विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ डोरिया, बालुवारीमा शनिबार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । सो कार्यालयको रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राई र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति (डीआईजी) सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा स्थापना गरेका हुन् ।
सो कार्यालय स्थापना गर्न रतुवामाई नगरपालिका–२ निवासी सनातन राजवंशीले ८ कठ्ठा ४ धुर जग्गा निःशुल्क रुपमा सशस्त्र प्रहरी बल नेपाललाई उपलब्ध गराएका थिए । सो ठाउँमा अस्थायी संरचना निर्माण गरि बीओपी सञ्चालनमा ल्याइएको हो ।
सो ठाउँमा बीओपी सञ्चालनमा आएपछि बीओपीको दूरी घटेको छ । मोरङमा नेपाल–भारत सीमा ६३.२ किलोमिटर रहेकोमा यसअघि एक बीओपीबाट अर्काे बीओपीको दूरी औसत साढे १० किलोमिटर रहेकोमा सो कार्यालयको स्थापनापछि औसत ९ किलोमिटरमा झरेको छ । अब मोरङमा औसत ९ किलोमिटरको अन्तरमा सात ओटा बीओपी रहने छन् । सरकारले नेपाल–भारत सीमामा साढे तीन किलोमिटरको अन्तरमा बीओपी स्थापना गर्ने लक्ष्य राखेको छ ।
रतुवामाई नगरपालिकाबाट दुई लाख ७० हजार रुपैयाँबराबरको निर्माण सामाग्री, अन्य विभिन्न उद्योग, स्थानीय व्यक्ति र सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा.कंकालिनी मोरङबाट समेत गरी ३ लाख ३० हजार रुपैयाँबराबरको निर्माण सामाग्री र सशस्त्र प्रहरी कर्मचारीहरुबाट एक लाख रुपैयाँ बराबरको श्रमदान गरी सात लाख रुपैयाँमा सो ठाउँमा बीओपीको अस्थायी संरचना निर्माण गरिएको हो । बीओपीको अस्थायी संरचना निर्माण गर्न कसैबाट पनि एक रुपैयाँ पनि नथद संकलन गरिएको छैन ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति थापाले जग्गादाता सनातन राजवंशीलाई दोसल्ला ओढाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै थापाले नागरिक र फौजको सुमधुर सम्बन्धका कारण यस्ता कार्य सम्भव भएको बताए । उनले सहयोगी व्यक्ति, संस्था तथा जग्गादाताको मुक्तकण्ठले प्रशंसा गरे ।
बाहिनीपति थापाले सीमित श्रोत साधानका बाबजुद सशस्त्र प्रहरी बल नेपाल जस्तोसुकै बिषम परिस्थितिमा पनि राज्यले दिएको जिम्मेवारी दृढ निश्चिन्त तरिकाले सम्पन्न गर्न आत्मविश्वासका साथ काम गरिरहेको थापाले बताए ।

रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले अहोरात्र देश र जनताको सेवा तथा सुरक्षाका खातिर खटिने सशस्त्र प्रहरी बलले सीमित स्रोत साधन तथा अपर्याप्त जनशक्तिको बीचमा पनि जनतामा शान्ति सुरक्षा, अमन चयन कायम गर्न तथा सीमा सुरक्षामा अब्बल काम गरिरहेको बताए । नगर प्रमुख राईले सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षा ब्यवस्थापनमा पु¥याएको समन्वयकारी भूमिकाको साथै बीओपी स्थापनार्थ जग्गा प्राप्ति तथा अस्थायी संरचना निर्माण व्यवस्थापनमा पु¥याएको व्यवस्थापकीय कार्य अतुलनिय रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै गणपति कार्कीले मोरङ जिल्लाका नेपाल भारत सीमाका अन्य स्थानमा समेत निकट भविष्यमा बीओपी स्थापना प्रकृयामा रहेको बताए ।
उनले मोरङ जिल्लाको नेपाल भारत सीमा नाकामा बीओपी स्थापनाका लागि रतुवामाई नगरपालिका– ३ मिर्चियाडाँगीमा ८ कठ्ठा जग्गा र रंगेली नगरपालिका– ५ धनपतिमा स्थानियवासीहरुले ६ कठ्ठा जग्गा शान्ति सुरक्षाको खातिर तथा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बलको अनुरोधलाई स्वीकार गरी सशस्त्र प्रहरी बललाई निःशुल्क रुपमा उपलब्ध गराएको जानकारी दिए ।
कार्यालयको स्थापना प्रतिवेदन प्रस्तुत गर्दै सशस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानियाँले संरचना निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरुको प्रशंसा गरे ।






