काठमाडौं । नेपाल ब्याडमिन्टन संघले आफ्ना उपमहासचिव लवभक्त श्रेष्ठले बुझाएको राजीनामा स्वीकृति गरेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को दौरान र ब्याडमिन्टनका अन्य प्रतियोगिताको आर्थिक अनियमिततामा आफ्नो नाम मुछिएपछि श्रेष्ठले राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, उनले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिएका थिए ।
संघको शनिबार बसेको सचिवालय बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराएका छन् । ‘कार्यव्यस्तता र अब गृह जिल्ला मोरङमै बस्ने हुँदा समय दिन नसक्ने भन्दै उपमहासचिव श्रेष्ठले बुझाएको राजीनामालाई हामीले स्वीकृत गरेका हौं,’ अध्यक्ष श्रेष्ठले भने ।
साग ब्याडमिन्टनका दौरान समान खरिदमा अनियमितता भएको विषय विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले शुक्रबार मन्त्रालयमा बैठक डाक्दै छानबिन प्रक्रिया अघि बढाउँदै दोषीमाथि कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललाई निर्देशन दिएको थियो । राखेपले साग ब्याडमिन्टनको सामान खरिद र अन्य विषयमा छानबिन गर्न छिट्टै समिति बनाउने तयारी भइरहेको बताइएको छ ।






