नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको विभिन्न तीन स्थानमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने घटनामा १० घरपरिवार विस्थापित भएका छन् । बेलकोटगढी नगरपालिका वडा नं. ८ हर्रे भन्ने स्थानमा ढुंगामाटोले बनेको घर भत्किँदा ६८ वर्षिय वृद्ध अक्कलबहादुर तामाङको मृत्यु भएको छ ।
शुक्रवार विहान ३ बजेको समयमा कच्ची घर भत्किँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार घटना भएका वेला तामाङका छोरावुहारी भने छुट्टै घरमा स्तेका थिए । तामाङको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ ।
यसैगरी सोही नगरपालिकाको वडा नं. ५ मा पहिरो जाँदा पाँच घर विस्थापित भएका छन् । पहिरोमा परी एउटा भैसी, ३ वटा रांगा, १८ वटा वाख्रा पुरेको र पहिरोको कारण अन्य ५० भन्दा धेरै घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विहान ९ः४५ बजेको समयमा दुईपिपल स्थित माझगाउँ भन्ने स्थानमा एक्कासी ५ सय मिटर माथिबाट आएको पहिरोले पाँच घरमा क्षति पु-याएको थियो भने ५० घर जोखिममा परेका छन् । पहिरो जाँदा स्थानीय लालबहादुर श्रेष्ठ, पुर्णबहादुर श्रेष्ठ, तुलसीदास श्रेष्ठ, लक्ष्मी बर्देवा र रामकृष्ण श्रेष्ठको घर भत्किएको छ ।
पहिरोका कारण एउटा भैसी र बाख्रा मर्नुका साथै अन्नपात, लत्ता कपडा पुरिएको स्थानीय रेडक्रसकर्मी तथा शिक्षक नारायणप्रसाद दाहालले बताए । घटनालगत्तै उद्दारको लागि जवरजंग गण देवीघाट व्यारेकबाट ४० जनाको सैन्य टोली परिचालन भएको नेपाली सेनाले जनाएको छ । साथै नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यस्तै वडा नं. ५ कै दाहालथोक नजिकै पहिरो जाँदा थप चार घर जोखिममा परेको छ ।