दैलेख । क्वारेन्टाइनमा १४ दिन वसेर आरडीटी चेकजाँच रिपोर्ट नेगेटिभ र आत्महत्यापछि कोरोना पोजेटिभ देखिएका दैलेख दुल्लु नगरपालिका १० का एक युवकको शुक्रवार शव नेपाली सेनाद्वारा गाडिएको छ । दैलेख जिल्लास्थित नेपाली सेनाको इन्द्रदल गुल्मको शव व्यवस्थापन टोलीले शव गाडेको हो ।
जिल्लाको दुल्लु नगरपालिका–१० गमौडीका २१ वर्षीय युवकले असार ९ मा घरमै आत्महत्या गरेका थिए । मृत्यु पश्चात पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । दुल्लु नगरपालिका–५ सिद्धस्थलीको जंगलमा शव व्यवस्थापन गरिएको गुल्मका सेनानी गणेशराज पन्तले जानकारी दिए । ‘परिवारको सहमतिमा दुल्लु नगरपालिका र अस्पतालको समन्वयमा शव व्यवस्थापन गरिएको हो । ‘व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई शव व्यवस्थापन गरिएको हो’, सेनानी पन्तले भने ।’
कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएमा दाहसंस्कार एवं अन्त्येष्टि गर्न नेपाली सेनाले शव व्यवस्थापन टोली तयारी अवस्थामा राखिएको सेनानी गणेशराज पन्तले बताए । ती युवक जेठ ११ मा कोरोना संक्रमणबाट बच्न भारतको अहमदवाजबाट गाउँमा आएका थिए । १४ दिन पञ्चकोशी मावि गमौडीमा स्थित क्वारेन्टाइनमा बसेका युवकको आरडीटी विधिबाट गरिएको परिक्षणमा नेगेटिभ आएपछि जेठ २५ गते घर पठाइएको थियो । क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि घरमा झुण्डिएको अवस्थामा युवकको शव भेटिएको थियो ।
आत्महत्यापछि ती युवकको कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पतालस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पठाइएको दुल्लु अस्पताल जनाएको छ । प्रगोशालामा गरिएको परिक्षणमा युवकमा कोरोना पोजिटिभ देखिएको थियो । भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टाइनमा १४ दिन राखी पीसीआर नेगेटिभ आएपछि घरमा पठाउनु पर्ने बताए पनि । यहाँका ११ वटै स्थानीय सरकारले आरडीटी परिक्षण गरेर नेगेटिभ आएकालाई घरमा पठाएकाले स्थानीय सरकारले नै कोरोना रोगलाई क्वारेन्टाइनबाट समुदायमा पठाएको स्थानीयबासी बताउँछन् । सर्वोच्च अदालतले पीसीआर नेगेटिभ देखिएकालाई मात्र गाउँ पठाउने भने पनि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्र अनुसार पोजेटिभलाई समेत स्थानीय सरकारले गाउँ पठाउँदा गाउँ जोखिमको मारमा पर्ने स्थानीयबासी चिन्तित छन् ।