वासिङ्टन । अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार शुक्रबारको अवरोधका कारण निर्धारित उडानमध्ये करिब १२ हजार उडान सञ्चालन हुन सकेनन् । शनिबारका लागि निर्धारित ४१ हजार उडानमध्ये करिब पाँच हजार उडान रद्द गरिएको थियो । पछिल्लो २५ वर्षयताकै सबैभन्दा लामो उडान रोकका कारण देशका विभिन्न विमानस्थलमा यात्रु अलपत्र परेका थिए ।
एफएएका प्रशासक ब्रायन बेडफोर्डले शनिबार हवाई यातायात प्रणाली स्थिर र सञ्चालनमा रहेको जानकारी दिए । उनले उडानमा अझै ढिलाइ तथा रद्द हुने समस्या देखिए पनि आइतबारसम्म सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको बताए ।
‘आज पनि उडानमा ढिलाइ र रद्द हुने समस्या रहनेछ, तर यसले भोलिसम्म पूर्ण रूपमा सेवा पुनः सञ्चालन गर्न सहयोग गर्नेछ,’ बेडफोर्डले भने । उनले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै हवाई यातायात नियन्त्रक, विमान चालक तथा परिचारिकाहरूको कामको प्रशंसा गरे ।
यसैबीच, अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले उक्त समस्या साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको र यसबाट कसैको ज्यान जोखिममा नपरेको बताएका छन् ।
यातायातमन्त्री सिन डफीका अनुसार शुक्रबार दिउँसो दुर्गम क्षेत्रमा रहेको हवाई यातायात प्रणालीको पुरानो तामाको तारलाई नयाँ फाइबर तारले प्रतिस्थापन गर्ने काम भइरहेको थियो । प्रणालीको एउटा भाग स्तरोन्नति भइरहेका बेला अत्यधिक भारका कारण समस्या उत्पन्न भएको उनले जानकारी दिए ।
प्रभावित यात्रुलाई राहत दिन विभिन्न विमान कम्पनीले टिकट परिवर्तन शुल्क हटाएका छन् । उडान रद्द भएका यात्रुले अर्को उडानमा निःशुल्क स्थानान्तरण वा टिकटको पूर्ण रकम फिर्ता पाउने व्यवस्था गरिएको छ । केही कम्पनीले शुक्रबार र शनिबारका यात्रुका लागि मात्र नभई आइतबार र सोमबारका लागि टिकट बुक गरेका यात्रुलाई समेत यो सुविधा विस्तार गरेका छन् ।
अधिकारीहरूले अमेरिकी हवाई क्षेत्र सुरक्षित रहेको र सेवा क्रमशः सामान्य अवस्थामा फर्किरहेको बताएका छन् ।
सम्बन्धित समाचार
अमेरिकी कंग्रेसमा डेमोक्रेटको अग्रता, राष्ट्रपति ट्रम्पद्वारा पराजय स्वीकार
इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी
रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति
सोनिया गान्धीको संस्मरणमा प्रेम र संघर्ष
इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
जलवायु वित्त र विकासशील राष्ट्रका लागि न्याय सुनिश्चित गर्न कोप-३१ मा माग
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप






