ढुंगेयुगको हतियार फेला परेको स्थान, प्राग्ऐतिहासिक र पौराणिक कालमा भगवती पार्वतीले ६४ लिंग यात्रा गर्दा प्रयोग भएको गौसिंग तीर्थ भएको, एक सिंग भएका श्रृंग ऋषिले तपस्या गरेको स्थान, ऐतिहासिक, पर्यटकीय तथा धार्मिक मात्र नभई प्राकृतिक सौन्दर्यले आकर्षक बस्ती लुभु हो । संवत् ८० को लिच्छविकालीन नरेन्द्रदेवको अभिलेखअनुसार हंसगृह (व्यापारिक केन्द्र)को रूपमा रहेको यस बस्तीको प्राचीन नाम ‘लुम्हु’ हो । जसको संस्कृतमा सुवर्ण छत्र रहेको छ । यही ‘लुम्हु’लाई ‘लुम्भु’ भन्दै शब्द क्षयीकरणको कारणले हाल ‘लुभु’ भनिएको यस स्थानमा हालसम्म प्राप्त भएको पुरानो यक्ष मल्लको नेसं ९६७ को शिलालेखअनुसार अहोरात्र यज्ञ गरी सुवर्णको ध्वजा र छत्र चढाई नारायणको मूर्ति राखी मन्दिर निर्माण गरिएको उल्लेख गरिएको छ । त्यसपछि अन्य थुप्रैले समय समयमा पूजा गरी सुवर्ण छत्र चढाई विभिन्न मूर्तिहरू र मन्दिर बनाएको अभिलेख पाइन्छन् । साथै, ती शिलापत्र र अन्य ताम्रपत्रहरूमा ‘लुम्हु’ देश भनी उल्लेख गरिएको छ ।
महालक्ष्मी मन्दिरमा रहेको नेसं ७७४ को पछिल्लो ताम्रपत्रमा पनि ‘लुम्हु’ देश उल्लेख गरिएको र छत्र चढाइएको विवरण रहेका छन् । गोपालराज वंशावली नेसं ४१७ को घटनाको विवरणमा पनि ‘लुम्हु’ उल्लेख गरिएको छ । देवमाला वंशावलीअनुसार नेसं ७०७ को पशुपतिनाथमा चढाइएको भनिएको ताम्रपत्रमा हरिहरसिंह मल्लले सन्तानको रक्षाहवस भनेर महालक्ष्मीको पिथः स्थापना गरी लुभुग्राम स्थापना गरी श्री महालक्ष्मी र श्री महाभैरवको जात्रा चलाएको कुरा उल्लेख गरिएको छ । यस्तै बेहोरा राजभोगमाला वंशावली, भाषा वंशावलीमा पनि उल्लेख गरिएको छ । भक्तपुरका वस्ताद गणेशबहादुर, इतिहासविद् छत्रबहादुर कायस्थ, काशीनाथ तमोत, हरिराम जोशी, नयनाथ पौडेल आदिले पनि लुभुको ’boutमा आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । यति मात्र नभई विदेशी विद्वान् वल्फ कर्ण, फ्युरर, डा. कार्ल प्रुस्च आदिले पनि नेपालको वर्णन गर्ने क्रममा लुभुको ’boutमा उल्लेख गरिएको छ । लुभुमा रहेको श्री महालक्ष्मी मन्दिरकै नामबाट महालक्ष्मी नगरपालिका गठन गरिएको छ ।
सम्भव भए व्यवस्थित बस्तीलाई अद्यावधिक गरौं, नभए बाँकी रहेका संरचनालाई सुरक्षित राखौं
यस्तो अत्यन्तै महŒव भएको यस लुभु बस्ती कुनै पनि प्रकृतिजन्य विपद् व्यवस्थपनबाट मुक्त हुने गरी बस्ती बसाएको हामी पाउँछौं । पशुपतिको देवपतनमा नौ पिथ, नौ इनार र नौ पोखरी भएजस्तै यस क्षेत्रमा पनि नौवटा पोखरी रहेका थिए । यस अतिरिक्त चौर पाटी पनि यथायोग्य स्थानमा बनाइएको देखिन्छ । साथै, यहाँ बनेका सबै प्रकारका पुराना घरहरू भूकम्प प्रतिरोधात्मक क्षमतायुक्त बनाइएको पाइएको छ । बीचमा चोक राखेर चारैतिर घरले घेरा हालेर बनाइएका स्थानहरूमा देवननी, चिभाननी, तखाछें आदि हुन् भने न्हक्षफल, दबुछें, नासल, पाहुल, धसी, धोकासी, गछें आदि टोलमा बनेका पुराना घरमा वास्तुशैली, बनोटको आधारमा भन्ने हो भने १९९० सालमा गएको महाभूकम्पले पनि त्यति धेरै क्षति नपुगेको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । यद्यपि, २०७२ को विनाशकारी भूकम्पले ती घरहरू जीर्ण र मर्मत नभएको कारणले भत्किन पुगेका छन् ।
ती नौ पोखरीमा १. देवीस्थान मन्दिरको दायाँपट्टि देख्यः (हाल चौरमा परिणत) २. दाफा पोखरी अद्यावधिक कायमै ३. बगैंचा पोखरी अद्यावधिक कायमै ४. च्वयध्वाखा (हाल मासेर बसपार्क बनाइएको) ५. न्याठ पोखरी (मर्मतका अभावमा जीर्ण ६. पिलाँख्य (हाल मासिएर खेत र घर बनी बाटो मात्र बाँकी) ७. इनबहाल (मर्मतसम्भार गरी अद्यावधिक गरिएको) ८. तललाछि (हाल गीता मन्दिर बनाइएको) ८. माथि लाछि क्वाथः (कोट घरलाई घेरिएको पोखरी हाल उत्तर–पश्चिमपट्टि केही भाग मात्र बाँकी रहेको) छ । यी पोखरी बसालिएको बस्तीको दृष्टिकोणले वैज्ञानिक रूपमा बनाइएको आभास हुन्छ । यी पोखरी खानेपानीका लागि बनाइएको ढुंगेधाराको अटुट स्रोतको रूपमा, सबै खेतमा सिँचाइ गर्न पानीसम्बन्धी अन्य व्यवसाय जस्तै ः नाला, केटकी आदिको डोरी वा सुकुल बुन्न प्रयोग गरिने कच्चा पदार्थ भिजाउन र हिलोमा डुबाउनका साथै त्यसबेला पिउनबाहेक घरायसी प्रयोजनका लागि लुगा धुने आदि प्रयोजन र सबैभन्दा मूल कुरा आगलागीजस्ता प्राकृतिक प्रकोपको सामना गर्न यस पानीको प्रयोग गर्न सक्ने गरी बनाइएको थियो ।
ती पोखरीमा पानीको मात्रा कायम गर्न राजकुलो (देःधः)को व्यवस्था गरी सहायक राजकुलो (जँ धः, छ्यंमदु धः, गसी धः, अफ धः, झुट्टी धः, डंसी धः आदि)को पनि व्यवस्था गरिएको थियो । केही गरी विपद्का घटना भइहाल्यो भने तुरुन्तै खुला स्थानमा जम्मा हुन सक्नेगरी स्थान कायम गरेका थिए । भूकम्प वा कुनै अन्य घटना भइसकेपछि पनि आश्रित हुन घर भत्केमा वा बस्न अयोग्य भएमा बस्नका लागि पाटी र चौरको व्यवस्था गरिएको थियो । हाल धेरै पोखरी मासिएको हुनाले यसवाट आश्रित हुने धाराहरू सुकिसकेको, व्यावसायिक प्रयोग गर्न नपाएको, धेरैपटक विपद्का घटना हुँदा प्रयोग गर्न नसकेको अवस्था छ । पोखरी मासिएर खेल मैदान, मन्दिर, बसपार्क विहार बनेर विकास त भएको देखियो ।
त्यस्तै, बेखाः वपि, गः वपि, न्याथ वपि, डंसि वपि, ठूला इनार (छगो टुँ), बाकुननी इनार, चिभाननी इनार, नासल इनारमा पानी सुकेको अवस्था छ भने माथि ध्वाखाको इनार पुरिएको छ । यदि ती पोखरी सही अवस्थामा राखिराख्न सकेको भए यस्तो समस्या आउने थिएन । हामीले गर्व गर्ने अवसरबाट पनि वञ्चित हुने अवसर गुम्न सक्ने थिएन । पोखरीमा रिचार्ज गर्ने राजकुलोमा हामी घरघरबाट ढलको निकास जोड्यौं । यसबाहेक डँसीको पोखरी, न्याथःको जधुँको अर्को पोखरी, गोदावरी खोला वखुः सँगैको पिथ पछाडिको पोखरी, माथि सिफलको दीपसँगैको पोखरी आदिबाट समेत आफ्नो अस्तित्व कायम गराउन हामीले सकेका छैनौं । यसको बदला उल्टो त्यस स्थानमा आँखा गाडेर कुनै पनि भौतिक संरचना निर्माण गर्ने सोचाइमा हामीमा रहेका छौं ।
मूल रूपमा लुभु बस्ती कोर एरिया दथुत्वा, कोथुत्वा र थथुत्वामा सुरुमा बस्ती बसालेको भए पनि पछि बस्ती विस्तार भएको समयमा पनि व्यवस्थित होस् भनेर पोखरीलगायत अन्य संरचना जस्तै ः चौर (खुल्ला स्थानको रूपमा) र पाटी (बटुवाका लागि र विपद् पर्दा सुरक्षित बसोबास गर्नका लागि) बनाइएको थियो । वःखु, मचागाल, तल ध्वाखाको पिलाख्यः, इनबहाल, तल लाछि, माथि लाछि, माथि धसीको पिगन, माथि ध्वाखा, सत्तल, पिचागाल, देवीस्थान, मूलबाटो, सिफलको बाटोको दीपः, नासल, पाहुर, न्याथः आदि स्थानमा पोखरीसँगै ठूलाठूला पाटी अनि खुला स्थान यति व्यवस्थित र उपयुक्त हुने गरी बनाएको थियो कि ती क्षेत्रबाट व्यक्तिले चारै मौसममा सरल रूपमा जीवनयापन गर्न सक्ने अवस्था थियो । जात्रा, चाडपर्व, नाटक, भजनकीर्तन आदिजस्ता सांस्कृतिक कार्यका लागि समेत ती संरचना उपयोग हुने गरेको पनि थियो । यस्ता उपयोगी संरचनाको महŒव बिर्सेर हामीले पोखरी जसरी मास्यौं । त्यसरी नै तल ती संरचना अद्यावधिक नगरी मासिनमा सहयोग पु-यायौं । माथि लाछिको क्वाथःको पोखरी र चौर (जहाँ ३६५ वटा झ्याल भएको गंगा महारानीको दरबारका अवशेषको रूपमा खाली चौर बनेको) दुई तिहाइ मासिएर खेल मैदान र भाषण मञ्च र स्वास्थ्य चौकी र वडा कार्यालय बनायौं ।
माथि धसीको पिगनमा चौरको नामोनिसान छैन, माथि ध्वाखाको पाटीको नामो निसान छैन, त्यसनजिक रहेको खुला चौरलाई हामीले महालक्ष्मी हाइस्कुल, देवीस्थानमा महालक्ष्मी क्याम्पस, न्याठको खुला चौरमा लुभु हाइस्कुल बनायौं । यसरी विपद् व्यवस्थापनको दृष्टिकोणले उपयुक्त संरचना हामीले अझै ध्वस्त पार्ने प्रक्रियामा छौं । सम्भव भए व्यवस्थित बस्तीलाई अद्यावधिक कायम राखौं, नभए बाँकी रहेका संरचनालाई सुरक्षित गरौं । यसो हुन सक्यौं भने हाम्रा पुर्खाले हामीलाई सुम्पिएको ऐतिहासिक धरोहर सम्पदा हाम्रा सन्ततिलाई सुरक्षित हुनेगरी हस्तान्तरण गर्नमा सकिन्छ । सबै मिलेर प्राकृतिक र मानवीय विपद्को जोखिम न्यूनीकरण गरौं ।






