मधेशमा मध्यावधिको जोखिम, नवनियुक्त मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्ने चुनौती

जनकपुरधाम । मधेश प्रदेशमा फेरि राजनीतिक अस्थिरताको शृङ्खला थप लम्बिएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्ष नपुग्दै छैटौँ सरकार गठन भएको छ ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएर आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।सरकारको नेतृत्व सम्हालेका यादवसामु अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने चुनौती छ ।

तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि दिएको समयसीमाभित्र कुनै पनि दलले दाबी पेस गर्न सकेनन् । त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका हैसियतमा जसपा नेपालका यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यसरी नियुक्त मुख्यमन्त्रीले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा चार सदस्यले प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएपछि कायम संख्या १०३ छ । उपलब्ध दलगत विवरणअनुसार जसपा नेपालका २८, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् ।

संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् । जसपा नेपालका एक सांसद निलम्बित रहेकाले मुख्यमन्त्रीको तत्कालीन दलगत समर्थन २७ मा सीमित छ । कायम सदस्य संख्याको बहुमतका लागि कम्तीमा ५२ मत आवश्यक पर्ने देखिन्छ । त्यसैले यादवले आफ्नो दलका सांसदबाहेक थप २५ जनाको समर्थन जुटाउनुपर्नेछ ।

गठबन्धनका दुई मुख्य विकल्प

मधेशमा नयाँ सरकार गठनका लागि मुख्यतः जसपा–एमाले–नेपाली कम्युनिस्ट पार्टीको समीकरण र जसपा–कांग्रेससहितको गठबन्धनका विकल्प चर्चामा छन् । प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४ र नेपाली कम्युनिस्ट पार्टीका १५ सांसद छन् । जसपा नेपालका एक सांसद निलम्बित रहेको अवस्थामा पनि यी तीन दलको समर्थन जुटेमा बहुमतका लागि आवश्यक संख्या सहजै पुग्छ । जनमत पार्टीलाई समेत समेट्न सके सरकारको समर्थन अझ फराकिलो हुनेछ ।

तर, तीन दलबीच मन्त्रालयको भागबन्डा र नेतृत्वको विषयमा सहमति जुटाउनुपर्ने हुन्छ । यसअघि एमाले र नेपाली कम्युनिस्ट पार्टीले जसपा नेपालको नेतृत्वमा सरकार गठनका लागि सकारात्मक संकेत दिएको बताइए पनि औपचारिक सहमति बनेको छैन ।

अर्को विकल्प नेपाली कांग्रेससँगको सहकार्य हो । कांग्रेसका २२ सांसद छन् । जसपा नेपाल र कांग्रेस मात्रै मिल्दा बहुमत पुग्दैन । त्यसैले यो समीकरण बने पनि थप दलको समर्थन आवश्यक पर्छ । अघिल्लो कांग्रेस नेतृत्वको सरकार ढलेको पृष्ठभूमिमा जसपा र कांग्रेसबीच सहकार्य सहज हुने देखिँदैन ।

मुख्यमन्त्री यादवले आइतबार शपथपछि सबै दललाई समेटेर सहमतिको सरकार बनाउने र विश्वासको मत लिने बताएका छन् । उनले सोमबारदेखि नै दलहरूसँग छलफल अघि बढाउने जनाएका छन् ।

मुख्यमन्त्री यादवका लागि गठबन्धन मिलाउनु मात्र चुनौती होइन, पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्नु पनि उत्तिकै पेचिलो छ ।

सरकार गठन भए पनि त्यसलाई टिकाउने आधार बलियो बनाउनुपर्ने दबाब उनीमाथि छ । मन्त्रालयको भागबन्डा, सत्ता साझेदार दलहरूबीचको समन्वय, सुशासन, बजेट कार्यान्वयन र प्रदेशमा रोकिएका विकास निर्माणका कामलाई गति दिनुपर्ने चुनौती पनि नयाँ सरकारसामु छन् ।

विश्वासको मत नपाए के हुन्छ ?

मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके उनी पदमुक्त हुनेछन् । त्यसपछि संविधानको धारा १६८(५) अनुसार सरकार गठनको अर्को प्रक्रिया अघि बढ्न सक्छ । यस व्यवस्थाअनुसार प्रदेशसभाको कुनै सदस्यले दुई वा दुईभन्दा बढी दलको समर्थनमा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन् ।

उपधारा (५) अनुसार नियुक्त मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले समेत विश्वासको मत प्राप्त गर्न नसकेमा वा त्यसअनुसार मुख्यमन्त्री नियुक्त हुन नसकेमा संविधानको धारा १६८(७) आकर्षित हुनेछ । त्यसबेला प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभा विघटन गरी ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न हुने गरी मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

मधेशमा मध्यावधिको जोखिम, नवनियुक्त मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्ने चुनौती