वीरगन्ज । एक तोला सुन सहितको ‘स्वर्ण पदक’ यो बर्ष झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ । वीरगन्जका अग्रज पत्रकार स्व.गोपालचन्द्र गौतमको स्मृतिमा स्थापना भएको स्वर्ण पदक यो बर्ष झापाका अग्रज पत्रकार आचार्यलाई प्रदान गरिएको हो ।
गोतामे पत्रकारिता पुरस्कार प्रतिष्ठान पर्साले विगत नौ बर्षदेखि यो पुरस्कार बर्षमा एकपटक वितरण गर्दै आएको छ । पत्रकार आचार्यलाई शुक्रबार वीरगन्जमा एक कार्यक्रमका बीच प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहमद लालबाबु राउत गद्दीले स्वर्ण पदक र सम्मान पत्र प्रदान गरे । सो अवसरमा उनले समाज रुपान्तरणमा पञ्चायत कालमा पनि स्व. गोपालचन्द्र गौतमले चलाएको कलम निकै सशक्त भएकोले त्यो बाटोमा पत्रकारहरुले अनवरत कलम चलाउँदा समाज रुपान्तरण भएको बताए ।
समाजमा महिला, विपन्न, मुस्लिम र गरीबहरुलाई राज्यको मूलधारमा ल्याउन पत्रकारहरुको भूमिका झन बढेको मुख्य मन्त्री गद्दीको भनाइ छ ।
स्वर्ण पदक सहित सम्मानित हुने आचार्य २१ बर्ष पहिलेदेखि झापाबाट प्रकाशित जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक हुन् । आचार विचार मुक्तक संग्रह, केशव आचार्यका कविताहरु, पागल सांगितिक गजल एल्बम, पागल गजल संग्रह गरी आचार्यका चारवटा साहित्यिक कृतिहरु पनि प्रकाशित भइसकेका छन् ।