काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीलाई झोला बोकेर हिँड्ने राजनीतिक संस्कारबाट मुक्त गर्दै ‘स्मार्ट फाइल’ युगमा प्रवेश गराएको घोषणा गरेका छन् ।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी कार्यकर्तालाई ‘झोले’ भन्ने भाष्यबाट बाहिर निकाल्ने प्रयासस्वरूप अबका प्रशिक्षण, अधिवेशन र अन्य कार्यक्रममा झोलाको सट्टा स्मार्ट डायरी तथा फाइल प्रयोग गर्ने नीति रहेको बताए ।
लामिछानेले रास्वपालाई कम्तीमा झोले युगबाट बाहिर निकालेको भन्दै अब ‘घण्टे’ र ‘खराने’ भन्ने आरोपबाट पनि मुक्त गर्ने घोषणा गरे । ‘कम्तीमा हामीले रास्वपालाई झोले युगबाट बाहिर निकालेका छौँ । घण्टे र खराने युगबाट पनि निकालौँला,’ उनले भने ।
लामिछानेले राजनीतिक दलको विचार, सिद्धान्त, नीति, आदर्श र नेतृत्व मन पराएर मानिस राजनीतिमा लाग्ने भए पनि विरोधीहरूले त्यस्ता कार्यकर्तालाई ‘झोले’ भनेर व्यङ्ग्य गर्ने गरेको बताए ।
आफ्नै पार्टीको महाधिवेशनमा सहभागीलाई झोला वितरण गरिएको प्रसंग उल्लेख गर्दै उनले त्यही झोलाले पार्टीलाई झोलेको पहिचान दिएको महसुस भएपछि त्यसको विकल्प खोजिएको तर्क गरे ।
‘हामी झोला बोकेर पछि लाग्ने होइनौँ, सँगसँगै हिँड्ने हौँ,’ उनले भने, ‘झोलाको सट्टा स्मार्ट डायरी सुरु गरौँ । जनताका मुद्दा, गुनासा र हिसाब राख्न मिल्ने गरी फाइलमा प्रवेश गरेका छौं ।’
नयाँ फाइलमा जनताका मुद्दा र गुनासा टिपोट गर्न मिल्ने व्यवस्था गरिएको भन्दै उनले यसलाई पार्टीका अभियान, प्रशिक्षण, अधिवेशन र अन्य कार्यक्रममा प्रयोग गरिने बताए ।
लामिछानेले झोलाको तुलनामा नयाँ फाइल महँगो पर्ने भए पनि पार्टीलाई प्रायोजक र बाह्य सहयोगबाट मुक्त राख्न पार्टीकै हुनेले नहुने साथीका लागि स्मार्ट फाइल किनिदिने अभ्यास अघि बढाइने जानकारी दिए ।
झोलामा प्रायोजक तथा गैरसरकारी संस्थाका लोगो राख्न सकिने भए पनि पार्टीले त्यस्तो सहयोग नलिने उनको भनाइ थियो । ‘कसैको जुठोपुरो खान नपरे हुन्थ्यो भन्ने छ । आफ्नै बलमा राजनीतिक अभ्यास गर्नुपर्छ,’ उनले भने ।
नयाँ फाइलको मूल्य करिब १२ देखि १५ सय रुपैयाँ पर्ने जानकारी आफूले पाएको बताउँदै लामिछानेले आर्थिक अवस्था कमजोर भएका कार्यकर्तालाई पार्टीभित्रैका सक्षम सदस्यले सहयोग गर्नुपर्ने प्रस्ताव गरे ।
उनले आफूले कम्तीमा १० जना आर्थिक अवस्था कमजोर भएका कार्यकर्ताका लागि फाइल खरिद गरिदिने घोषणा गर्दै त्यसका लागि रकम पार्टीका कोषाध्यक्षलाई हस्तान्तरणसमेत गरे ।
लामिछानेले अबदेखि रास्वपाका कार्यक्रममा सहभागीलाई झोलाको सट्टा फाइल प्रयोग गर्न आग्रह गर्दै पार्टीको नयाँ अभ्यासलाई सामूहिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताए ।
सम्बन्धित समाचार
मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामाको घोषणा
जिल्ला समन्वय समिति प्रमुखसहित खोटाङका ८ जनप्रतिनिधि पदमुक्त
बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै
२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री
प्रधानमन्त्रीको भारत भ्रमण : भारतमा राजकीय सम्मान, नेपालमा राष्ट्रप्रमुखकै अपमान
प्रधानमन्त्री बालेन र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता
गृहमन्त्री सुदन गुरुङको विवाह मंसिर १७ गते
राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री बालेनले भने– अध्यादेश जारी गरिदिनुस्






