दैलेख । दैलेखमा खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयका निमित्त कार्यालय प्रमुख सहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले घुस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्ल, सव–इन्जिनियर विरेन्द्र चन्द, सव–इन्जजिनियर रन्जित श्रेष्ठ र सुपरभाईजर लक्ष्मी पाण्डे रहेका छन् । उनीहरुलाई मंगलबार घुस सहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले घुससहितनियन्त्रणमा लिएको हो । दैलेखको भगवतीमाई गाउँपालिका–३ मा सञ्चालित सानटडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागे गरेको जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल र सब–इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टोलीले निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्ललाई कार्यालय परिसरबाट र सव–इन्जिनियर विरेन्द्र चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।
नियन्त्रणमा लिए पश्चात खानतलासी गर्दा निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ । आयोगले निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव–इन्जिनियर विरेन्द्र चन्द, सव–इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको छ ।






