नेपालगन्ज । बाँकेमा शुक्रवार ४१ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो संगै कोरोना जितेर घर फर्कनेहरुको संख्या बाँकेमा मात्र २५० पुगेको छ ।
उनीहरु सबैलाई कुनै पनि लक्षण नदेखिएकोले आईसोलेशन सेन्टरमा राखिएको थियो । शुक्रबार डिस्चार्ज हुनेहरु सबै बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर १ का वासिन्दा हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार, बाँकेको जानकी गाउँपालिकाको श्री माध्यामिक विद्यालय जोगागाउँमा स्थापना गरिएको आइसोलेसन सेन्टरमा रहेका ४१ जना संक्रमितलाई सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो ।
संक्रमण पुष्टि भएको १६ दिनपछि सरकारको नयाँ मापदण्ड अनुसार निको भएकोले उनीहरुलाई डिस्चार्ज गरिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।
उनले बाँकेमा कोरोना संक्रमण पुष्टि भएका ३ सय २७ मध्ये २ सय ५० जनाले कोरोना जितेर घर फर्किएको बताए । बाँकेका २ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ । बाँकेका विभिन्न आईसोलेशन अस्पताल र आईसोलेशन सेन्टरमा ७५ जना रहेका छन ।
बाँकेका संक्रमितहरु निको भएर फर्किने क्रम बढ्दै गएकोले जिल्लाका आइसोलेसन सेन्टरहरु पनि रित्तीन थालेका छन् भने विभिन्न स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनहरुमा पनि अब २ हजार जना मात्र रहेका छन् ।
यसैविच भारतबाट जमुनाह नाका हुँदै आउनेहरुको संख्या पनि क्रमश कम हुँदै गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए । उनले विहीबार ३ सय ९८ जना मात्र भारतबाट नेपालगञ्ज नाका भएर फर्किएको जानकारी दिए । एक साता अघिसम्म नेपालगञ्ज नाकाबाट फर्किनेहरुको संख्या १ हजार ५ सय देखि दुई हजारसम्म रहने गरेको थियो ।






