बुटवल । बुटवलको मुख्य बजार क्षेत्र ट्राफिकचोकदेखि हस्पिटल लाइनसम्मको सडक खाल्डाखुल्डीले बेहाल भएको छ । वर्षायाममा पानीले परेका ठूला–ठूला खाल्डाखुल्डीले यो बाटो प्रयोग गर्ने सर्वसाधारण र लामो दूरीका सवारी साधानले सास्ती खेप्नुपरेको छ । लामो समयसम्म सडक बिग्रँदा पनि सम्बन्धित निकाय सडक डिभिजन कार्यालय, बुटवलको ध्यान जान सकेको छैन । ट्राफिक चोकदेखि हस्पिटललाइन (भुड्की चोकसम्म) यो सडकखण्ड खाल्डाखुल्डी र उवडखावडले गर्दा अस्तव्यस्त र जोखिमपूर्ण भएको हो । बुटवल–बेलहिया सडक खण्डमा पर्ने झण्डै एक किलोमिटर यो क्षेत्र अत्याधिक रूपमा बिग्रिँदा सडक दुर्घटनाको जोखिमका साथै ट्राफिक जामसमेत बढाएको छ ।
२४ सैं घण्टा व्यस्त रहने सडक जीर्ण बन्दै दिनमा दशौं पटक ओहोरदोहोर गर्ने प्रदेशका मन्त्री सांसददेखि स्थानीय तहका जनप्रतिनिधिको समेत ध्यान गएको छैन । सडक डिभिजन कार्यालय बुटवलले भने सडक मर्मतको काम भइरहेको दावी गरेको छ । डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले लगातार पानी परिरहेका कारण मर्मत गर्न समस्या परेको बताए । मरासिनीले भने, ‘अहिले बर्खाको समय भएका कारणले पिच गर्न मिल्दैन, खाल्डा परेर पानि जमेका ठाउँमा गिटी बालुवा हालेर सम्माउने तयारी गरिरहेका छौँ । पानी परिरहेका कारण तत्काल काम गर्न समस्या भएको छ ।’
‘पिच सडकको लागि पानी सबैभन्दा ठूलो दुश्मन हो,’ सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मरासिनी भन्छन्, ‘यसरी सडकमा पानी लामो समयसम्म रहेमा सडक चाडै खाल्डो पार्छ ।’ बुटवलमा चल्ने टिप्परलगायत भारतबाट आउने मालबाहक ओभरलोड गाडीका कारणले पनि यो सडकमा छिटो खाल्डा पर्ने गरेको छ ।
ठूला र मालबाहक गाडी गुड्ने पिच सडकको आयु पाँच वर्षको हुन्छ यो सडक पिच भएको सात वर्ष पुगेको छ । त्यसले गर्दापनि सडक जीर्ण बन्दै गइरहेको मरासिनीले बताए । बुटवल चौराहादेखि गोलपार्कसम्मको सडक पुनः कालोपत्रे गर्ने ठेक्का विरुवा कन्सट्रक्सले पाएको छ । अदालतले सडक क्षेत्र मिचेर बनाएका घर भत्काउन रोकेपछि अहिले यो सडक बिस्तार कार्य रोकिएको छ ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले सधैं व्यस्त भइरहने मुख्य सडक जीर्ण बन्दा सडक दुर्घटनाको जोखिम दिनप्रतिदिन बढेको बताए । उनले भने, ‘सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै सडकमा सवारीसाधनको संख्या ह्वात्तै बढेको छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।’
सवारी चालकहरुको भनाइ पनि उस्तै रहेको छ । सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको उनीहरु बताउँछन् । सडकमा परेका खाल्डामा लगातार परिरहेको झरीका कारणले पानी जमेको छ । यही अवस्थामा सडक रह्यो भने जतिबेला नि दुर्घटना हुन सक्छ । गुल्मी धुर्कोटका राजेन्द्र घिमिरेले भने, ‘बाटोकै कारण साना सवारी साधनहरुलाई सास्ती छ ।’ हिलो र खाल्डाखुल्डीले साइकल र मोटरसाइकल चलाउनेहरुलाई समस्या भएको छ । खाल्डाखुल्डी र पानि जमेर हिलाम्य भएको ठाउँमा खाल्डा पुरिदिए मात्रपनि केही सहज हुन्थ्यो ।
बुटवल उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले सडक मर्मत गर्ने जिम्मा आफूहरुहरुको नभएको बताइन् । आचार्यले भनिन्, ‘उप–महानगरपालिकाले लकडाउनको समयमा पनि महामारी विरुद्धको अभियानसँगै मुख्य सडकमा ट्राफिक लेन, जेब्राक्रसिङ तथा ट्राफिक संकेतसहित मार्किङ गर्नेे काम सम्पन्न गरेको छ ।’ बुटवलको मुख्यसडक जीर्ण हुँदा यात्रुहरुले पाएको सास्तीलाई मध्यनजर गरी उप–महानगरले सडक डिभिजन कार्यलयसँग समन्वय गरी यो सडकको पनि मर्मत गर्ने तयारी गरेको आचार्यको भनाइ छ ।
यही सडकको विषयमा बुटवलमा बस्दै आएका माधव पन्थले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै लेखेका छन्, ‘प्रदेश ५ को राजधानी बुटवलको अस्पताल लाइनको बाटो हिँड्नुभन्दा दुर्गम गाउँको बाटो हिँड्न सजिलो छ जस्तो लाग्न थाल्यो । प्रदेश सरकार कहाँ छ ?’






