एसियाली देशमा खाद्यान्न भनेको धान-चामल भन्ने बुझिन्छ । खाद्यान्न बालीमध्ये उत्पादनको हिसाबले धानबाली प्रथम स्थानमा आउँछ । विश्वका आधाभन्दा बढी जनसंख्याको प्रमुख आधार नै चामल हो । अझ धानले एसियालीलाई एकैसाथ ल्याउन सेतुको काम पनि गरिरहेको छ । किनकि ९० प्रतिशतभन्दा बढी धानको उत्पादनको साथै खपत एसियाली देशभित्रै हुन्छ । धानलाई ‘सुनको दाना’ पनि भन्ने गरिन्छ । धानबालीले करिब १ अर्ब मानिसलाई रोजगारी दिँदै आएको छ । विश्वभर कृषिमा हरित क्रान्ति नआएको भए हाल उत्पादित चामलको परिमाण करिब ५ सय ९ मिलियन टन प्राप्त गर्न धानखेती गर्ने जमिन नै दोब्बर गर्नुपर्ने हुन्थ्यो, जुन कुरा सम्भव नै छैन र वनजंगल पनि हालभन्दा आधा क्षेत्रफलमा मात्र सीमित रहने थियो । धानले विश्वमा शान्ति ल्याउँछ । किनकि एसियामा भोकमरी ठूलो कथाको रूपमा रहेकाले संसारभर धानको महŒव झल्काउँछ ।
संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई भोकमरीविरुद्ध नारासहित ‘वर्षको बाली’, पुनः भोकमरीकोे समस्या देखापरेकाले सन् २००४ लाई ‘धान नै जीवन हो’ भन्ने नारासहित ‘अन्तर्राष्ट्रिय धान वर्ष’ भनी नेपाललगायत ४३ देशको अनुरोधमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको थियो । यस स्तम्भकारको विशेष प्रयासमा सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाउन २०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरेको थियो । सोहीअनुसार २०७७ साल असार १५ गते सोमबार, १७औं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सव, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत रहेको बाली विज्ञान महाशाखा, खुमलटार, ललितपुरमा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृृद्धि’ भन्ने नारासहित मनाउने निर्णय भएको छ । कोभिड–१९ रोगसम्बन्धी नेपाल सरकारले निर्देशन गरेअनुसार सतर्कता अपनाई देशभर १७औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउनुहुन हार्दिक अनुरोध गरिन्छ । संयुक्त राष्ट्रसंघको घोषणापश्चात् संसारमा प्रत्येक वर्ष निरन्तर रूपमा राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो ।
राष्ट्रसंघको घोषणापश्चात् संसारमा प्रत्येक वर्ष राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो
मौसमसम्बन्धी विज्ञको दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप) र नेपालको जल तथा मौसम पूर्वानुमान शाखाले नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालमा यस वर्ष औसत अर्थात् १ हजार ७ सय ५० मिलिमिटर वर्षा रहने ठहर गरेको छ । कुल धानबाली क्षेत्रफलको करिब ९७ प्रतिशत उन्नत जातले ढाकेको पाइएको छ । नेपालमा चैते, भदैया, बर्से, हिउँदे (बोरोे) गरी वर्षैभरि तराईमा धानखेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ । नेपालको आर्थिक वृद्धि दर नै धानको उत्पादनमा भरपरेको हुन्छ ।
आर्थिक वर्ष २०७६÷७७ बमोजिम नेपालमा १४ लाख ५९ हजार हेक्टरमा धान खेती भई ५५ लाख ५० हजार मेट्रिक टन उत्पादन भएको थियो र उक्त उत्पादन भने ३ हजार ८ सय ४ किलोग्राम प्रतिहेक्टर रहेको थियो । आर्थिक बर्ष २०७६÷७७ को विगत १० महिनामा १८ अर्ब रुपैयाँ बराबरको चामल आयात भइसकेको छ । आर्थिक वर्ष २०७५÷७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार मेट्रिक टन रेकर्ड उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ७ सय ६० किलोग्राम प्रतिहेक्टर थियो । आर्थिक वर्ष २०७५÷७६ मा रेकर्ड धान उत्पादन भएको वर्ष पनि आवश्यकताभन्दा करिब १० लाख टन धानको कमी भएको पाइयो । बिदेसिएका लाखौं युवा नेपाल फर्किएका छन् र अब उनीहरूलाई पनि खुवाउन प¥यो । श्रमशक्ति थपिएकाले बाँझो जमिनमा कमी आउन सक्छ । आर्थिक वर्ष २०७५÷७६ को विगत १० महिनामा २७ अर्ब ९० करोड रुपैयाँ बराबरको चामल आयात भइसकेको थियो ।
सफल खेतीका लागि वैज्ञानिक तरिकाले धानको बीउ छनोट गर्न सक्नुपर्छ । धानको नर्सरी, ब्याड बनाउन लटरपटर मात्र नगरी हामीले छोराछोरी हुर्काएजस्तै व्यवस्थापन गर्नुपर्दछ । जापानमा कुल उत्पादनको ५० प्रतिशत उत्पादन त कसरी बेर्ना हुर्काइन्छ, त्यसमा नै भरपर्दछ भन्ने गरिन्छ । नेपालमा पनि बीउ गुना फल भन्छौं अर्थात् हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात । उदाहरणका लागि गह्रौं एवं स्वस्थ बेर्ना जब हुर्कन्छ, तब बलियो र दरिलो पनि बन्छ । असल बीउमा जातीय शुद्धता, धेरै उमारशक्ति, आकारमा एकरूपता, मिसावट नभएको, बीउजन्य रोगबाट मुक्त भएको हुनुपर्दछ । बीउको गुण एवं उमारशक्तिबीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । धानमा मूलगाँजबाट अन्य दोस्रो र तेस्रो पक्तिका गाँजको तुलनामा बीउको सबैभन्दा बढी संख्या एवं वजनदार बीउ उत्पादन हुन्छन् । बालाको मध्य एवं तल्ला भागको तुलनामा टुप्पातर्फका बीउ वजनदार हुन्छन् र यस प्रकारको बीउ चाँडै उम्रेर स्वस्थ बेर्ना पनि निक्लन्छन् । साधारणतया ठूलाठूला बीउबाट एक÷दुई दिन अगाडि नै बेर्ना निक्लन्छन् । ससाना एवं कम वजनदार बीउको तुलनामा ठूलाठूला एवं वजनदार बीउबाट बलिया र स्वस्थ बेर्ना निक्लन्छन् ।
वैज्ञानिक तरिकाले धानको बीउ छान्न साधारण पानीमा धानको बीउ राख्दा पानीको सतहमा छोएको हुनुपर्दछ । एक लिटर पानीमा २ सय ग्राम खाने नुनको घोल बनाएर छान्दा एक मिनेटभित्रै राम्राराम्रा, पोटिला, हृष्टपुष्ट, मरुवा (ब्लास्ट)जस्ता बीउबाटै सर्ने रोग, कीराले कम आक्रमण गरेका गह्रौं बीउ भाँडोको तल, पीँधमा जान्छ र नराम्रो बीउ घोलको मध्यभागमा र माथि नै तैरिन्छन् । यसरी तैरिएको बीउलाई हटाएर तल, पिँधमा गएको बीउलाई तुरुन्तै दुई-तीनपटक साधारण पानीले धोइपखाली गरिदिनुपर्दछ । घण्टौंसम्म घोलमा बीउ राखिरहनुहुँदैन र भोलिपल्टका लागि बासी घोल पनि प्रयोग नगर्न सल्लाह दिइन्छ । यदि पाँच लिटरको घोल बनाउने हो भने १ किलोग्राम वा एक प्याकेट नुन मिसाउनुपर्दछ र यही घोलमा ५-६ पटक बीउ छान्न सकिन्छ ।
यसरी बीउ छान्दा मरुवा (ब्लास्ट)जस्तो धानको बीउजन्य विनाशकारी रोगलाई कमी गर्न पनि सहयोग पुग्दछ । धानका मुख्य रोगमा मरुवा, पात डढुवा, पाते फेद, डाँठ कुहिने, खैरो थोप्लेजस्ता पर्दछन् र ढुसी एवं कीटाणुनाशक विषादीद्वारा व्यवस्थापन गर्नु जरुरी छ । जापानमा शतप्रतिशत किसानले नै यसरी बीउ छान्ने गर्दछन् र ब्याडको माटोसमेत सहकारीबाट खरिद गर्ने गर्दछन् । नेपाली किसानले रासायनिक मल त किन्न सक्तैनन्, झन् माटो पनि किनभन्दा त उल्टै असर पर्न सक्दछ । तर, नेपाली किसानले कम्पोस्ट वा प्रांगारिक मल ब्याडमा प्रयोग गर्न सक्दछन् ।
नेपालमा चाहिँ हुने बिरुवाको चिल्लो पात भनेझैं, स्वस्थ बीउ आफंैमा आधा उत्पादन गरेजत्तिकै भरपर्दो हुन्छ भनी सोच बनाउनुपर्छ । माथि उल्लेख भएअनुसार वैज्ञानिक ढंगले धानको बीउ छानेर ब्याड राखे मरुवाजस्तो रोग नलागी, १० देखि १५ प्रतिशत धानको उत्पादन बढाउन सकिने ग्यारेन्टी गर्न सकिन्छ । यसको व्यावहारिक प्रयोग धनुषा जिल्लास्थित तत्कालीन हर्दिनाथ कृषि फार्मको ६ सय रोपनी जमिनमा यस प्रकारले बीउ छानी बेर्ना हुर्काइ खेती गर्दा उत्पादन बढाउन सकिने कुरा प्रमाणित गरिसकिएको छ । संसारको जुनसुकै देशमा पनि यस प्रकारको वैज्ञानिक तौरतरिकाले धानको बीउ छानी उत्पादन वृद्धि गर्न सकिन्छ ।
(लेखक धान बाली विज्ञ हुन् ।)






