रोहित पुनः मुम्बई इन्डियन्सको कप्तान

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा अनुभवी ब्याटर रोहित शर्मा पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सको कप्तान नियुक्त भएका छन् । फ्रेन्चाइजले शुक्रबार रोहितलाई आगामी सिजनका लागि कप्तान बनाइएको आधिकारिक घोषणा गरेको हो ।

३९ वर्षीय रोहितले तीन सिजनपछि पुनः टोलीको नेतृत्व सम्हाल्ने भएका छन् । सन् २०२४ को सिजनअघि उनलाई कप्तानीबाट हटाउँदै हार्दिक पाण्ड्यालाई जिम्मेवारी दिइएको थियो । तर, हार्दिक नोभेम्बर ११ मा ट्रेडमार्फत पञ्जाब किंग्समा गएपछि मुम्बईले पुनः रोहितलाई कप्तान बनाउने निर्णय गरेको हो ।

कप्तानीमा फर्किएपछि रोहितले मुम्बई इन्डियन्स आफ्नो जीवनको महत्वपूर्ण हिस्सा रहेको बताउँदै टोलीको नेतृत्व गर्न पाउनु गर्वको विषय भएको प्रतिक्रिया दिएका छन् । उनले आगामी सिजनका चुनौती सामना गर्न आफू उत्साहित रहेको र समर्थकलाई खुसी हुने धेरै अवसर दिने लक्ष्य रहेको बताएका छन् ।

रोहितको कप्तानीमा मुम्बई इन्डियन्सले पाँच पटक आईपीएल उपाधि जितेको थियो । उनले सन् २०१३ मा रिकी पोन्टिङबाट कप्तानी जिम्मेवारी सम्हालेका थिए । सोही सिजन मुम्बईलाई पहिलो पटक आईपीएल च्याम्पियन बनाएका रोहितले त्यसपछि २०१५, २०१७, २०१९ र २०२० मा पनि उपाधि दिलाएका थिए ।

यससँगै रोहित आईपीएल इतिहासमा पाँच पटक उपाधि जिताउने कप्तानको सूचीमा महेन्द्रसिंह धोनीसँगै रहेका छन् । रोहितको कप्तानीमा मुम्बईले कुनै पनि आईपीएल फाइनल गुमाएको थिएन ।

सन् २०१३ देखि २०२३ सम्म ११ सिजन मुम्बईको नेतृत्व गरेका रोहितले कुल १५८ खेलमा कप्तानी गरेका थिए । जसमा टोलीले ८७ खेल जित्दा ६७ खेलमा हार बेहोरेको थियो भने चार खेल बराबरीमा सकिएका थिए ।

सन् २०२४ मा हार्दिक पाण्ड्या कप्तान बनेपछि मुम्बईको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन । पहिलो सिजन टोली १४ खेलमा चार जितसहित अंकतालिकाको पुछारमा रहेको थियो । सन् २०२५ मा भने मुम्बईले सुधार गर्दै चौथो स्थान हासिल गरेको थियो । तर, सन् २०२६ मा पुनः कमजोर प्रदर्शन गर्दै टोली नवौँ स्थानमा सीमित भयो । १४ खेलमध्ये मुम्बईले केवल चार खेलमा जित निकालेको थियो ।

हार्दिकलाई पञ्जाब किंग्ससँग ट्रेड गरेपछि मुम्बईले अर्शदीप सिंहलाई टोलीमा भित्र्याएको छ । अर्शदीप अब जसप्रित बुमराहसँगै मुम्बईको तीव्र बलिङ आक्रमणमा रहनेछन् ।

रोहितले भारतलाई सन् २०२४ को टी–२० विश्वकपको उपाधि दिलाएपछि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट संन्यास लिएका थिए । यद्यपि, उनले मुम्बई इन्डियन्सका लागि भने खेल्न जारी राखेका थिए ।

अब मुख्य प्रशिक्षक काइरन पोलार्डसँग मिलेर रोहितले आईपीएल २०२७ को तयारी तथा खेलाडी छनोटका लागि रणनीति बनाउनेछन् । मुम्बईले आगामी सिजनमा रोहितको नेतृत्वमा पुनः उपाधि जित्ने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक