ललितपुर । ललितपुरमा हिजो सोमबार एकै परिवारका ४ जनासहित ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिकामा एक र ललितपुर महानगरपालिकामा–४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुर महानगरपालिका–५ थसिखेलमा एक परिवारका ४ जनामा कोरोना भाइरस संक्रमण भएको महानगरको कोरोना फोकल पर्सन देवी गुरुङले जानकारी दिइन् ।
थसिखेलमा केही दिन अघि वीरगन्जबाट आएकी ६७ वर्षिया महिलामा कोरोना संक्रमण देखिएको थियो । साउन ६ गते कोरोना देखिएकी उनको कन्ट्याक्ट ट्रेसिङका क्रममा गरिएको परीक्षणमा उनकै परिवारमा नाती नातिनी सहित थप परिवारका सदस्यमा पनि कोरोना संक्रमण भएको महानगरकी स्वास्थ्य शाखा प्रमुख गुरुङले जानकारी दिइन् । सोमबार ४ जनामा संक्रमण भएसँगै उही परिवारमा ६ जनामा कोरोना संक्रमण भइसकेको छ । ६७ वर्षीय महिलापछि साउन १० गते उनकै ४४ वर्षीय छोरामा संक्रमण भेटिएको थियो ।
उनका अनुसार थसिखेलमा उपत्यका बाहिरबाट धेरै अस्थायी बसोबासका लागी आउने गरेका कारण संक्रमण यहाँ देखीएको छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा सोमबार आएको रिपोर्टमा परिवारका अन्य ४ सदस्यमा पनि कोरोना संक्रमण देखिएको उनले बताइन् ।
कोरोना पुष्टि हुनेमा ३९ वर्षिया महिला, १० वर्षिया बालिका, ५ वर्षीय बालक र २ वर्षीय बालक रहेका छन् । कोरोना संक्रमण देखिएकी ३९ वर्षिया महिला पाठेघरको क्यान्सर भएको महानगरपालिकाका फोकल पर्सन देवी गुरुङले बताइन । ‘उनीहरुको हजुरआमाबाट कोरोना सरेको आशंका गरिएको छ,’ उनले भनिन्, ‘यहाँ संक्रमण बढेपछि यहाँका वडा अध्यक्षसँग बिहीबार छलफल गरिँदैछ ।’
यसअघि कोरोना पुष्टि भएका आमा, छोरा दुवैलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरु एकसाताअघि वीरगन्जबाटै आएको बताइएको छ । स्थायी ठेगाना पनि वीरगन्ज नै रहेका उनीहरु सुरुमा कोरोना संक्रमण देखिएकी वृद्धासँगै आएको देखिएको छ । कोरोना पोजेटिभ भएपनि कसैमा पनि हालसम्म कोरोनाको लक्षण भने नदेखिएको जनाइएको छ ।
ललितपुरमा थपिएका अर्का एक जना संक्रमित गोदावरी नगरपालिका वडा नम्बर ११ चापागाउँका भएको पुष्टि भएको छ । ती संक्रमित २९ वर्षीय पुरुष १ महिना अघि दुबईबाट फर्किएका छन् । गोदावरी नगरपालिका–११ चापागाउँका उनी चापागाउँस्थित साग्रिला क्वारेन्टिाइनमा बसिरहेका थिए ।
योसँगै ललितपुरमा हालसम्म ९४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुगेको छन् । जिललामा महिला ३९ जना र पुरुष ५५ जना रहेका छन् । जिल्लामा बुङ्मतीकीका पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना भाइसरका कारण मृत्यु भएको हो ।






