कोरोना संक्रमण रोक्न सबै उपाय अपनाऊ

नेपालमा कोरोना संक्रमण अब आमरूपमा फैलिइसकेको छ । संक्रमणले गाउँ, सहर, क्याम्प, ब्यारेक र बस्ती कहीँ पनि छाडेको छैन । विदेश गएर आएका, स्वदेशभित्र घुमफिर गरेका, एकै ठाउँमा बसिरहेका, घर नै नछोडेकालाई समेत कोरोनाले छोएको छ । यस्तो अवस्थामा आमरूपमा पीसीआर परीक्षण गरी संक्रमित तथा असंक्रमित छुट्याई उपचारका सबै उपाय शीघ्रातिशीघ्र अवलम्बन गरिनुपर्छ । अब विदेशबाट ल्याइनुपर्ने नेपाली ल्याइसकिएका छन् । स्वदेशमा फर्किइरहेका पनि आआफ्ना स्थानमा रहेका छन् । यसैबेला सरकारले आमपरीक्षणको उपाय अपनाउनुपर्छ । केवल पुरानै र विफल भएका कोरोना संक्रमणका उपाय रटान गरेर मात्र सम्भव छैन । तथापि, प्रभावकारी उपाय प्रयोगमा ल्याउन भइरहेको ढिलाइप्रति आमजनता भने आश्चर्यमा परेका छन् । यति हुँदा पनि संघीय सरकार कोरोना संक्रमण आमरूपमा फैलिइसक्यो भन्ने कुरा अस्वीकार गरेर बसिरहेको छ । कोरोना आम भइसकेपछि जनता सरकारसँग र तीनै तहका सरकारी रबैयासँग असन्तुष्ट छन् । भुसको आगोझैं संक्रमण फैलिइरहने तर सरकारले भने केही पनि उपाय र प्रक्रिया अवलम्बन नगर्ने भएपछि यसले सबैलाई चिन्तित बनाइरहेको छ ।

हाल सामूहिक बसाइमा रहेका जनपद प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका क्याम्पमा संक्रमण तीव्र रूपमा बढिरहेको छ । बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि यो अब रोकथाम गर्न नसकिने अवस्थामा पुग्न थालेको अनुमान गरिएको छ । सतर्कताले मात्र नियन्त्रण गर्न सकिने अवस्था पार भइसकेको देखिन्छ । हालसम्म देशमा ९१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ । पछिल्लो चरणमा एकै दिनमा १० जनाको मृत्यु भएपछि देश संक्रमणको भुंग्रोमा धकेलिएको छ । संक्रमण फैलावटसँगै देखिएको यो सानो संख्या होइन । सीमित मात्राको परीक्षणमा पनि प्रतिघण्टा १४ जना नेपाली संक्रमित हुँदे गएको आँकडा निस्किएपछि स्थिति भयावह हुँदै जान थालेको देखिएको छ । देशभर मानिसमा सन्त्रास फैलिएको छ । तर पनि रोकथाम र नियन्त्रणका उपाय प्रभावकारी रूपमा अघि बढाइएको छैन । संघीय, प्रादेशिक तथा स्थानीय सरकारले संक्रमणको यो उभारलाई धान्न सक्नेगरी तयारी गरेका छैनन् । स्थानीय जनता पनि जति सतर्कता अपनाउनुपर्ने हो, त्यति सतर्क भएको देखिँदैन ।

संक्रमण बढ्दै जाँदा पीसीआर परीक्षणलाई जति व्यापक बनाइनुपर्ने हो, त्यसो हुन सकिरहेको छैन । इम्युनिटी पावर अभिवृद्धिका लागि औषधिको प्रयोग, संक्रमितका लागि भेन्टिलेटर, आइसोलेसन, अस्पताल तथा सुविधा सम्पन्न बेडहरूको व्यवस्था गरिएको छैन । सरकारले कोरोनाको नाममा खर्बौंको बजेट कहाँ र कसरी खर्च ग¥यो, त्यसको लेखाजोखा नै छैन । अहिले कोरोना महामारीको संक्रमण अनियन्त्रित र असन्तुलित हुँदै गएपछि देशव्यापी रूपमा नयाँ अस्पताल, भेन्टिलेटर, उपचार कक्ष र क्वारेन्टिनको आवश्यकता बढ्दै गएको छ । तर, तदनुरुप तयारी देखिँदैन । यस्तो अवस्थामा विपद् व्यवस्थापनसरह सोच बनाई शीघ्रातिशीघ्र स्वास्थ्य सेवामा जुट्न र सम्भाव्य वैकल्पिक उपाय सबै अपनाएर अघि बढ्नुको विकल्प छैन ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा