जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर १ बाइराँका गाउँका स्थानियको दुषित पानी पिउनु पर्ने बाध्यता अझै हट्न सकेको छैन । यहाँका नागरिकले तिला नदीको दुषित पानी पिउनु परेको समाचार पटक पटक सञ्चार माध्यममा प्रशारण तथा प्रकाशन नभएका भने होइन । गाउँपालिकाले चासो नदिँदा बाइराँका गाउँ अहिलेसम्म पनि स्वच्छ खानेपानीको पहुँचमा पुग्न सकेको छैन ।
साल फेरिँदै गए, तर स्थानियलाई पानिका लागि भौतारिनु पर्ने दुःख उस्तै छ । ‘बाइराँका गाउँको खानेपानी समस्या ’bout कोहि पनि अज्ञात छैनन् । सबैले खानेपानीको हाहाकार भएको गाउँ भनेर चिन्दछन् । अहिले तिनै तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु हिजो बाइराँकाबासीलाई खानेपानी दिलाउने सपना बाँड्दै हिडेका थिए । तर अझै तिला नदीको दुषित पानी पिउनु पर्ने बाध्यता हटेको छैन् ।’ स्थानीय हेमन्त शाही शाहीले भने । व्यवस्था फेरिए पनि बाइराँकाबासीको दुषित पानी पिउनु पर्ने बाध्यता नफेरिएको उनले बताए । करिब १ सय ३० घरधुरि भएको बाइराँकामा तीन वटा धारा मात्रै छन्। । धारामा पानी आउन्जेलसम्म पालो पाउनेले भर्छन्, बाँकीले नदीको पानीबाट प्यास मेट्छन् ।
जुम्लाका किसानलाई जेठ र असारको महिना कामको चाप अत्यधिक हुन्छ । कामबाट घर ढिलो फर्केकी स्थानिय कमला शाहिलाई राति पानी लिन नदी पुगेको धेरै अनुभव छ । ‘समय भएको दिन दुषित पानी उमालेर पिउँछौँ, कामबाट अबेर आएको दिन त्यसै पिउनु पर्छ’, उनले सुनाइन् । एकातिर पानीको प्यास मेट्न नदीको विकल्प छैन, भने अर्कोतिर स्थानियलाई कोरोना भाइसरसँगै सरुवा रोगबाट बच्नु पर्ने चुनौति पनि छ । बढ्दो महामारीका बेला रेडियो र टेलिभिजनबाट सरसफाइ बढी गर्नुपर्छ भन्ने सुनेकी स्थानिय बालिका विमला शाहीको घरमा पिउन समेत पानी हुँदैन । सरसफाइ गर्ने मन हुँदा हुँदै पनि पानी अभावले फोहारी हुनुपर्ने बाध्यता उनले सुनाइन् । ‘गाउँ छेवैमा नदी छ, तर नदीमा पिउन योग्य पानी बग्दैन, पिउन बाध्य छौँ । बाहिरबाट हेर्नेले कर्णाली राजमार्गसँग जोडिएको सुगम गाउँ भन्ने सोच्दछन् होला, हाम्रो मर्का के थाहा ?’ स्थानिय बेलमती शाहिले दुख मिश्रित प्रश्न गरिन् । बाइराँका गाउँ इलाका भित्र कतैपनि पानीका मुहान छैनन् । बाइराँकामा वन जंगल बिनाका सुख्खा डाँडापाखा मात्रै छन् ।
स्थानिय सुपुन्ना नेपालीलाई वन विनाशका कारण बाइराँका मरुभुमि बनेको हो कि भन्ने लाग्न थालेको छ । गाउँमा बढ्दो वन विनाशले स्याउला, सोत्तर र दाउराको पनि अनिकाल लाग्ने कुराले उनलाई चिन्तित बनाएको छ । खानेपानी समस्यामा स्थानीय जनप्रतिनिधिले समेत चासो नदेखाएको गुनासो बढेपछि छिमेकी वडाबाट यहि असारमा बाइराँकामा पानी पुर्याउने गरी काम सुरु भएको थियो । बिचमा लकडाउनले काम रोकियो । अबको तीन महिनाभित्र गाउँमा खानेपानी पुग्ने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताएका छन् । ‘बाइराँकाको खानेपानी समस्या उहिल्यै देखिको हो, अबको तीन महिनाभित्र सबैले बाइराँकामा पानी पुगेको देख्ने छन् ।’ अध्यक्ष न्यौपानेले राजधानीसँगको कुराकानीमा भने । गाउँ आसपास कतैपनि मुहान नहुँदा अहिलेसम्म बाइराँकामा खानेपानी पुर्याउन नसकिएको अध्यक्ष न्यौपानेले बताए ।






