सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ३० बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण कार्य शुरु गरिएको छ । जिल्लामा पछिलो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै यस वडाले ३० बेडको आइसोलेशन निर्माण गर्न लागेको हो ।
वडामा रहेको एक मदरसामा सो आइसोलेसन निर्माण गर्न त्यहाँका मुस्लिम समुदायहरु तयार भएपछि वडाले धमाधम काम अगाडी बढाएको छ । वडा नम्बर २३ मा कोरोना भाइरसको जोखिम बढेपछि संक्रमितको उचित उपचार ब्यवस्थापनमा समस्या आउन नदिन यस वडाले आफ्नै क्षेत्र भित्र ३० बेडको आइसोलेसन सेन्टर निर्माण गर्न लागेको वडा २३ का अध्यक्ष असलम देवानले जानकारी दिए ।
वडा नम्बर २३ मा रहेको ९ जना संक्रमितहरुमध्ये दुई जना कलैया आइसोलशनमा, दुई जना म्याग्नेश फर्मामा र बाँकी ५ जना अहिले होम आइसोलेसनमा छन् । होम आइसोलसनमा बसेकालाई प्राथमिकताका आभारमा दुई दिनभित्रै वडाको आइसोलेशनमा स्थानान्तरण गर्ने गरी काम अगाडी बढाइएको छ । वडामा दुई जना स्थानिय डाक्टरहरुकै सहयोगमा यस आइसोलेसन निर्माण हुन लागेको हो ।
डा. इल्ताब अन्सारी र डा.एमामुल मन्सुरी दुबै स्वयंसेवकको रुपमा सहयोग गर्न तयार भएपछि वडाले उत्साहजनक रुपमा आइसोलेसन निर्माण गर्न लागेको देवानले बताए । आइसोलेसन निर्माणका लागि वडाको बिपत ब्यवस्थापनको शिर्षकमा छुट्याइएको केही रकम र नगरपालिकाको समेत आर्थिक ब्यवस्थापनमा काम अगाडी बढेको छ ।







