि क्षेत्रबाट निस्कने जैविक फोहोरलाई कम्पोस्ट र बायोग्यासमा रूपान्तरण गर्न सकिन्छ । प्लास्टिक तथा अन्य पुनर्चक्रणयोग्य सामग्रीलाई औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । स्थानीय तह, सहकारी, महिला समूह, युवा उद्यमी, फोहोर सङ्कलक तथा निजी क्षेत्रको सहकार्यबाट हरित रोजगारी र हरित अर्थतन्त्रको विकास गर्न सकिन्छ ।

नेपालको संविधानले स्वच्छ वातावरणको हक सुनिश्चित गरेको छ । स्थानीय सरकार सञ्चालनको जिम्मेवारीभित्र पनि फोहोरमैला व्यवस्थापन महत्वपूर्ण विषय हो । तर, श्रोत व्यवस्थापन, प्राविधिक ज्ञान र न्युन प्राथमिकताको कारण प्राय जसो स्थानीय तहमा फोहोरमैला व्यवस्थापनको समस्या जटिल बन्दै गएको छ । त्यसमाथि पनि आवश्यकत नीति तथा कानुनको अभाव र ती कानुनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै शून्य फोहोरलाई राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्न आवश्यक छ ।

शून्य फोहोरसम्बन्धी अन्तर्राष्ट्रिय संवाद
कोप ३१ को अवसरमा नेपालको राष्ट्रिय पेभिलियनमा शून्य फोहोर तथा दिगो फोहोर व्यवस्थापनसम्बन्धी विषयलाई विशेष प्राथमिकताका साथ उठाइनेछ । यसै क्रममा क्रिएसन नेपालले नेपाली पक्षबाट शून्य फोहोरसम्बन्धी साइडलाइन कार्यक्रमअन्तर्गत प्यानल छलफलको नेतृत्व गर्नेछ ।

यस प्यानल छलफलमा फोहोर व्यवस्थापन, वातावरण संरक्षण, जलवायु परिवर्तन, सर्कुलर इकोनोमी तथा दिगो विकासका क्षेत्रमा कार्यरत विज्ञहरू, विषयगत जानकार तथा सरोकारवालाहरूले आफ्नो अनुभव, ज्ञान र दृष्टिकोण प्रस्तुत गर्नेछन्। यसले नेपालका विज्ञ तथा सरोकारवालाहरूलाई विश्वमञ्चमा आफ्ना विचार, अभ्यास र समाधान प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।

छलफलको मूल उद्देश्य फोहोरमैला व्यवस्थापनलाई केवल स्थानीय सरसफाइको मुद्दाका रूपमा नभई जलवायु परिवर्तन न्यूनीकरण, स्रोत संरक्षण र दिगो विकासको महत्वपूर्ण एजेन्डाका रूपमा स्थापित गर्नु हो । यस क्रममा नेपालले अवलम्बन गरेका अभ्यास, विद्यमान चुनौती, स्थानीय तहको भूमिका, जैविक फोहोरको प्रशोधन, प्लास्टिक प्रदूषण न्यूनीकरण, पुनर्चक्रण, हरित रोजगारी र सर्कुलर इकोनोमीको सम्भावना’bout बहस गरिनेछ ।

नेपालको तर्फबाट क्रिएसनको नेतृत्वमा हुने यो संवादले नेपालका अनुभवलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने, विज्ञहरूबीच ज्ञान आदानप्रदान गर्ने तथा प्रविधि, लगानी र संस्थागत सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने अपेक्षा गरिएको छ। साथै, फोहोर व्यवस्थापनका क्षेत्रमा कार्यरत नेपाली संस्था, अभियन्ता, नीति निर्माता र निजी क्षेत्रका प्रतिनिधिहरूलाई अन्तर्राष्ट्रिय समुदायसँग प्रत्यक्ष संवाद गर्ने अवसरसमेत प्राप्त हुनेछ।

यस अर्थमा यो प्यानल छलफल एउटा विषयगत कार्यक्रम मात्र नभई नेपालको राष्ट्रिय पेभिलियनलाई सार्थक नीतिगत बहस, अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय साझेदारीको केन्द्र बनाउने प्रयास पनि हुनेछ।

फोहोर होइन, स्रोतः व्यवस्थापन होइन, रूपान्तरण
शून्य फोहोर केवल वातावरण सफा राख्ने अभियान होइन, यो जलवायु परिवर्तन न्यूनीकरण, प्राकृतिक स्रोत संरक्षण, आर्थिक समृद्धि र दिगो भविष्य निर्माण गर्ने महत्वपूर्ण अवधारणा हो । कोप ३१ नेपालका लागि यस विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राथमिकतासँग जोड्ने महत्वपूर्ण अवसर हो ।

नेपालको राष्ट्रिय पेभिलियनमा क्रिएसन नेपालको नेतृत्वमा सञ्चालन हुने शून्य फोहोरसम्बन्धी विज्ञस्तरीय प्यानल छलफलले नेपालको अनुभव, दृष्टिकोण र समाधानलाई विश्वमञ्चमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ । यसले अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नुका साथै नेपालमा दिगो फोहोरमैला व्यवस्थापनका लागि नयाँ सम्भावना र अवसरको ढोका खोल्न सक्नेछ ।

अबको आवश्यकता फोहोरमैलालाई समस्याका रूपमा मात्र हेर्ने होइन, त्यसलाई स्रोत, सम्भावना र आर्थिक अवसरका रूपमा रूपान्तरण गर्ने हो । ‘फोहोर होइन, स्रोतः व्यवस्थापन मात्र होइन, रूपान्तरण‘ भन्ने सोचलाई आत्मसात गर्दै नेपालले कोप ३१ मार्फत शून्य फोहोर र दिगो विकासको विश्वव्यापी अभियानमा आफ्नो अर्थपूर्ण योगदान प्रस्तुत गर्न सक्छ ।

नेपालका लागि कोप ३१ जलवायु परिवर्तनका चुनौती अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर मात्र नभई आफ्ना अनुभव, अभ्यास, सम्भावना र समाधान विश्वसामु पुर्याउने महत्वपूर्ण मञ्च पनि हो ।

यसपटक नेपालले आफ्नै राष्ट्रिय पेभिलियन मार्फत जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो विकास तथा फोहोर व्यवस्थापनजस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा छलफल र संवाद सञ्चालन गर्ने अवसर प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि हो । राष्ट्रिय पेभिलियन केवल प्रदर्शनीस्थल मात्र हुनुहुँदैन । यो सरकार, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था, अनुसन्धानकर्ता, नागरिक समाज, निजी क्षेत्र, युवा तथा स्थानीय समुदायबीच ज्ञान आदानप्रदान, अनुभव साझेदारी र सहकार्य निर्माण गर्ने साझा मञ्च बन्नुपर्छ ।

विशेषगरी शून्य फोहोर र दिगो फोहोर व्यवस्थापनलाई नेपालले आफ्ना स्थानीय अभ्यास र नीतिगत अनुभवलाई विश्वसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ । सामुदायिक फोहोर व्यवस्थापन, स्रोतमा फोहोर वर्गीकरण, प्लास्टिक न्यूनीकरण, जैविक फोहोर प्रशोधन, पुनर्चक्रण, चक्रीय अर्थतन्त्र र हरित उद्यमशीलताका विषयमा अन्तर्राष्ट्रिय संवाद गर्न सकिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

क्यान महासंघको ३३ लाखको घरजग्गा कोष विवादमा