काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणमा नेपालले ठूलो आर्थिक सहायता, पारवहनका नयाँ विकल्प र हवाई सम्पर्क विस्तारका महत्वपूर्ण सहमति प्राप्त गरेको छ ।
दुईदिने भ्रमणका क्रममा भारतले २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता घोषणा गरेको छ भने दुई देशबीच आठवटा समझदारीपत्र आदानप्रदान र २४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार र सोमबार भएको राजकीय भ्रमणका क्रममा शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे । मोदीसँग भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुवै देशले संयुक्त वक्तव्य जारी गरे । भ्रमणका क्रममा आर्थिक सहायता, ऊर्जा, जलस्रोत, हवाई तथा रेल सम्पर्क, पारवहन, पेट्रोलियम पूर्वाधार, सीमा व्यवस्थापन र संस्थागत सहकार्यका विषयमा सहमति भएका छन् ।
भारतले नेपालको विपद्पछिको पुनर्निर्माण तथा पूर्वाधार विकासका लागि ५६ अर्ब रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा उपलब्ध गराउने घोषणा गरेको छ ।
कुल २ खर्ब ४० अर्ब रुपैयाँको सहायता प्याकेजमध्ये करिब २३ प्रतिशत अनुदान र ७७ प्रतिशत ऋण हो । ऋण सुविधा भारतीय रुपैयाँमा आधारित हुनेछ । कुन परियोजनामा कति रकम परिचालन गर्ने र कार्यान्वयन प्रक्रिया के हुने भन्ने विषय भने दुई देशबीचको परामर्शबाट टुंग्याइनेछ ।
गत भदौमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिपछि नेपालले पुनर्निर्माणका लागि भारतसँग सहयोग मागेको थियो । त्यस सन्दर्भमा घोषणा गरिएको अनुदान पुनर्निर्माणका लागि महत्वपूर्ण हुनेछ । तर, ऊर्जा परियोजनाका लागि उपलब्ध हुने ऋणको ब्याजदर, भुक्तानी अवधि र सर्त सार्वजनिक भइसकेका छैनन् । त्यसैले घोषित सहायता रकमलाई तत्काल प्राप्त हुने बजेट वा बाढीपीडितलाई वितरण गरिने राहतका रूपमा बुझ्न मिल्दैन । यसको प्रभावकारिता परियोजना छनोट, ऋणको सर्त र कार्यान्वयन प्रक्रियामा निर्भर हुनेछ ।
हवाई रुट र बन्दरगाहमा नयाँ सहमति
भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि नेपालको हवाई तथा पारवहन पहुँच विस्तारसम्बन्धी सहमति हो । काठमाडौं–भैरहवा–लखनउबीच सञ्चालनमा रहेको बी ३४५ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ ।
यसअघि उक्त रुट एकतर्फी मात्र सञ्चालनमा थियो । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन नेपालले लामो समयदेखि भारतसँग आग्रह गर्दै आएको थियो ।
पारवहनतर्फ भारतको गुजरातस्थित दीनदयाल अर्थात् कान्डला बन्दरगाह हुँदै नेपालको व्यापारका लागि नयाँ पहुँच उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै, ओडिशास्थित पारादीप बन्दरगाहमा पनि आवश्यक पूर्वाधार तयार भएपछि नेपालको पहुँच विस्तार गरिनेछ । यसअघि कोलकाता र विशाखापट्टनम बन्दरगाहमा निर्भर नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि नयाँ विकल्प थपिनेछ । तर, पारादीपको पहुँचका लागि पूर्वाधार निर्माण र सञ्चालनसम्बन्धी काम पूरा हुनुपर्नेछ ।
शिलान्यास, उद्घाटन र हस्तान्तरण
भ्रमणका क्रममा भारतीय सहयोगमा सञ्चालित तथा निर्माण हुने छवटा परियोजनाको हस्तान्तरण, शिलान्यास र उद्घाटन गरिएको छ । तीनवटा परियोजनाको शिलान्यास, दुईवटाको उद्घाटन र एउटाको हस्तान्तरण भएको हो ।
संखुवासभामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । भारतीय कम्पनी एसजेभीएनको लगानीमा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ ।
भारतको उत्तराखण्डस्थित बनबासा क्षेत्रमा एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ । झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको पनि शिलान्यास भएको छ ।
उद्घाटन गरिएका दुई परियोजनामा भारतको अयोध्या र नेपालको जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवा र धार्चुला–दार्चुला जोड्ने सीमापार मोटरेबल पुल छन् । जनकपुर–अयोध्या रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटन र दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । महाकाली नदीमाथि बनेको धार्चुला–दार्चुला पुलले सीमावर्ती क्षेत्रमा आवागमन सहज बनाउनेछ ।
भारतले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ । यसबाट पेट्रोलियम पदार्थको आपूर्ति पूर्वाधार विस्तार भएको छ । यसबाहेक सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण शीघ्र सुरु गर्ने तथा ग्यास पाइपलाइनको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ ।
ऊर्जा तथा जलस्रोत क्षेत्रमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिने सहमति भएको छ । त्यस्तै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययन अघि बढाउने तथा इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी कम्पनी गठन प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण अन्तिम चरणमा पुगेको संयुक्त वक्तव्यमा उल्लेख छ । नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि सहकार्य गर्ने सहमति भएको छ । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको काम अघि बढाउने तथा सीमा स्तम्भको मर्मतसम्भार र पुनःस्थापनालाई निरन्तरता दिने विषय पनि समेटिएका छन् ।
भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । फरेन्सिक विज्ञान तथा प्रहरी अनुसन्धान, राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपाल प्रहरी प्रतिष्ठानबीचको सहकार्य, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसिया स्याटेलाइटको उपयोग, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुधन तथा मत्स्य विकाससम्बन्धी समझदारी भएका हुन् ।
यसका अतिरिक्त भारतको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्ने र नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को विदेशी क्याम्पस स्थापना गर्ने सहमति भएको छ । डिजिटल सेवा, स्टार्टअप, अन्तरिक्ष प्रविधि र वित्तीय सम्पर्क विस्तारलाई पनि आगामी सहकार्यका क्षेत्रमा समेटिएको छ ।
दुवै देशले जारी गरेको २४ बुँदे संयुक्त वक्तव्यमा ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी साझा दृष्टिकोणलाई प्राथमिकता दिइएको छ । आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, सम्पर्क सञ्जाल, जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन र जनस्तरको सम्बन्ध विस्तारलाई आगामी सहकार्यका आधार बनाइएको छ । सीमा समस्याको समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ ।
मोदीको जोड सहकार्यमा, शाह नागरिक लाभको पक्षमा
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्ध पारस्परिक विश्वास, मित्रता र सहकार्यमा आधारित रहेको बताए । उनले दुवै देश एकअर्काको विकासका साझेदार भएको उल्लेख गर्दै ऊर्जा, पूर्वाधार, शिक्षा, प्रविधि र जनस्तरको सम्बन्ध विस्तारलाई प्राथमिकता दिने बताए ।
प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भएका सहमति र समझदारीबाट प्राप्त लाभ किसान, युवा, विद्यार्थी तथा उद्यमीले प्रत्यक्ष अनुभव गर्न पाउनुपर्नेमा जोड दिए । सहकार्यले किसानका लागि समृद्धि, युवाका लागि रोजगारी, विद्यार्थीका लागि अवसर तथा उद्यमीका लागि नयाँ बजार र लगानीको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । उनले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ ।
सम्बन्धित समाचार
विधिपूर्वक गरियो गोबर्धन पूजा
सोमबार पनि सार्वजनिक बिदा
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
पूर्वाधार विकास मन्त्रालयका सात जना इन्जिनियर बर्खास्त
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
प्रधानमन्त्री शाह भारत प्रस्थान
रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम
सकियो प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता






