जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको स्थानीयले बताएका छन् । त्यहाँको पेरे र तल्फि गाउँको विचमा रहेको मकै वारीमा सलह किरा भेटिएको गाउँपालिकाको कृषि शाखा संयोजक रुपक बुढाले जानकारी दिएका छन् ।
उनका अनुसार किसानले खबर गरेपछि फिल्डमा अध्ययन गरेर फर्किएको उनले जानकारी दिएका छन् । सुरुसुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय बताउछन् । आलु र मकै बारीमा प्रवेश गरेर ठूलो नोक्सान गरेको किसानको गुनासो छ । ‘सलह भगाउनको लागि विभिन्न बाजा बजाउने, मान्छे कराउने गरेका छौ, तर भागेका छैनन्,’ स्थानीय गोर बहादुर रावतले भने ।
यता पातारासी गाउँपालिकामा सलह किराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । अव सलह भगाउन के गर्नुपर्ला भन्ने बिषयमा आकस्मिक वैठकको तयारी भईरहेको प्रमुख बहादुर बुढ्थापाले जानकारी दिएका छन् । ‘सलह बाट किसानको बाली जोगाउन हामि के गर्ने भनेर सोच्दै छौँ’ प्रमुख बुढाले भने । किसानले ठूलो आवाज निकाल्ने, धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । जुम्लाको अन्न भण्डार भनेर चिनिने पातारासिमा सलह प्रवेश गरेपछि किसान त्रसित भएका छन् ।