काठमाडौं । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बी.पी. जयन्तीका अवसरमा बी.पी. साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ । एक लाख एक हजार रुपैंयाँको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।
त्यसरी नै ट्रष्टले प्रति बर्ष प्रदान गर्नेे बी.पी. सेनानी सम्मान पुरस्कार–२०७७ यस वर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु¥याउने होमनाथ दाहाललाई दिने निर्णय गरेको छ । पुरस्कारको राशी एकाउन्न हजार रहेको छ ।
यी पुरस्कारहरु आगामी भदौ २४, गते बी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ ।
कसले कहिले पाए पुरस्कार ?
यस भन्दा पहिले— २०७१ मा बी.पी. साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बी.पी.सेनानी सम्मान नृतन थपलियालाई, २०७२ मा साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व. तारानाथ कोइरालालाई प्रदान गरिएको छ ।
०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई, २०७४ मा साहित्य तर्फ प्रा.डा.अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थ राज चैतुलाई प्रदान गरिएको छ । त्यस्तै २०७५ मा साहित्य तर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्र प्रसाद बास्तोलालाई र गत वर्ष २०७६ मा बी.पी. साहित्य सम्मान तिल बिक्रम नेवाङ (बैरागी काहिला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिसकिएको छ ।







