बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित

न्युयोर्क । न्युयोर्कस्थित वित्तीय प्रविधि कम्पनी ‘क्रस रिभर’ का कार्यकारी उपाध्यक्ष तथा प्रमुख डेटा एवं एआई अधिकृत प्रवेश रिजाल प्रतिष्ठित ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । गत शुक्रबार न्युयोर्कमा आयोजित एक भव्य समारोहबीच रिजाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा नेतृत्वका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

‘द सीआईओ रुम’ द्वारा प्रदान गरिने यो अवार्डले आविष्कार, डिजिटल रूपान्तरण र संस्थागत व्यवसायमा अर्थपूर्ण प्रभाव पार्ने प्रविधि क्षेत्रका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गर्दछ ।

रिजाललाई सम्मान गर्दै ‘द सीआईओ रुम’ ले भनेको छ, “प्रमुख डेटा तथा एआई अधिकृतका रूपमा तपाईंको नेतृत्व, विशेषगरी वित्तीय सेवामा ‘एजेन्टिक एआई’ (Agentic AI) को प्रयोगलाई अघि बढाउन तपाईंले गरेको कार्यले उत्तरदायी र व्यवसाय-केन्द्रित नवीनताप्रतिको बलियो प्रतिबद्धता झल्काउँछ । अनुपालन (कम्प्लायन्स), पुँजी बजार र सफ्टवेयर विकासमा एआईको प्रयोग गरी जटिल वित्तीय वातावरणलाई सहज बनाउँदै कार्यक्षमता अभिवृद्धि गर्न तपाईंले खेलेको भूमिका प्रशंसनीय छ । उचित मानवीय निगरानी, जवाफदेहिता र व्यावहारिक प्रयोगसहितको विश्वसनीय एआई प्रणाली निर्माणमा तपाईंको जोड नै यस सम्मानका लागि सर्वोत्कृष्ट आधार हो ।”

रिजालले हाल क्रस रिभरको डेटा प्लेटफर्म, आर्टिफिसियल इन्टेलिजेन्स, ग्लोबल बैंकिङ र अनचेन फाइनान्स (Onchain Finance) रणनीतिको नेतृत्व गरिरहेका छन् । यसअघि उनले सोही कम्पनीको ‘क्वान्टिटेटिभ स्ट्राटेजीज’ विभागको नेतृत्व सम्हालेका थिए ।

वाल स्ट्रिटका विभिन्न प्रतिष्ठित वित्तीय संस्थाहरूमा काम गरिसकेका रिजालले यसअघि सिटीग्रुपको ग्लोबल मोडलिङ विभागमा वरिष्ठ उपाध्यक्षका रूपमा समेत कार्य गरेका थिए । वित्तीय इन्जिनियरिङ र एप्लाइड एआईमा गहिरो दखल राख्ने उनले न्युयोर्क युनिभर्सिटीबाट फाइनान्सियल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् भने हाल फ्रान्सको ईडीएचईसी बिजनेस स्कुलबाट फाइनान्समा विद्यावारिधि (पीएचडी) गरिरहेका छन् ।

विराटनगरमा जन्मिएका रिजाल विभिन्न परोपकारी कार्यहरूमा समेत सक्रिय छन् ।

यसअघि सन् २०२५ को जुलाईमा रिजाल संयुक्त राज्य अमेरिकाका १०० प्रभावशाली एआई नेतृत्वकर्ताहरूको प्रतिष्ठित सूची ‘एआई १००’ मा पर्न सफल भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

मधेसमा नयाँ सरकार गठन अन्योलमा