रोजगार संयोजक गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको आरोपमा बाराको फेटा गाउँपालिकाका कर्मचारी ओम प्रकाश गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीलाई कैद र जरिवाना गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा कार्यरत गिरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोप लागेको हो।

अख्तियारका अनुसार गिरीले २०७८ जेठ १ गतेदेखि फेटा गाउँपालिकामा रोजगार संयोजक पदमा नियुक्ति पाएका थिए। उक्त पदमा नियुक्ति हुन उनले तीन वर्षे बीएड तहको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।

उक्त प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा गिरीको नाममा नभई अर्कै व्यक्तिको रहेको पुष्टि भएको अख्तियारले जनाएको छ।

आफ्नो वास्तविक शैक्षिक योग्यता लुकाएर झुटो प्रमाणपत्र पेस गरी सरकारी पद प्राप्त गरेको देखिएकाले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कारबाहीको माग गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न सुझाव