रुकुममा महिला कुट्ने सुरक्षाकर्मीमाथि कारवाही सुरु

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा एक महिला नगर प्रहरी र नेपाल प्रहरीबाट कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । निर्घात रुपमा कुटिएकी ती महिला आठविसकोट निवासी नेहा विष्ट हुन् । उनलाई सुरक्षाकर्मीहरुले अमानवीय ढङ्गले कुटेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ ।

जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको खुलासा भएको छ । स्रोतका अनुसार विष्ट जिल्ला बाहिरबाट नगरमा पुगेकी थिइन् । उनको ज्वरो नाप्ने क्रममा मदिरा सेवन गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि महिला उच्छृङ्खल रुपमा प्रस्तुत भएपछि नगर महिला प्रहरीको सहयोग लिएको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । उक्त घटना सँग सम्बन्धित भिडियो मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ । डिएसपी केसीका अनुसार महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।

आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ । भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।

नगर प्रहरी निर्मला विकले ती महिलालाई शरीरका कपडा च्यातिने गरी कुटपिट गरेकी छन् । ती महिलालाई कुटपिट गर्दा चार पाँच जना प्रहरी रमिते बनेका छन् । नेपाल प्रहरीका केही जवानले कतिबेला उक्त महिलालाई समाउँछन् र नगरप्रहरी निर्मलाले कुटेकी छन् । यो घटना गोप्य राखिएको भएपनि भिडियो सार्वजनिक भएपछि सर्वत्र चासो बढेको छ । त्यहाँ उपस्थित अन्य महिलाहरुमाथि समेत हातपात भएको भिडियोमा देख्न सकिन्छ । त्यहाँ उपस्थित प्रहरीहरु अवस्था नियन्त्रण गर्न असफल भएको पनि भिडियोमा प्रस्ट देख्न सकिन्छ । बिच बिचमा प्रहरीका जवानले महिलालाई कुटपिट गरेपनि सबैभन्दा बढी कुटपिटमा नगरप्रहरी निर्मला अग्रसर देखिन्छन् । कुटपिटबाट ती महिलाको शरीर रगताम्य भएको छ । उनको शरिरमा पानी खन्याएको छ । अवस्था हेर्दा महिलाले मदिरा सेवन गरेको जस्तो देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली