नीतिगत भ्रष्टाचारका प्रमुख काण्ड र नियन्त्रणका उपाय

भ्रष्टाचार नेपालको विकास, सुशासन र समृद्धिको सबैभन्दा ठूलो बाधकमध्ये भ्रष्टाचार एक हो । मुलुकमा विविध कालखण्डमा जनआन्दोलनहरु भए , त्यसैका आडमा राजनीतिक व्यवस्था परिवर्तन भयो, नयाँ नयाँ सरकारहरू आए, पुरानो संविधान खारेज भएर नयाँ संविधान बन्यो अनि जनताले राजनीतिक दलहरुलाई धेरैपटक नयाँ नेतृत्वको अवसर प्रदान गरे । तर विडम्बना के कुरामा मान्नुपर्दछ भने राजनीतिक परिवर्तनसँगै भ्रष्टाचारको प्रवृत्ति अन्त्य हुन सकेन, बरु मौलाइरह्यो । राज्यका विभिन्न निकाय, सार्वजनिक संस्थान, सरकारी ठेक्कापट्टा, भूमि प्रशासन र राजनीतिक संरक्षणसँग जोडिएका भ्रष्टाचारका घटना दिन दुगुणा रात चौगुणा सार्वजनिक भइरहे ।

२०६२–०६३ को जनआन्दोलनपछि नेपाली जनताले देशमा सुशासन, पारदर्शिता, जवाफदेहिता र आर्थिक समृद्धि र विकासको ठूलो अपेक्षा गरेका थिए । तर डेढ दशकभन्दा बढी समय बितिसक्दा पनि भ्रष्टाचारका ठूला काण्डहरू सार्वजनिक भइरहनुले हाम्रो शासन प्रणालीमा गम्भीर कमजोरी रहेको देखाउँछ । भ्रष्टाचारले सरकारी ढुकुटीमात्र रित्याउँदैन, यसले जनताको विश्वास, देशको प्रतिष्ठा र भावी पुस्ताको भविष्यसमेत खरानी बनाउँछ ।

२०६२–०६३ पछिका चर्चित भ्रष्टाचारका काण्डहरू
नेपालमा यस अवधिमा सार्वजनिक भएका केही चर्चित भ्रष्टाचारका काण्ड निम्न छन् :

१. ललिता निवास जग्गा प्रकरण काण्ड
काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवाससँग जोडिएको ललिता निवासको सरकारी जग्गा विभिन्न सरकारी निर्णय, नक्कली मोही र कागजातको दुरुपयोग गरी व्यक्तिका नाममा दर्ता गरेर सत्तामा हालिमुहाली हुनेले लखनौ लुट मच्चाएको प्रकरण निकै चर्चित बन्नपुग्यो । यसमा राजनीतिकर्मी , उच्चपदस्थ कर्मचारी, व्यापारी , व्यवसायी र न्यायालयमा कार्यरत व्यक्तिहरुसमेत संलग्न रहेको पाइयो । विशेष अदालतले २०८० सालमा यस प्रकरणमा एक सयभन्दा बढी व्यक्तिलाई दोषी ठहर गरेको थियो भने केही राजनीतिक व्यक्तिलाई जग्गा फिर्ताको बहानामा उन्मुक्ति दिइएको थियो । मुलुकका कार्यकारी प्रमुख भएका व्यक्तिसमेतको संलग्नताको आरोप लागेको यो काण्ड नेपालको इतिहासकै कलङ्कले भरिएको काण्ड हो ।

२. कर फछ्र्योट आयोग प्रकरण काण्ड
कर फछ्र्योट आयोगका पदाधिकारीहरूले विभिन्न उद्योगी तथा व्यवसायीलाई ठूलो परिमाणमा कर छुट दिँदा राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी भएको आरोप लाग्यो । २०७४ सालमा अख्तियारले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य चुडामणि शर्मा र उमेश ढकालविरुद्ध करिब १० अर्ब रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । यो घटनाले सरकारी राजस्वसमेत कसरी दुरुपयोग हुन सक्छ भन्ने कुरा ऐनामा झैं छर्लङ्ग देखाइदिएको छ ।

उद्योगी व्यवसायीसँगको साँठगाँठमा उच्चपदस्त राजनीतिज्ञ तथा डाडुपन्यु चलाउने कर्मचारीले राष्ट्रको ढिकुटीमा ब्रम्हलुट मच्चाएको उदाहरण यस प्रकरणमा पाइन्छ ।

३. वाइडबडी विमान खरिद काण्ड
नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा मूल्यांकन र खरिद प्रक्रियामा अनियमितता भएको आरोप लाग्यो । वाइडबडी विमान खरिद पक्रियामा ्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ सालमा ३२ जना व्यक्ति तथा विभिन्न संस्थाविरुद्ध करिब एक अर्ब ४७ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर ग¥यो । २०८१ मंसिरमा विशेष अदालतले चार उच्चपदस्थ कर्मचारीलाई दोषी ठहर ग¥यो भने तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित केही व्यक्तिले सफाइ पाएका थिए ।

४. भुटानी नक्कली शरणार्थी काण्ड
नेपाली नागरिकलाई भुटानी नक्कली शरणार्थी बनाएर अमेरिका, क्यानडा , बेलायत आदि देश पठाइदिने भन्दै हजारौंहजार व्यक्तिबाट जनही लाखौंलाख रकम असुलिएको यो प्रकरणले मुलुकलाई अन्तर्राष्ट्रियस्तरमै लज्जित बनाएकोछ । यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, उच्चपदस्थ कर्मचारी , भूटानी शरणार्थीका नेता र अरु विभिन्न बिचौलियाहरूको नाम जोडिएको छ । २०८० सालमा ३० जनाविरुद्ध ठगी, संगठित अपराध, लिखत किर्ते र राज्यविरुद्धको अपराधलगायत आरोपमा मुद्दा दायर गरिएको थियो । पूर्व उपप्रधानमन्त्री , पूर्व गृहमन्त्री , पूर्व गृहसचिव र भूटानी शरणर्थीका नेताले समेत जेलको चिसो छिंडीको अनुभव गर्न पाए । यस घटनाले राजनीतिक पहुँच र प्रशासनिक शक्तिको दुरुपयोगबाट सर्वसाधारण नागरिकसमेत कसरी ठगिन सक्छन् भन्ने कुरा प्रष्ट देखायो । यस प्रकरणमा हालसम्म परेका भुरा र मझौला माछामात्र भएकोमा ह्वेल माछाहरु अझै पनि यसका दायरामा आउन नसक्नुलाई बिडम्बना मान्नुपर्दछ ।

५. सेक्युरिटी प्रेस खरिद काण्ड
सरकारी सेक्युरिटी प्रेस खरिद प्रक्रियाका क्रममा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको कमिसनसम्बन्धी अडियो सार्वजनिक भएपछि ठूलो विवाद उत्पन्न भएको थियो । त्यस अडियोमा ७० करोड रुपैयाँ कमिसन’bout गोकुल बाँस्कोटासित बिचौलियाको विवादास्पद कुराकानी भएको आरोप सार्वजनिक भएको थियो । त्यसपछि बाँस्कोटाले सञ्चार मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस घटनाले सरकारी खरिद प्रक्रियामा पारदर्शिता र निगरानीको टडकारो आवश्यकता देखियो । यद्यपि बाँस्कोटाले यस प्रकरणमा आफू निर्दोष रहेको र उक्त अडियो फेक रहेको दाबी गर्दै आएका छन् ।

६. पतञ्जलि जग्गा काण्ड
२०८२ सालमा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपीठसँग जोडिएको जग्गा कारोबारमा अनियमितता भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर चलायो । अख्तियार दुरुपयोग अनुसन्धार आयोगले सरकारी जग्गासम्बन्धी निर्णयबाट राज्यलाई नोक्सानी पुगेको दाबी गरेको छ । पूर्वप्रधानमन्त्री नेपालले भने आफूविरुद्धको आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोध भएको बताउँदै आएका छन् ।

७. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण काण्ड
२०८२ सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत अस्वाभाविक रूपमा बढाइएको र खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियारले ५५ जनाविरुद्ध मुद्दा दायर ग¥यो । यसमा पाँच पूर्वमन्त्री र दश पूर्वसचिवसमेतलाई प्रतिवादी बनाइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणामा अख्तियारले करिब ७४.३४ मिलियन अमेरिकी डलर बराबरको रकम बढी भुक्तानी भएको दाबी गरेको छ । यो विषय पनि अदालतको अन्तिम फैसलाबाट टुङ्गिन बाँकी छ ।

यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । भ्रष्टाचारका घटना संघीय सरकारमा मात्र सीमित छैनन् । प्रदेश सरकार र स्थानीय तहमा समेत सडक निर्माण, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था, नदीजन्य पदार्थको उत्खनन, सार्वजनिक खरिद र उपभोक्ता समितिका नाममा अनियमितताका अनेक उजुरी आउने गरेका छन् ।

अख्तियारको आर्थिक वर्ष २०८१–८२ को प्रतिवेदनअनुसार एक वर्षमा ३७ हजार २६ वटा उजुरी प्राप्त भएका थिए । तीमध्ये स्थानीय तहसँग सम्बन्धित उजुरीको हिस्सा पनि उल्लेख गरिएको थियो । मुलुकको केन्द्रमा भ्रष्टाचार हुने गरेको छ भने स्थानिय तहसम्म भ्रष्टाचारको डढेलो सल्किंदै जाने गरेको देखिन्छ ।

भविष्यमा भ्रष्टाचार नियन्त्रण गर्ने उपायहरू
भ्रष्टाचार नियन्त्रण गर्न भाषण, प्रतिबद्धता र नाराले मात्र नपुग्ने रहेछ । यसका लागि राजनीतिक इच्छाशक्ति, बलियो कानुन, इमानदार प्रशासन र सचेत नागरिकको आवश्यकता हुनेरहेछ ।

पहिलो, राजनीतिक नेतृत्व इमानदार हुनुपर्छ । भ्रष्टाचार नियन्त्रणको सुरुवात नै राजनीतिक दल र त्यसको नेतृत्वबाटै हुनुपर्छ । राजनीतिक नेतृत्वले मुखले भ्रष्टाचार गर्दिन , गर्न पनि दिन्न अनि भ्रष्टाचारीको मुख हेर्दिन भन्ने तर आफ्नै जुँघामुनि अर्बौं भ्रष्टाचारका मोलमोलाई भएको पनि थाहा नपाउने वा बुझपचाउनेहरुबाट भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गर्ने नारा दिनु खोक्रो आडम्बरमात्र मानिन्छ ।

राजनीतिक दलहरुले चुनावमा खर्च गरिएको पैसाको स्रोत सार्वजनिक गर्ने, उम्मेदवारको सम्पत्ति विवरण जाँच गर्ने र भ्रष्टाचारमा संलग्न प्रमाणित व्यक्तिलाई राजनीतिक संरक्षण नदिने व्यवस्था गर्नुपर्छ ।

दोस्रो, अख्तियारलाई स्वतन्त्र र शक्तिशाली बनाउनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि राजनीतिक दबाब र प्रभावबिना काम गर्ने वातावरण बनाउन निजामति प्रशासनका विभिन्न तह र तप्कामा काम गरेर भ्रष्टाचार गरी अकुत कमाउनेहरु आफ्नो सम्पत्ति जोगाउन अख्तियारमा जाने परम्परालाई अन्त्य गरेर अख्तियारका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिनुपर्दछ । अनुसन्धान गर्ने निकायमा योग्य, इमानदार र निष्पक्ष व्यक्तिहरू नियुक्त गर्नुपर्छ । अख्तियारका आयुक्तले नै कार्यालय खोलेर विभिन्न कर्मचारी र व्यक्तिसित दलाली गरेर अकुत सम्पत्ति कमाएर भ्रष्टाचारको कुरा पनि कसैमा छिपेको छैन । भ्रष्टाचारको अनुसन्धान वर्षौंसम्म लम्ब्याउने प्रवृत्ति अन्त्य नभएमा यसक्षेत्रमा अनियमितता जिउँका तिउँ रहन सक्दछ ।

तेस्रो, सरकारी खर्च पारदर्शी बनाउनुपर्छ । सरकारी कार्यालयले गर्ने खरिद, निर्माण र ठेक्कापट्टाका सम्पूर्ण विवरण नागरिकले इन्टरनेटबाट हेर्न पाउने व्यवस्था हुनुपर्छ । कुन योजनामा कति रकम खर्च भयो, काम कति सम्पन्न भयो र ठेकेदारले कति भुक्तानी पाए भन्ने विवरण सार्वजनिक गर्नुपर्छ ।

चौथो, सरकारी सेवामा प्रविधिको प्रयोग बढाउनुपर्छ । नागरिकले सरकारी कार्यालयमा काम गराउन कर्मचारीलाई घुस दिनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ । अनलाइन सेवा, डिजिटल भुक्तानी र विद्युतीय अभिलेख प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ । यसले बिचौलिया र अनावश्यक कर्मचारी हस्तक्षेप न्यूनीकरणमा सहयोग पुग्नेछ ।

पाँचौँ, भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्नुपर्छ । सानालाई मात्र कानुन लाग्ने र ठूलालाई राजनीतिक पहुँचका आधारमा उन्मुक्ति मिल्ने अवस्थाको दीर्घकालीन् अन्त्य हुनुपर्छ । प्रमाणका आधारमा दोषी ठहरिएका व्यक्तिबाट बिगो असुल गर्नुपर्छ र कानुनअनुसार सजाय दिनुपर्छ । अर्बौंको भ्रष्टाचारमा हजार र लाखको धरौटी र नगण्य जरिवाना गर्ने प्रक्रियाले भ्रष्टाचार गर्ने प्रवृत्ति अझै बढ्नेछ । भ्रष्टाचारका मुद्दाको फैसला छिटो गर्ने न्यायिक व्यवस्था अति आवश्यक भएको छ ।

छैटौँ, भ्रष्टाचारबाट आर्जित सम्पत्ति मसिनोसित खोजी गरी सार्वजनिक पदमा बसेका व्यक्तिको आम्दानी र सम्पत्तिको नियमित परीक्षण गर्नुपर्छ गर्नुपर्दछ । आम्दानीको स्रोतसँग मेल नखाने सम्पत्ति राज्यकोषमा दाखिला गर्ने र विदेशमा लुकाइएको अवैध सम्पत्ति फिर्ता ल्याउने संयन्त्रसमेत बलियो बनाउनुपर्छ ।

सातौँ, नागरिक समाज र सञ्चारमाध्यमलाई बलियो बनाउनुपर्छ । भ्रष्टाचार सार्वजनिक गर्ने पत्रकार, सामाजिक अभियन्ता र उजुरीकर्ताको सुरक्षा सुनिश्चित गर्नुपर्दछ । सूचनाको हक प्रयोग गरेर नागरिकले सरकारी कामको निगरानी गर्न सक्ने वातावरण बनाउनुपर्दछ ।

विगतमा भ्रष्टाचारविरुद्ध आवाज उठाउने व्यक्तिलाई राज्यका विभिन्न निकायबाट निरुत्साहित र प्रताडना गरी पीडित हुनुपरेको कुरा ललिता निवास जग्गा घोटाला प्रकरणका उजुरीकर्ताले आँसु बगाएर मिडियाहरुका सामु गरेको गुनासो कसैले बिर्सेका छैनन् । यस्ता उदाहरणहरु यहाँ धेरै छन् ,त्यस्ता उजरीकर्तालाई प्रोत्साहन र पुरस्कार दिने व्यवस्था गर्नुपर्छ ।

आठौँ, विद्यालय तहदेखि नैतिक शिक्षामा जोड दिनुपर्छ । बालबालिकालाई इमानदारी, अनुशासन, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक जिम्मेवारी’bout बाल्यकालदेखि नै शिक्षा दिनुपर्दछ । घरपरिवार र समाजले पनि गलत तरिकाले कमाएको धनलाई प्रतिष्ठाको विषय नबनाएर भ्रष्टाचारीलाई तिव्र घृणा गर्ने बानीको विकास गर्नुपर्दछ ।

निष्कर्ष
भ्रष्टाचार कुनै एउटा पार्टी, नेता, कर्मचारी वा सरकारको मात्र समस्या होइन। यो हाम्रो सामाजिक, राजनीतिक र प्रशासनिक संस्कारसँग जोडिएको गाढे घाउ हो । गलत काम गरेर धन कमाउने मानिस समाजमा जबसम्म सम्मानित भइरहन्छन् अनि इमानदारीपूर्वक काम गर्ने मानिस निरुत्साहित भइरहन्छन्, तबसम्म भ्रष्टाचार अन्त्य गर्न कठिन हुन्छ ।

नेपालमा विकासका लागि बजेटको अभावभन्दा पनि उपलब्ध बजेटको सही सदुपयोग हुन नसक्नु ठूलो समस्या बनेको छ । भ्रष्टाचारका कारण विद्यालय बन्नुपर्ने ठाउँमा भवन बन्दैनन्, अस्पतालमा औषधि पुग्दैन, सडक समयमै बन्दैनन् र युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य हुन्छन् । त्यसैले भ्रष्टाचार केवल आर्थिक अपराध होइन, यो जनताको अधिकार र भविष्यप्रतिको अन्याय हो ।

मुलुकमा अब सरकार परिवर्तन मात्र होइन, शासन गर्ने संस्कारमा परिवर्तन हुनुपर्छ । मुलुकका प्रधानमन्त्रीदेखि वडा सदस्यसम्म, मन्त्री र मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगीसम्म सबैले विद्यमान कानुनको पालना गर्नुपर्दछ । राजनीतिक दलहरूले भ्रष्टाचारलाई संरक्षण गर्ने होइन, भ्रष्टाचारविरुद्ध उदाहरणीय व्यवहार देखाउनु पर्दछ ।

देशलाई भ्रष्टाचारमुक्त बनाउने जिम्मेवारी सरकारको मात्र होइन, प्रत्येक सचेत नागरिकको पनि हो , आफू भ्रष्टाचार नगर्ने, भ्रष्टाचार गर्नेलाई संरक्षण नगर्ने र भ्रष्टाचार भएको देखेमा त्यसका विरुद्ध आवाज बुलन्द गर्ने संस्कार विकास गर्न सकेका खण्डमा समृद्ध नेपालको सपना साकार हुन सक्छ , अनि नेपाली स्वतः सुखी हुनेछन् । राष्ट्रको भविष्य भ्रष्टाचारीको तिजोरीमा होइन, इमानदार नागरिकको पसिना र परिश्रममा सुरक्षित हुन सक्दछ ।
(गोरखापत्र दैनिकका पूर्वप्रबन्धसम्पादक गुरागाईं हाल स्वतन्त्र पत्रकार हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ