कन्यामको चिया महोत्सव: चिया पर्यटन र पदमार्ग प्रवर्द्धनमा जोड

इलाम । कन्यामको हुर्हुरेमा तीनवटा चियाका बोट रोपेर सुरु गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’ चिया पर्यटनको सम्भावना र प्रवर्द्धन’bout बहस गर्दै सम्पन्न भएको छ । चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया पर्यटन प्रवद्र्धन तथा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले दुईदिने महोत्सव आयोजना गरिएको हो ।

शनिबार देखि सुरु भएको महोत्सवमा चियाखेती, पर्यटन, जलवायु परिवर्तन र चिया कृषकका समस्या तथा सम्भावना’bout छलफल गरिएको थियो । कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनासँगको साझेदारीमा सूर्योदय नगरपालिकाले आयोजना गरेको महोत्सवमा चियाको प्रवर्द्धनसँगै स्थानीय संस्कृति, खानाका परिकार र उत्पादनको प्रदर्शनी गरिएको थियो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाले इलामलाई महत्वपूर्ण पर्यटकीय हबका रूपमा विकास गर्न सकिने बताइन् । इलामको प्राकृतिक सौन्दर्य, चियाखेती, जैविक विविधता र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके जिल्लालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो ।

उनले इलामको पहिचान चिया र पर्यटनसँग जोडिएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको बताइन् । महोत्सव तथा पर्यटनसँग सम्बन्धित कार्यक्रमले चियाको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण योगदान पु-याउने विश्वाससमेत व्यक्त गरिन् ।

महोत्सवको पहिलो दिन नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण शाहले ‘चिया र पर्यटन’ विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा राई, नेवार, तामाङ, लाप्चालगायत जातजातिका मौलिक झाँकी, पञ्चेबाजा, लाप्चा समुदायको भेषभूषा, आदिवासी जनजातिका खानाका परिकार तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी र स्वाद परीक्षणसमेत गरिएको थियो । महोत्सवमा १२ वटाभन्दा बढी स्टल राखिएको थियो ।

महोत्सवको दोस्रो दिन पुरुष र महिलातर्फ छुट्टाछुट्टै ‘टी ट्रेल रेस’ प्रतियोगिता सञ्चालन गरिएको सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समितिका सचिव खेम राईले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ कन्याम चिया बगानको पदमार्गमा १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा एक सय १० जनाको सहभागिता रहेको उनले बताए । प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

दोस्रो दिन ‘जलवायु परिवर्तनको सामना : दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवादसमेत आयोजना गरिएको थियो । अन्तरसंवादमा प्रतिनिधिसभा सदस्य निश्कल राई, संघीय सरकारका पर्यटन सचिव मुकुन्दप्रसाद निरौला, कृषि सचिव राजेन्द्रप्रसाद मिश्र र सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल सहभागी थिए । पत्रकार उमाकान्त खनालले सहजीकरण गरेको अन्तरसंवादमा जलवायु परिवर्तनले चियाखेतीमा पार्ने प्रभाव, दिगो खेती प्रणाली र कृषकको संरक्षणका विषयमा छलफल गरिएको थियो ।

महोत्सवको दोस्रो दिन पनि विभिन्न जातजातिका मौलिक झाँकी, भेषभूषा, खानाका परिकार, चियाको स्वाद परीक्षण तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय नगरपालिका–७ कन्यामदेखि वडा नं. ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर लामो ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ । सोही पदमार्गको प्रचारप्रसार तथा चिया पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको संयोजक लामाले बताए । “चिया पर्यटन प्रवद्र्धन गर्न र निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको हो,” उनले भने, “महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो ।”

महोत्सवमा टी ट्रेल रेस, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवद्र्धन तथा स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खाना तथा परिकारको प्रदर्शनी र सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । यसले सूर्योदय क्षेत्रमा उत्पादित विभिन्न ब्राण्डका चियाको पहिचान, स्वाद परीक्षण तथा बजारीकरणमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ । महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम इलामको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । चारैतिर हरियाली चियाबारीले सजिएको कन्याममा वनभोज, घोडचढी, फोटो तथा भिडियो खिच्न र प्राकृतिक दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता