वीरगन्ज । पर्सामा आइतबार फेरि आदर्शनगरमा बस्दै आएका एक व्यापारीको कोरोनाका कारण मृत्यु भएको छ । वीरगन्जको आदर्शनगरमा बस्दै आएका ६५ बर्षीय व्यापारीको कोरोनाका कारण मृत्यु भएको हो ।
उनी मुटुरोगी पनि रहेको वीरगन्जको बिशेष कोभिड अस्पताल गण्डकले जनाएको छ । श्वास प्रश्वासमा केही समस्या भएपछि कोरोनाको आशंकामा शनिबार स्वाव संकलनका लागि नारायणी अस्पताल पुगेका उनको आरडीटी रिपोर्ट पोजेटिभ आएको थियो । आरडीटिको रिपोर्ट पोजेटिभ आएपछि स्वाव संकलन गरी थप उपचारका लागि शनिबार कोभिड अस्पताल गण्डकमा भर्ना भएका उनको आइतबार बिहान निधन भएको हो ।
उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ । मृतक जिवित हुँदै संकलित स्वाव परिक्षण गर्दा त्यसको पनि रिपोर्ट पोजटिभ नै आएको छ । स्वावको रिपोर्ट पोजेटिभ आउनु कोरोना संक्रमित भएको प्रमाणित हो अस्पतालका चिकित्सकहरुले बताए । पछिल्लो समयमा वीरगन्जको नारायणी अस्पतालमा नै स्वाव परिक्षण पनि भइरहेको छ ।
पाँच दिनमा ४ जनाको मृत्यु
नारायणी अस्पतालको कोभिड बिशेष अस्पताल गण्डकमा ५ दिनको अन्तरालमा कोरोनाको उपचार गराउन त्यहाँ पुगेका ४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । चारजना मध्ये दुईजना वीरगन्जका बजार क्षेत्र हुन् भने १७ बर्षी युवती पनि वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरकी हुन् । आइतबार निधन भएका आदर्शनगरका व्यापारी भारतीय नागरिक रहे पनि लामो समयदेखि वीरगन्जमा नै बस्दै आएको मृतकका आफन्तले बताए । शव व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाली सेनाले शव व्यवस्थापन गर्ने सन्दर्भमा मृतक भारतीय नागरिक भएको खुलेपछि भारत पठाउने कि यतै व्यवस्थापन गर्ने भन्ने सवालमा भारतीय महावाणिज्य दूतावाससँग सहकार्य गर्ने जनाइएको छ ।
कोरोनाका कारण गएको बुधबार वीरगन्जको माइस्थानका ७० बर्षीय पुरुष, शुक्रबार बिहान वीरगन्ज ११ रानीघाटकी ८५ बर्षीय बृद्धा र साझँ परवानीपुरकी १७ बर्षीय युवतीको निधन भइसकेको थियो । आइतबार भने लामो समयदेखि वीरगन्जमा बस्दै आएका ती भारतीय व्यापारीको निधन भएको कोभिड बिशेष अस्पताल गण्डकका संयोजक डा.उदय नारायण सिंहले बताए ।






