सामान्य अर्थमा भन्नुपर्दा पञ्चमीलाई हिन्दू पञ्चांगअनुुसार पाँचौं तिथिको क्रममा पर्नेलाई पञ्चमी भनिन्छ । यसरी पञ्चमी एक तिथि अर्थात् एक महिनामा दुईवटा हुन्छ । पूर्णिमापश्चात् आउनेलाई कृष्णपक्षको पञ्चमी र अमावस्यापश्चात् आउनेलाई शुक्लपक्षको पञ्चमी भनिन्छ । यसरी वर्ष दिनभरिमा जम्मा जम्मी २४ वटा पञ्चमीहरू पर्छ । तर, यस वर्षको आउँदो असोज २ गतेदेखि असोज ३० गतेसम्म अधिकमास, मलमास या पुरुषोत्तम महिना परको कारणले गर्दा यस साल भने एक वर्षमा २६ वटा पञ्चमी परेको छ । यसर्थ, वर्षभरिमा आउने पञ्चमीमध्ये विशेष गरेर नागपञ्चमी, ऋषिपञ्चमी, विवाहपञ्चमी र वसन्तपञ्चमी महत्वपूर्ण मानिन्छन् । यसमा पनि ऋषिपञ्चमीको पनि आफ्नै किसिमको धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थान छ । यसको साथसाथै वैदिक सनातन हिन्दू संस्कारको वैज्ञानिक चाडपर्वमध्ये ऋषिपञ्चमी पनि एक हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापकर्म छन्, तीबाट मुक्ति पाउनका लागि यसको व्रत गर्दछन् ।
धार्मिक शास्त्रअनुसार पुराणलगायत अन्य पुराणमा लेखिएअनुसार देवराजा इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीको मासिक रक्तमा प्रवेश गराएकाले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन् । यसै रजस्वलाबाट नै नारीहरूमा सन्तानोत्पादन गर्न सक्ने शक्ति उत्पन्न भएको मानिन्छ । सम्पूर्ण मानवीय चक्रको सुरूवात नै नारीको मासिक रजस्वलाबाट सुरु हुन्छ । यस पर्वमा व्रतालु महिलाहरूले नदी, ताल, पोखरीलगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दात माँझेर, चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरुन्धती सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन् । ऋषिहरूको पूजा गर्दा विवाहित महिलाले अटल सौभाग्यका लागि सौभाग्य सूचक चुरा, धागो, सिन्दुर, पोते पनि चढाउँछन । सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरिएको छ ।
यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप एवं तीनै किसिमका दुःखबाट मुक्ति हुन्छ तथा सौभाग्यको अभिवृद्धि हुन्छ भन्ने मान्यता छ
पौराणिक प्रसँगअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड बेहोर्नुप¥यो । त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो अग्नि, नदी, पर्वत र स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा) । अतः मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुट्कारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ । उक्त पूजन क्रममा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, एवं वशिष्ठ तथा अरुन्धतीको पूजा गरिन्छ । स्त्रीहरूले आफ्नोे मासिक धर्मको प्रारम्भ भएको वर्षदेखि मासिक धर्म बन्द नहुन्जेल यो व्रत लिनुपर्ने उल्लेख छ । यद्यपि, व्रत लिन सुरु गरेपछि कम्तीमा सात वर्षसम्म लिनु अनिवार्य छ । सप्तर्षिको पूजाका क्रममा सातवटा कलशमा छुट्टाछुट्टै सात जना ऋषिको सुन वा चाँदीको प्रतिमा राखी प्रतिष्ठा गरिन्छ र अरुन्धतीलाई भने वशिष्ठसँगै स्थापना गरिन्छ । सातै जना ब्राह्मणद्वारा कार्य सम्पादन हुन्छ ।
अन्त्यमा निमन्त्रित ब्राह्मणमध्ये मुख्य आचार्यलाई वशिष्ठ र अरुन्धतीको कलश, प्रतिमा, वस्त्रालंकार र दक्षिणा एवं अन्य ब्राह्मणलाई बाँकी कलश, प्रतिमा, वस्त्रालंकार र दक्षिणासमेत राखी छुट्टछुट्टै सिधा (सिद्धात्र) प्रदान गर्नुपर्दछ । यदि एउटा मात्र कलशको स्थापना गरी सम्पूर्ण ऋषिको प्रतिमा राखिएको छ भने त्यो कलश मुख्य आचार्यलाई र अन्य ब्राह्मणलाई वस्त्रालंकार दान गर्नुपर्दछ । शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमीको व्रत गरिन्छ । प्रथमतः सबै वर्ण र व्यक्तिका निमित्त यो व्रत प्रतिपादित थियो । तर, हिजोआज अधिकांश नारीले मात्र यस व्रतलाई लिने प्रचलन छ । यस व्रतको प्रसँगलाई हेमाद्रिले ब्रह्माण्ड पुराणलाई उद्धृत गर्दै विशद विवरण उपस्थापन गरेको छ । व्यक्तिले नदी आदिमा स्नानादि सम्पत्र गरी आह्लिक कृत्यसमेत गरेपछि अग्निशालामा प्रवेश गरी सातै जना ऋषिको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपुर आदि लगाउनुपर्छ । पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवित, नैवेद्यादिद्वारा पूजा गर्नुपर्दछ र मन्त्रसहित अध्र्य दिनुपर्दछ । सप्तर्षिहरूको नाम र स्थानको क्रम पूर्वादिक्रमले निर्धारित छ । जस्तै ः मरीचि, वशिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह, ऋतु हुन् । साध्वी अरुन्धतीलाई वशिष्ठका नजिकै स्थापना गरिएको पाइन्छ । यस व्रतमा केवल सागपातको प्रयोग गर्ने विधान छ र ब्रह्मचार्यको पालन गर्न अनिवार्य मानिएको छ । यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप एवं तीनै किसिमका दुःखबाट मुक्ति हुन्छ तथा सौभाग्यको अभिवृद्धि हुन्छ । अझ नारीले यस व्रतलाई सम्पादन गर्दा उसले आनन्द, शारीरिक सौन्दर्य, सन्तति लाभ, सौभाग्य प्राप्ति तथा दाम्पत्य जीवनमा सुमधुरता प्राप्ति हुन्छ ।
ऋषिपञ्चमी व्रतको निर्णय गर्नुपर्दा भाद्र महिनाको शुक्लपक्षको जुन पञ्चमी तिथि मध्याह्न समयमा हुन्छ, त्यस दिन ऋषिपञ्चमी व्रत हुन्छ । पञ्चमी तिथि टुटेको रहेछ भने चतुर्थीयुक्त पञ्चमीलाई ग्राह्य मानिन्छ
समग्रमा भन्नुपर्दा नारीहरूलाई वर्ष दिनमा पर्ने सबैभन्दा कठिन र ठूलो व्रतको रूपमा तीज अर्थात् हरितालिका भनिने यो पर्वको हरितको अर्थ अपहरित र आलिकाको अर्थ साथी दुवै मिलाएर हरितालिका बन्न गएको हो । यो तीन दिनसम्म भव्य रूपमा मनाइन्छ । महादेवको मन्दिरमा जाने, शिवलिंगमा पूजाआराधाना गर्ने र पति तथा परिवारको सुस्वास्थ्य, दीर्घायुका साथै सुखसमृद्धिको कामना गर्ने गर्दछन् । यस दिन दिनभर गीत गाउने र नाच्ने गर्दछन् । यसपछिको तेस्रो महत्वपूर्ण दिनलाई ऋषिपञ्चमी भनिन्छ । यस दिन बिहान सबेरै नजिकको नदी, खोला पोखरी वा तलाउमा गई ३ सय ६५ वटा दत्तिवन चपाउने, तल्लो अंगमा माटोको लेपन लगाउने र नुहाइधुवाइ गरी शुद्ध भई देवालय, सार्वजनिक स्थल वा कसैको घरआँगनमा जम्मा भई पण्डित राखी सप्तर्षि–पत्नी अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ)को पूजा गर्ने गर्दछन् । यो पूजा गर्नाले रजस्वला भएको बेलामा कसैसँग छोइएको भए त्यो पापबाट मुक्त भइने विश्वास गरिन्छ ।
ऋषिपञ्चमी व्रतको निर्णय गर्नुपर्दा भाद्र महिनाको शुक्लपक्षको जुन पञ्चमी तिथि मध्याह्न समयमा हुन्छ, त्यस दिन ऋषिपञ्चमी व्रत हुन्छ । पञ्चमी तिथि टुटेको रहेछ भने चतुर्थीयुक्त पञ्चमीलाई ग्राह्य मानिन्छ । यद्यपि, यो निर्णय विवादरहितचाहिँ छैन । सम्भवतः सृष्टिकालको आरम्भमा ऋषिपञ्चमीको व्रत मानव मात्रबाट हुन सक्ने ब्रह्मइत्यादि समस्त पापराशिबाट मुक्तिप्राप्तिका निमित्त गर्नेगरी व्यवस्थित गरिएको थियो । तर, पछि यो स्त्रीहरूको मासिक धर्मसँग सम्बद्ध मानिन थाल्यो । यो व्रत भारतको सौराष्ट्र क्षेत्रबाहेक अन्यत्र बसोबास गर्ने समस्त सनातन धर्मावलम्बीहरूले पालना गर्दछन् । यसमा शास्त्रअनुसार रजस्वला भएर बिटुलिएका स्त्रीहरू पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघाती, तेस्रो दिन पवित्र धोबिनीसमान हुने गर्दछन् र चौथो दिन स्नानपश्चात् शुद्ध हुने गर्दछन् । घरव्यवहारमा शुद्ध मानिए पनि पाँचौं दिनमा मात्र देवकार्यका निम्ति र सातौं दिनमा पितृकार्यका निमित्त योग्य हुने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ ।






