दैलेख । कर्णाली प्रदेशको कोरोनाको हटस्पट बनेको दैलेखमा ६ सय ५० जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना पोजेटिभ पुष्टि भएका ७ सय ८० जना मध्ये ६ सय ५० जना घर फर्किेएका हुन् ।
कोरोना संक्रमित भरिभराउ भएका आईसोलेशन कक्ष संक्रमित सञ्चो भएर घर फर्किएपछि रित्तिएका छन् । पछिल्लो समय कोरोना जितेर घर फर्किनेको संख्यामा बृद्धि हुन थालेपछि जिल्ला सदरमुकाममा पसल फाटफुट खुल्न थालेका छन् । कोरोनाको डर त्रासले आक्रान्त बनेका सदरमुकामबासी अब बाँचिन्छकी भन्ने आशा पलाएको व्यापारी मयाराम पाण्डेले बताए ।
‘शुरु शुरुमा एकैदिन १८६ जनाको रिपोट आउँदा बाँचिदैनकी भन्ने डरत्रास लागेको थियो । संक्रमितहरु सञ्चो भएर धमाधम घर फर्किन थालेपछि यो रोग सामान्य जस्तै लाग्न थालेको मनोबल बढेको छ’ उनले भने ।
दैलेख प्रयोगशालाबाट कोरोना परिक्षण शुरु
शुक्रवार देखी दैलेख जिल्लाबाट कोरोना परिक्षण शुरु गरिएको छ । ११४ जना परिक्षण गरिएको शुक्रवार ९ जना कोराना संक्रमित पुष्टि भएको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले शुक्रबार जारी गरेको कोभिड– १९ प्रतिवेदन अनुसार प्रयोगशालामा १ सय १४ जनाको परीक्षण गरिएमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको र ९५ जनाको रिपोर्ट नेगेटिभ आएकोमा १० जनाको स्वाब पुन परीक्षण गर्दा पनि पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । दैलेखमा कोरोनाका बिरामी दिन दिनै बढ्दै गएपछि निर्वाचन क्षेत्र नं. –१ का संघीय सांसद रवीन्द्रराज शर्माको पहलमा दैलेखमा पिसिआर मेसिन ल्याइएको थियो । पीसीआर मेसिनबाट जिल्लामा कोरोना परीक्षण हुँदै आएको छ ।
दैलेख प्रयोगशालाबाट कोरोना पोजेटिभ आएका मध्ये १ जना महिला,८ जना पुरुष रहेका छन् । कोरोना पोजेटिभ देखिएका मध्ये नारायण नगरपालिकाका जनप्रतिनिधी समेत रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । शुक्रवार दैलेख प्रयोग शालाबाट कोरोना पोजेटि देखिएका नारायण नगरपालिका १ मा ५ जना पुरुष,१ जना महिला वडानं २ मा १ जना पुरुष,वडानं १० मा एकजना पुरुष रहेका छन भने डुगेश्वर गाउँपालिका २ मा एकजना पुरुष रहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए । कोरोना पुष्टि भएका अधिकाँशलाई आईसोलेशनमा ल्याएर उपचार भएपनि केही व्याक्ति भने होमक्वारेन्टाईनमा बसिरहेका छन,उनले भने ।






