समाचार १. १९ जुलाई २०२० मा बीबीसी न्युज नेपाली अनलाइनमा ‘नेकपा विवाद : प्रचण्डद्वारा कमजोरी स्वीकार, दुविधा बोकेर कसरी पुगे राष्ट्रपति कार्यालय’ शीर्षकमा प्रकाशित बाइलाइन नभएको ६ सय ९२ शब्दको समाचारमा दुईवटा स्रोतको नाम र पद खुलाइएका छन् भने नौवटा स्रोत नेताहरूले जनाएका छन् भन्ने उल्लेख छ । जसमा प्रचण्ड निकट एक नेता, स्थायी समितिका अर्का सदस्य, समाचारहरू जनाइएको, प्रचण्ड सचिवालय, नाम खुलाउन नचाहने प्रधानमन्त्री निकट एक नेता, आइतबारको छलफलमा सहभागी एक नेताको भनाइ, राष्ट्रपति कार्यालयको सचिवालय र माधव नेपाल निकट एक स्थायी समिति सदस्यका अनुसार भनी बनाइएका छन् । बीचबीचमा स्रोतबिनाका समाचारदाताले आफैं थपेको विचार र निष्कर्षलाई पनि स्थान दिइएको छ ।
समाचार २. ५ साउन २०७७ मा नागरिक न्युज अनलाइनमा प्रकाशित ‘नेकपामा फेरि जबज चर्चा’ शीर्षकमा प्रकाशित बाइलाइन नभएको ८ सय ९३ शब्दको समाचारमा एउटा पनि स्रोत उल्लेख छैन भने चारवटा स्रोत स्रोतका अनुसार, नेपाल समूहका एक नेताका अनुसार, नेपाल निकट एक स्थायी कमिटी सदस्यका अनुसार, आइतबार दाहाललाई भे्टन पुगेका नेपाल पक्षधर एक नेताका अनुसार भन्दै बनाइएका छन् । सुरुमा, बीचबीचमा र अन्त्यमा संवाददाता सबै छलफलमा प्रत्यक्ष आफंै सहभागी भएर सुनेर लेखेको जस्तो समाचार स्रोतबिना समाचारदाता आफैंले थपेका वाक्यांशहरूको प्रयोग भएका छन् ।
समाचार ३. ५ साउन २०७७ मा नयाँ पत्रिका दैनिकको डिजिटल संस्करणमा ‘नेकपा गतिरोध यथास्थितिमा, प्रचण्ड निवासमा माधव नेपालले भने – म जबजवादी हुँ’ शीर्षकमा प्रकाशित बाइलाइन नभएको ७ सय २२ शब्दको समाचारमा प्रयोग भएका दुईवटा स्रोतको नाम खुलाइएको छन् भने तीनवटा स्रोत नखुलाइएको स्रोतमा प्रचण्ड ब्रिफिङ उल्लेख गर्दै एक स्थायी कमिटी सदस्यका अनुसार, उनी (माधव नेपाल) निकट एक नेताले भने, उनी (प्रचण्ड) निकट एक नेताले भने भनी उल्लेख गरिएको छ । यो समाचारको अधिकांश ७० प्रतिशत अंश रिपोर्टर स्वयं छलफलको प्रत्यक्षदर्शी स्रोता भए जसरी बिनास्रोत आफ्नै विचार दिएर लेखिएको छ ।
समाचार ४. ६ साउन २०७७ मा कान्तिपुर दैनिकको डिजिटल संस्करणमा ‘दाहाल समूहको निष्कर्ष : बल अब ओलीको कोर्टमा’ शीर्षकमा प्रकाशित विनु सुवेदीको बाइलाइनमा लेखिएको १ हजार ४ सय १२ शब्दको समाचारमा प्रयोग भएका दुईवटा स्रोतमा स्रोतको नाम खुलाइएको छ भने नौवटा स्रोतमा नाम नखुलाई पूर्वमाओवादीका केही नेताले भने, एक नेताले भने, बैठकमा सहभागी नेताले भने, बैठकमा सहभागी अर्का एक नेताले भने, यो समूहका एक नेताले भने, ओली निकट स्रोतको भनाइ, ओली पक्षीय अर्का नेताले भने, नेपाल निकट एक नेताले भने भन्दै स्रोत साइलेन्स गरिएको छ । यो समाचारमा पनि पत्रकार स्वयं प्रचण्डसँग भएका सबै छलफलमा सहभागी भए जसरी स्रोतबिना आफ्नै विचार दिएर लेखिएको छ ।
समाचार ५. ५ साउन २०७७ मा सेतोपाटी अनलाइनमा ‘जबज स्विकारे महाधिवेशनबाट एकल अध्यक्ष र पछि प्रधानमन्त्री बनाउने प्रस्ताव आएको थियो : प्रचण्ड’ शीर्षकमा प्रकाशित सञ्जीव बगालेको बाइलाइनमा लेखिएको ४ सय २५ शब्दको समाचारमा प्रयोग भएका एउटा स्रोतमा स्रोतको नाम खुलाइएको छ भने तीनवटा स्रोतमा नाम नखुलाई छलफलमा सहभागी एक स्थायी समिति सदस्य, बैठकमा उठेको धारणा’bout एक नेताले भने र अर्का एक स्थायी समिति सदस्यले भने भनेर स्रोतलाई साइलेन्समा राखिएको छ । समाचारमा प्रयुक्त धेरै भाषा प्रचण्ड जहाँजहाँ गएर कुरा गरेका छन्, ती सबै छलफलमा आफैं उपस्थित भए जसरी स्रोतबिना समाचारदाताले आफ्नै विचार दिएर लेखेका छन् ।
स्रोत उल्लेख नगरी स्रोतकाअनुसार भन्दै सोर्स साइलेन्स गरेर पत्रकारले आफैंलाई जोखिममा पार्दै छन्
माथिका समाचार सोर्स (समाचार स्रोत)को हवाला दिएर लेखिएका केही उदाहरण मात्र हुन् । यस लेखमा उठान गर्न खोजिएको विषय पत्रकार तथा सञ्चारमाध्यमले समाचारमा स्रोत उल्लेख नगरी स्रोतका अनुसार भन्दै सोर्स साइलेन्स गरेर किन आफंैलाई जोखिममा पार्दै छन् ? पाठकमाझ आफ्नो विश्वसनीयता किन गुमाउँदै छन् ? वा यसमा रिपोर्टर वा मेडिया स्वयंले पनि समाचार स्रोत साइलेन्स गरेर इन्ट्रेस्ट (पक्षधरता) पोलिटिक्स नै गर्न खोजेका त हैनन् ? लामो समयदेखि पत्रकारिताको विद्यार्थी र अध्यापक पनि भएकाले समाचारमा स्रोत उल्लेख गर्दा समाचार सत्य, सन्तुलित र तथ्यपूर्ण हुन्छ भन्ने पढियो-पढाइयो । अझ समाचारमा दुई, तीन वा त्यसभन्दा धेरै पक्ष पनि हुने हुँदा समाचारको स्रोत उल्लेख गर्दा पनि समाचारसँग जोडिएका सबै पक्षलाई स्रोत बनाउनुपर्छ भन्ने पढियो-पढाइयो । नेपालमा पत्रकारिताको सुरुवात भएको सवा सय वर्ष भए पनि खास विकास भएको अवधि २०४७ सालको प्रजातन्त्र प्राप्तिपछि मानिन्छ । त्यसयता छापा, रेडियो तथा टेलिभिजन र पछिल्लो दशक अनलाइन पत्रकारिताले उद्योगकै रूप धारण गरेको माात्र होइन कि व्यावसायिक रूपसमेत धारण गरिसकेको भन्न सकिन्छ ।
यसले पत्रकारितामा नयाँनयाँ प्रयोग भइरहेका छन् भने प्रविधिको विकासले प्रिन्ट मेडियालाई ओझेलमा पार्दै अनलाइन तथा डिजिटल पत्रकारिताको विकासले फड्को मारिरहेको छ । अर्थात् प्रिन्ट मेडियालाई पनि अनलाइन र दृश्य पत्रकाारितामा जान बाध्य पारिरहेको छ । तर, प्रविधिको विकास र लामो अनुभवले पत्रकारितालाई झन्झन् निखार्दै÷तिखार्दै लैजानुपर्नेमा पत्रकारिता पेसा नै संकटमा पर्न थालेको अनुभव गरिँदै छ । अहिलेको सन्दर्भमा कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिलाई यसको दोष दिन खोजिए पनि डिजिटल प्रविधिको विकास र हरेक नागरिकले आफूमा बढाउँदै लगेको सञ्चार सीप अनि अनलाइन पत्रकारिताको विकास एउटा पक्ष हो भने अर्कोतिर सतही सूचना र पत्रकारिताप्रतिको गिर्दो साखले यो स्थिति सिर्जना गर्दै छ ।
माथिका समाचारका उदाहरण नेपालको मूलधारका भनिएका अनि परिपक्व सम्पादक भएका मानिएकामा मेडियामा आएका समाचारका उदाहरण हुन् । प्रश्न ती समाचार समसामयिक विषयमा लेखिएका राजनीतिक समाचार हुन् वा पाठकको रुचिका समाचार हुन् वा समाचारदाताको बिटको दायित्व पूरा गर्न लेखिएका समाचार हुन् वा समाचारदाता स्वयंको रुचिमा लेखिएका हुन् वा समाचार स्रोतलाई खुसी बनाउन लेखिएका समाचार हुन् वा सम्पादकको रुचिमा लेखिएका हुन् वा प्रकाशनको रुचिमा लेखिएका समाचार हुन् ? आजको सचेत पाठकले सहजै बुझ्न सक्छन् । मेरो बुझाइमा यी विषय समसामयिक राजनीतिक विषय भए पनि समाचार लेख्दा स्रोत स्पष्ट उल्लेख गरिनुपथ्र्यो भन्ने हो । स्रोत स्पष्ट उल्लेख गरिएको भए न पाठकले प्रश्न उठाउँथे, न समाचार लेखको विषय बन्थ्यो । कहिलेकाहीँ समाचार लेखको विषय बनिदिँदा पनि पृष्ठपोषण पाइने र आगामी दिनलाई सचेत हुन सकिन्छ ।
स्रोत उल्लेख गर्दा पनि सन्तुलनको पक्षलाई ख्याल गर्दै समाचारसँग जोडिएका दुई वा तीन वा त्योभन्दा धेरै पक्षलाई समाचारमा सकेसम्म समान स्थान दिइनुपर्छ भन्ने हो । जब स्रोतले आफ्नो नाम नखुलाई आफ्नो स्वार्थअनुरूपका सूचना मात्र प्रवाह गर्न चाहन्छ भने उसको संरक्षण किन ? आफू र आफ्नो मेडियाको विश्वसनीयतालाई धरापमा पारेर दिइने समाचारले कसको हित गर्छ ? के हाम्रा समाचार त्यस्तै व्यक्ति वा नेता वा विषयको पक्ष पोषणका लागि हो । समाचारमा प्रमुख स्रोतसम्म पुग्न सकिँदैन भने प्रत्यक्षदर्शी वा अप्रत्यक्ष ढंगले त्यससँग सम्बन्धित स्रोत उल्लेख गर्न हामी किन कन्जुस्याइँ गर्दै छौं र एउटै समाचारमा एक नेताले भने भनेर आठ-नौपटक त्यस्ता स्रोतलाई स्थान दिन्छौ ? समाचारको विश्वसनीता गुमाउँदै त्यही समाचार पस्कन किन हतार गर्छौ ? के त्यो समाचार पाठकको रुचि अधिक भएर हो ? वा कोही एक नेताको सपोर्टमा माहोल बनोस् भनेर त्यस्ता समाचार पस्किरहेका छौं ? वा त्यो समाचारले सञ्चारमाध्यमको विश्वास अधिक बढाएको छ वा त्यो समाचार दिँदा पत्रिकालाई राम्रै आम्दानी हुन्छ ? मेरो बुझाइमा यस्ता स्रोतको हवाला दिँदै लेखिएका असन्तुलित समाचारले साइलेन्स रूपमा रिपोर्टर वा सम्पादक वा प्रकाशकको रुचिको नेताको भनाइ आमपाठकमा जाला भन्ने ठानिए पनि यसले समाचार लेख्ने पत्रकार, आम सञ्चारमाध्यम र समग्र पत्रकारिता जगत्कै बदनाम गराइरहेको हुन्छ ।
त्यति मात्र होइन, यस्ता समाचारले छवि आर्जन गरेका मूलधारका छवि निर्माण गरिसकेको मेडिया, तिनका सम्पादक र समाचार लेख्ने रिपोर्टरकै इमेज (छवि)लाई ड्यामेज गरिरहेको हुन्छ । पत्रकारिताका प्राध्यापक पी खरेल यस्तो हुनुमा राजनीतिक दलमा आबद्व पत्रकारहरूको संख्या बढ्नु प्रमुख कारण रहेको बताउनुहुन्छ । प्राध्यापक खरेल भन्नुहुन्छ, ‘विदेशमा स्रोत लुकाउने दैनिक सञ्चार माध्यममा एक वर्षमा एकदुईपटक अपवादजस्तै हुन्छ । हामीकहाँ हिजोका दिनमा साप्ताहिक पत्रिकाहरू स्रोतबिनाका स्रोतको हवाला दिँदै समाचार लेख्दा समाजबाटै हराए ।
आजभोलि दैनिक र अनलाइनहरू त्यही साप्ताहिक पत्रिकाको जस्तै स्रोतको हवाला दिँदै दायित्व लिनै नपर्ने र पाठकलाई खल्लो पार्ने खालका पार्टीका समाचार दिने स्थान लिँदै छन् र आफ्नै कारणले हराउने स्थानमा पुग्दै छन्,’ प्राध्यापक खरेल थप्नुहुन्छ, ‘पार्टी स्वयंले हाम्रो दलमा आबद्व पत्रकारहरूको संख्या १८ हजार छ । मेरो दलमा २२ हजार छ भन्दै छन् । ती पत्रकारहरूबाट कस्तो समाचारको आशा गर्ने ? राम्रो समाचारका लागि समाचार स्रोत खुलाउनैपर्छ । त्यसले सबैमा जिम्मेवारी बोध झल्कन्छ । समाचारमा विश्वसनीयता र गुणस्तरीयता पनि बढ्छ ।’
प्रविधिको विकासले पत्रकारितामा बढ्दो डिजिटलाइजेसन, नयाँ पुस्ताको जबरजस्त प्रवेश र विषम परिस्थितिले छापा पत्रकारितामा त संकट नै ल्याएको छ । रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितालाई पनि दिन प्रतिदिन नयाँनयाँ योजना, स्वरूप र परिस्थितिबाट गुज्रनुपर्ने अवस्था सिजना हँुदै छ । त्यसमाथि आफैंलाई समस्यामा पार्ने खालका स्रोत साइलेन्स गरेर वा आफ्नो अनुकूलका स्रोत खुलाएर पुरानो शैलीमा लेखिने समाचार अब डिजिटल तथा भर्चुअल समाजमा मात्र होइन, परम्परागत समाजमा समेत बिक्न छाडिसकेका छन् ।
केही छापा, रेडियो, अनलाइनहरू र टेलिभिजनले समाचारका स्वरूपमा फरकपन ल्याई नयाँ पुस्ताका डिजिटल तथा भर्चुअल पाठक, श्रोता र दर्शकमाझ नयाँ ढंगले पुग्ने प्रयास गरेका पनि छन् । मेडियाहरूले अबको समयमा बाँच्नकै लागि पनि नयाँ ढंगको योजनाका साथ पाठक, श्रोता र दर्शकको रुचि पहिलाउँदै विवाद बढाउनेभन्दा समाधान दिने समाचारका साथ समाज-समुदायसँग जोडिएर अघि बढ्नुको विकल्प छैन ।
(लेखक महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक हुन् ।)






