कोभिड-१९ को जोखिम कायमै : कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण

काठमाडौँ । मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ ।

यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ । भीडभाड बढ्दा मानिसले चाहेर पनि भौतिक दूरी कायम गर्न नसक्ने हुँदा अब अझै सावधानी जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ । नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड–१९ देखियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मङ्गलबारको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ पुष्टि भयो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही पछिल्लो चरणमा प्रहरीमा कोभिड–१९ सङ्क्रमण बढेको बताउँछन् । ‘पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वाटरमै सङ्क्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौँ’, शाहीले भने । मङ्गलबार सशस्त्र प्रहरीमा पनि एकजनामा कोभिड–१९ देखिएको छ । प्रहरीमा अहिलेसम्म २०६ जनामा सङ्क्रमण भइसकेको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का कूल ३८२ जनामा सङ्क्रमण देखिइसकेको छ । अझै पनि १४१ जना उपचाररत रहेका छन् तर जटिल खालका बिरामी भने नभएको जनाइएको छ । हालसम्म नेपालमा १९ हजारमा कोभिड–१९ देखिएकामा झण्डै १४ हजार निको भएर घर फर्किसकेका छन् । पाँच हजार उपचारमा छन् । कोरोनाका कारण ४९ जनाको निधन भएको छ ।

पहिले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा थिए । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढ्दा र व्यवसाय सञ्चालन हुँदा पनि अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय नै हो । त्यसकारण सुरक्षाकर्मी थप जोखिम हुने स्वास्थ्य विज्ञको भनाइ छ ।

सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहे पनि कतिपय सुरक्षाकर्मीलाई कोभिड–१९ को सङ्क्रमण भएको छ । आम समुदायसँग नियमित सम्पर्कमा पुग्ने सुरक्षाकर्मीमा सङ्क्रमण हुँदा नागरिकमा सर्ने सम्भावना बढी हुन्छ ।

मानिसको भीडभाड रोक्नुपर्ने अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि भौतिक दूरी कायम गर्न सकेका हुँदैनन् । अझै पनि सुरक्षामा अपनाउनुपर्ने मापदण्ड पूर्णरुपमा प्रयोग गर्न सकेका छ्रैनन् । सामान्य कपडाको मास्कमै कार्यस्थलमा खटिएका छन् । सङ्क्रमणको जोखिम हुन्छ भन्ने आँकलन गरेरै प्रहरीले उच्च मनोबलका साथ काममा खटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् । जोखिम रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन् । घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार राखिन्छ ।

आजसम्मको प्राप्त विवरणअनुसार नेपाल प्रहरीका २०६ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ९९ जना निको भएर घर फकिए पनि १०७ उपचाररत छन् । सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका ९२ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । उनीहरुमध्ये अझै २८ जना उपचाररत रहेका छन् । सीमा क्षेत्रमा प्रत्यक्षरुपमा मानिससँग सम्पर्कमा पुग्नुपर्ने भएकाले पनि सङ्क्रमण देखिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल बताउँछन् ।

नेपाली सेनामा पनि सङ्क्रमण बढिरहेको छ । नेपाली सेनामा पहिलोपटक गत जेठ ३ गते सङ्क्रमण देखिएको थियो । त्यसयता अहिलेसम्म कूल ७९ जनामा सङ्क्रमण भइसकको छ । अहिलेसम्म ७२ जना उपचारपछि निको भएको र सात जनाको उपचार जारी रहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेल बताउँछन् ।

उनका अनुसार जनमानसमा सम्पर्कमा जानुपर्ने भएकाले पनि सुरक्षाकर्मीमा जोखिम कायमै छ तर पनि सेनाले कन्ट्रयाक ट्रेसिङ युनिटमार्फत नियन्त्रणको काम जारी राखेको छ । मुख्यगरी नेपाली सेनालाई भारतबाट आउने र तेस्रो मुलुकबाट आउने नेपालीलाई सुरक्षितरुपमा होल्डिङ सेन्टरमा ल्यएर सम्बन्धित क्षेत्रमा पठाउने जिम्मेवारी छ ।

त्यसपछि क्वारेन्टिन व्यवस्थापन र शव व्यवस्थापन सेनाको अर्को जिम्मेवारी हो । सरकारले तोकेको अन्य काममा पनि नेपाली सेना सक्रिय छ । नागरिकको सम्पर्कमा जाँदा आवश्यक सावधानी अपनाउँदाअपनाउँदै पनि केहीलाई सङ्क्रमण देखिएको र त्यो नियन्त्रणमै रहेको पौडेलले राससलाई बताए । उता राष्ट्रिय अनुसन्धान विभागका चार जनामा कोभिड–१९ देखिएको जनाइएको छ ।

मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न, अन्य घटना हुँदा आम नागरिकले पहिले सम्झने नेपाल प्रहरीलाई नै हो । सामान्य भीडभाड, झै–झगडा, दुर्घटना, चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपङ्क्तिमा हुन्छ । त्यसैले अरु निकायमा भन्दा बढी प्रहरीमा सङ्क्रमण देखिएको छ । कोभिड–१९ को नियत्रणका लागि नेपालभर ४४ हजार बढी प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेनाले काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा