सूचना प्रविधिको प्रभावकारी परिचालन

सूचना शक्तिको स्रोत हो । सूचनामा पहुँच अभिवृद्धिबाट नागरिकलाई सबल बनाउन सकिन्छ । सूचनाको स्रोतको विश्वसनीयता, सूचना प्रवाह गर्ने माध्यम एवं ग्रहणशीलतासमेतका आधारमा सूचनाले बिशेष महत्व राख्दछ । प्रविधिको प्रयोगबाट सूचनालाई उन्नत, वैज्ञानिक, परिष्कृत बनाउन मद्दत पुग्दछ । कुनै पनि कार्यशैलीलाई सरल बनाई अपेक्षित उपलब्धिलाई सहजताका साथ प्राप्त गर्नमा प्रविधिले सघाउँछ । सूचना प्रविधिको परीक्षण, प्रयोग र विस्तारका माध्यमबाट सरल, सहज एवं मितव्ययी ढंगले कार्यसम्पादनमा सघाउँछ । सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सूचना प्रविधि अवलम्बन गर्ने सवालमा सुरुवाती दिनमा कम्प्युटरको उपलब्धताले टाइपराइटरलाई सम्म विस्थापन ग-यो । सामान्य चिठीपत्र तयार गर्ने काममा सम्म कम्प्युटर प्रयोग भए । विभिन्न सफ्टवेयर निर्माण र प्रयोग भए पनि कानुनी रूपमा तिनका अस्तित्वमा प्रश्नहरू उठे । समयानुकूल प्रविधिमा भएको विस्तार र सूचनामा भएको पहँुच अभिवृद्धिले समाज विकासमा सकारात्मक आयाम थप्दै आएको पाइन्छ ।

पुरातन मान्यता एवं प्रविधि अनुशरण गरी कार्य सञ्चालन गर्नेहरूसमेत आफूलाई नवीन सूचना प्रविधिको प्रयोगकर्ता भन्न रुचाउँछन् । सूचना प्रविधिको प्रयोगलाई जीवन्त बनाउन आवश्यक छ । नवीन प्रविधिको प्रयोगका सकारात्मक पक्षको अनुशरण एवं लिनुपर्ने सावधानी मनन गर्दै कार्य सम्पादन गरेमा उत्पादकत्व वृद्धिमा सघाउँछ । लामो समयदेखि अभ्यस्त कार्यशैली विस्थापन गर्न पर्याप्त पूर्वाधार एवं जनशक्ति तयार हुनु जरुरी हुन्छ । वैज्ञानिक आविष्कारका देन सूचना प्रविधिको विकास गहन कार्य हो । मध्यमस्तरीय जनशक्तिले त्यस्ता प्रविधि सञ्चालनमा दक्षता राख्नुलाई समेत उपलब्धिमूलक मान्नुपर्ने हुन्छ । सूचना प्रविधिको प्रयोगमा मूलतः गोपनीयता, डाटाको सुरक्षा, विश्वसनीयता, ह्याकबाट दुरुस्त डकुमेन्ट बन्न सक्ने खतरातर्फको सजगता, काम कारबाहीमा पारदर्शिता जरुरी छ । आवश्यक पूर्वाधारका साथै पर्याप्त विद्युत् प्रवाह गर्नु र मर्मतका लागि जनशक्तिको व्यवस्थापन गरिनु जरुरी छ । सूचना प्रविधिमा आधारित भई कार्यसम्पादन गर्न सरकारी निकायहरूले पूर्वाधार विकास गरेको पाइन्छ । प्रविधिको प्रयोगमा पर्याप्त ध्यान नपु¥याइँदा यदाकदा सिस्टम ह्याक हुने र सोबाट सेवाग्राहीलाई हवाई जहाजको टिकट रद्द गर्नुपर्ने, होटलको बास गर्नुपर्नेलगगायत विविध समस्या देखिन्छन् । विकसित मुलुकमा समेत प्रविधिमा आधारित सेवा, ह्याक भएको सुनिन्छ । जतिसुकै उन्नत प्रविधि भए पनि पूर्णतः ह्याकबाट बच्न कठिन हुने भन्ने भनाइ बाहिर आएको समेत पाइन्छ । यसका लागि पर्याप्त सावधानी र पूर्वसुरक्षा जरुरी देखिन्छ ।

प्रारम्भिक दिनबाट समयानुकूल सूचनाको महत्व, गाम्भीर्यका आधारमा सूचनाको आदानप्रदान, सिर्जना, संकलन, सम्प्रेषण एवं संरक्षणका विविध तरिका अपनाउने गरिएको पाइन्छ । उन्नत सूचनाका आधारमा तय गरिने निर्णयले व्यक्ति एवं राष्ट्रकै जीवनमा समेत दीर्घकालीन महत्वको असर पर्ने हुन्छ । कोरोना भाइरसका कारण कोभिड–१९ रोगसँग विश्व जुधिरहेको वर्तमान समयमा स्वास्थ्य उपचारमा सूचना प्रविधिको उन्नत र अधिकतम प्रयोग अपरिहार्य बनेको छ । सूचना प्रविधिलाई सामान्यतया कम्प्युटरमा टाइप गर्ने, मेल चेक गर्ने, मोबाइल प्रयोग गरी फेसबुकलगायत सामाजिक सञ्जालको प्रयोग गर्ने कार्यको सीमिततामा बुझिनुहुँदैन । राष्ट्रिय विकासका सवालमा बन्द कोठामा रहेको बटम दबाएर योजना उदघाटन गर्नु, प्रविधि परीक्षण गर्नु, विकसित देशले स्याटलाइट एवं यानको नियमन गर्नुसमेत सूचना प्रविधिकै दायरामा पर्दछ ।

सूचना प्रविधिको उन्नत प्रयोग स्वास्थ्य क्षेत्रमा गर्न सक्ने हो भने कोरोनाजस्ता स्वास्थ्य संकटबाट देशले सहजै निकास पाउन सक्छ

सूचनालाई प्रविधिसँग आबद्ध गर्दै गुणात्मक ऊर्जाशील एवं प्रभावकारी नतिजाको प्रत्याभूति गर्न सबै निकाय उद्यत देखिन्छन् । प्रविधिमा हुने लगानीलाई पूर्णत सुरक्षित बनाउने, डाटाको सुरक्षा, संरक्षण, संग्रहमा पर्याप्तता हुनेगरी व्यवस्थापन गरिनु जरुरी छ । सुरक्षामा ध्यान नपुग्दा र एकै व्यक्ति एवं सेवा प्रदायकका सफ्टवेयर प्रयोग गर्दा, कपी गरिएका सफ्टवेयर प्रयोग गर्दा सुरक्षा चुनौती बढ्ने देखिन्छ । बैंकहरूको एटीएम ह्याकिङ प्रकरण एवं वैदेशिक रोजगार विभागको कम्प्युटर सिस्टममा समस्या आउदा तरंग पैदा गरेको दुःखद अनुभवलाई ध्यान दिँदै मालपोत, यातायात, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायत जनताका प्रत्यक्ष सरोकार राख्ने निकायहरू प्रविधि प्रयोगमा थप सजग हुनुपर्ने देखिन्छ ।

सूचना प्रविधिको प्रयोग न्यायालयमा प्रभावकारी ढंगले हुँदै आएको पाइन्छ । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाले अदालत व्यवस्थापनको सुदृढीकरण गर्ने लक्ष्यअन्तर्गत सूचना प्रविधिको संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको पाइन्छ । जसमा सूचना प्रविधिसम्बन्धी नीति र योजना बनाउने, न्यायपालिकाको सूचना तथा सञ्चार गुरुयोजना (२०७२–८२) ले निर्दिष्ट गरेका विषयको प्राथमिकता निर्धारण गरी कार्यान्वयन गर्ने, सफ्टवेयर निर्माण र सुदृढीकरण गर्ने, फरक मुद्दा व्यवस्थापन पद्धति, ई–लाइब्रेरी सञ्चालन, अनलाइन बहस र साक्षी परीक्षण, कोर्टरुम टेक्नोलोजीको प्रयोग बारकोड एप्लिकेसनको व्यवस्था गर्नेसमेतका कार्य सम्पन्न गर्न आवश्यक पूर्वाधार विकासमा जोड दिइएको छ । साथै, सूचनाप्रविधिको प्रभावकारिता अभिवृद्धि गर्न पूर्वाधार विकास र विस्तारमा समेत जोड दिइएको पाइन्छ ।

अदालती काम कारबाहीलाई थप प्रभावकारी, व्यवस्थित, वैज्ञानिक बनाउने सवालमा कार्य हुँदै आएको देखिन्छ । सूचना प्रविधि सम्बन्धमा तर्जुमा भएको दश वर्षे गुरुयोजना एवं वार्षिक कार्ययोजनामा लक्ष्य अनुरूपका कार्यक्रम समावेश भएको छ । अदालतमा प्रयोग हुने कागजातलाई विद्युतीय माध्यममा आधारित बनाउने, कम कागजातको प्रयोग गर्ने, पेस भएका महत्वपूर्ण कागजातका डिजिटल कपीको प्रयोग गर्ने, ई–फाइलिङको व्यवस्था गर्ने, अटोमेटेड प्रणालीको विकास गर्ने, अभिलेख संरक्षणलाई व्यवस्थित बनाउने, आर्थिक कारोबारलाई बैकिङ प्रणालीमा आबद्ध गर्नेसमेतका कार्यबाट न्यायालय आफ्ना काम कारबाही सहज बनाई न्यायका उपभोक्तालाई प्रभावकारी सेवा व्यवस्थापनमा अग्रसर देखिन्छ । न्यायालयमा साप्ताहिक एवं दैनिक पेसी सूची प्रकाशन, तथ्यांक संकलन, संरक्षणसमेतका कार्य सूचना प्रविधिमा आधारित भई सम्पादित हुँदै आएको छ । आधुनिकीकरणका सवालमा लेस पेपर हुँदै पेपर लेसमा जानका लागि सूचना प्रविधिको विस्तारमा भएका चरणबद्ध कार्य प्रभावकारीसमेत देखिएको पाइन्छ । न्यायालयमा प्रविधिले फड्को मारेको सन्दर्भमा सूचना प्रविधिको उच्चतम प्रयोगतर्फ योजना दस्तावेजसमेत केन्द्रित देखिएबाट प्रभावकारी न्यायको प्रत्याभूति एवं पहुँचका लागि चालिएका कदमलाई सकारात्मकतातर्फको यात्राका रूपमा लिन सकिन्छ ।

सूचनालाई शक्तिका रूपमा लिई प्रविधिको उच्चतम प्रयोग गर्नु आजको आवश्यकता पनि हो । मुलुक निर्माणका हर सवालमा सरोकारवालाको सक्रिय सहभागिता सचेतता, सिर्जनशीलता, सहकार्य एवं सहिष्णुताको समेत जरुरी पर्दछ । भौतिक निर्माणका क्षेत्रमा सूचना प्रविधिको प्रयोगका कारण फड्को मारेकै अवस्था छ । यद्यपि, पर्याप्त सुरक्षाका विधि अवलम्बन नगर्दा दुर्घटना बढ्ने सम्भावना रहने हुँदा प्रभावकारी सूचना प्रविधिको उचित प्रयोग आवश्यक हुन्छ । मोबाइल एपको प्रयाग बढ्दै गएको सन्दर्भमा र मोबाइल बैंकिङमा बढ्दै गएको पहुँचको प्रयोगमा सावधानी अपनाउनु जरुरी छ । अनलाइन सपिङमार्फत बढ्न सक्ने ठगीका घटनालाई पर्याप्त नियमन जरुरी छ । इलेक्ट्रोनिक हाजिरीसँगै कपीमा समेत हाजिर गरिएजस्तै सरकारी कार्यालयमा कतिपय अवस्थामा कम्प्युटरमा भएका डाटालाई म्यानुअल्ली कपीमा समेत अभिलेखन गर्नुपर्ने आवश्यकता एवं बाध्यता छ । सार्वजनिकीकरणका क्रममा हतार गर्दा बजेट भाषणपूर्व नै लिखित भाषण वेबसाइटमा आएजस्ता घटनाको पुनरावृत्ति नहुन सूचना प्रविधिको प्रयोग गर्दा गोपनीयताका संवेदनशीलताको सधैं मनन गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी सञ्जालमा पहुँच राख्नुपूर्व गोपनीयताका सवालबाट पर्याप्त ध्यान पु¥याउनु जरुरी हुन्छ । व्यक्तिका फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत सन्देश प्रवाह गरिदिने समस्या देखापरेको सन्दर्भमा आमनागरिकले समेत सूचना प्रविधिको प्रयोगमा सजगता अपनाउनु अत्यावश्यक छ । कलिला उमेरका केटाकेटी सामाजिक सञ्जालमा आएका गलत सन्देशबाट आत्महत्यासम्म गर्ने गरेको घटनातर्फ ध्यान दिँदै पर्याप्त नियमनसमेत जरुरी छ । विद्युतीय कारोबार ऐनको समयानुकूल परिमार्जन, साइबर सुरक्षा विज्ञहरूको पर्याप्त परिचालन र चेतना प्रवद्र्धनका कार्य गरिनु आवश्यक देखिन्छ ।

राष्ट्रिय विकासका दस्तावेजमा सूचना प्रविधिको प्रयोगलाई प्रवद्र्धन गरिने विषयले प्रवेश पाएको देखिन्छ । मुलुकमा पर्याप्त जनशक्ति उत्पादन एवं उपलब्ध नहुनु, मुलुकका सक्षम जनशक्तिलाई टिकाइराख्न समस्या हुनु, प्रतिभा पलायन पद्धतिका रूपमा विकास हुँदै जानु, समयानकूल परिवर्तित प्रविधिको प्रयोगमा प्रयास नगरिनु, ज्ञानभण्डार केन्द्रको पर्याप्त व्यवस्था नगरिनु, भएका स्रोतसाधनको प्रयोगका सवालमा हुने लगानीलाई अनुत्पादक ठानिनु, प्रविधिको अनवरत सञ्चालनमा अवरोध ल्याउन सक्ने विद्युत् प्रवाह, भौतिक अवस्थितिलगायतमा पर्याप्त ध्यान नपु¥याइनु आदि यस क्षेत्रमा समस्या रहेको देखिन्छ । सरकारी निकायमा सूचना प्रविधिको दरबन्दीमा कमी देखिनु एवं यस्ता विज्ञलाई पारिश्रमिकको न्यूनता र बाहिर अवसरको व्यापकताका कारण टिकाइराख्ने समस्याका कारण सरकारी निकायमा प्रविधिको प्रयोग सधैं परीक्षणको विषयमा सीमित हुन पुग्नु दुःखदायी विषय बनेको छ ।

सरकारी निकायमा कार्य अनुभवको प्रमाणपत्र विदेश यात्राको सहायक पत्र बन्नु, ज्ञानको प्रभावकारी प्रयोगबाट आफ्नो भविष्य नदेख्नेलाई आश्वस्त पार्दै मुलुकमा टिकाइराख्न नसकिनुजस्ता समस्या अन्त्य गर्दै सूचना प्रविधिको प्रयोगको बढावा दिने संस्कृति निर्माण गर्नु आजको आवश्यकता बनेको छ । राष्ट्रिय आवश्यकताअनुसार सूचना प्रविधिको विकास र विस्तार गरी त्यसमा सर्वसाधारण जनताको सहज र सरल पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने नीति संविधानले नै अख्तियार गरेको सम्बन्धमा बाढी पहिरो, भूक्षय, वर्षालगायतका विषयमा प्रत्यक्ष सरोकारवाला नागरिकलाई मोबाइलमार्फत भए पनि जानकारी गराउने कार्यलाई समेत उपलब्धिका रूपमा लिन सकिन्छ । सूचना प्रविधिको प्रयोग कृषिलगायतका क्षेत्रमा भई प्रभावकारिता एवं उत्पादकत्व वृद्धि हुँदै आएको पनि पाइन्छ । कृषि बजार एवं अन्य नियमित कृषि कार्यको नियमित फलोअपका लागि सूचना प्रविधिको प्रयोग भए उत्पादकत्व बढ्न मद्दत पुग्छ । क्षयरोगजस्ता जटिल रोगका बिरामीलाई नियमित उपचारका लागि मोबाइलमार्फत सम्झाउने संयन्त्रले समेत महŒवपूर्ण भूमिका खेल्न सक्छ ।

प्राविधिक शिक्षाले दीक्षित जनशक्तिलाई मुलुकभित्रै पर्याप्त पारिश्रमिकसहितको रोजगारी व्यवस्था गर्ने, पुरातन कार्यशैली चिर्दै समयानुकूल प्रविधिको प्रयोग गर्ने, प्रविधिको अनुसन्धान र विकासमा हुने लगानीलाई अनुत्पादक रूपमा नलिई प्रोत्साहित गर्ने नीति लिने, नवीन सोचलाई कार्य रूपमा बदल्न सूचनाको प्राप्ति संरक्षण, विश्लेषण र प्रयोगलाई संस्थागत गरिनु जरुरी छ । सूचना प्रविधिको उन्नत प्रयोग स्वास्थ्य क्षेत्रमा समेत हुन सक्ने हो भने विश्वमा देखापर्ने कोरोनाजस्ता स्वास्थ्य संकटबाट मुलुकको प्रयासबाट सहजै निकास पाउन सम्भव हुने देखिन्छ । सूचना प्रविधिको प्रयोगबाट वर्तमानको चुनौती सम्बोधन गर्न र भविष्यको मार्गरेखा कोर्नसमेत सहज हुने हुँदा यसको उपलब्धि उन्नयन र उपयोगमा लाग्नु आवश्यक देखिन्छ ।
(लेखक प्रशासकीय अदालतका रजिस्ट्रार हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 2,979 times, 1 visits today)

epaper

ताजा समाचार

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु