बर्दिया । महिनादिन भन्दा बढी भयो ठाकुरबाबा–४ बर्गदाकी राजकुमारी थारुले रातमा एक झपक पनि ननिदाएको । साझ पर्नासाथ उनी बच्चालाई काख च्याप्छिन् अनि अगेनाको छेउँमा बसेर रात काट्छिन् । घर भित्र बसेपनि उनको ध्यान घर बाहिरै हुन्छ । कान चनाखो पारेर बस्छिन् । कतै निकुञ्जबाट हात्ती गाउँ पस्ने हो कि भनेर रातभर उनको मनमा त्रास भइरहन्छ । विहान भएपछि आजको रात त बाँचियो भन्दै बल्ल उनी ढुक्कको सास फेर्छिन् ।
यस्तो त्रासदीमा राजकुमारी मात्र छैनिन् । सिँगो गाउँ नै यतीखेर जंगली हात्तीको त्रासमा छ । निकुञ्जवाट निस्केको जंगली हात्तीले गाउँमा पसेर बालीनाली र घरगोठ सखाप पार्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बर्गदा गाउँबासीहरु हिजोआज हात्तीको डरले रातभर जाग्राम बस्न थालेका छन् ।
दिनहुँजसो गाउँमा हात्ती पसेर अतंकित भएका बर्गदा गाउका स्थानीयबासीहरु आफनो ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका हुन् । हात्ती भगाउन गाउँका युवायुवतीहरु हातमा लाठी लिएर, आगोको धुनी बालेर जाग्राम बस्ने गरेका छन । आफना परिवारका बुढाबुढी र केटाकेटीलाई उनीहरुले घर भन्दा टाढा अन्यत्र सुरक्षित स्थानमा राख्ने गरेका छन् ।
मात्तिएको एउटा जंगली हात्तीले विगत एकसातादेखी निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्गदा गाउँमा दिनहुजसो पस्ने गरेको स्थानीय टेकबहादुर भण्डारीले बताए । एक सातायता त्यो जंगली हात्तीले गाउँमा त्रास फैलाएको छ । धेरै किसानहरुको बालीनाली नष्ट पनि गरेको छ । त्यही हात्तीले बिहिबार राती सपना शाहको घर भत्कायो । संयोगवस घरमा कोही थिएन ।
हात्तीकै डरले त्यहीँ साझ सपनाले आफनी सासुलाई अन्यत्र लगेकी थिइन् । ‘धन्न त्यही साझ सासुमुमालाई अर्को घरमा लगेकी थिए । नत्र ठूलो दुर्घटना हुने रैछ,’ शाहले सुनाइन् । गाउँलले होहल्ला गरेर भगाउन प्रयास गर्दा समेत नभागेपछि निकुञ्जको सुरक्षामा रहेको सेनाले बन्दुक पड्काएपछि बल्ल त्यो हात्ती निकुञ्ज तिर छिरेको स्थानियले बताए । हात्ती भगाएपनि फेरी फर्केर आउँछकी भनेर गाउँलेहरु रातभर त्रासमा रहे ।

रात पर्नासाथ त्रासमा बस्नु गाउँलेहरुको दैनिकी भइसकेको छ । महिनौदेखि यो हात्तीले त्रसीत बनाएको छ । ‘हात्तीलाई गाउँ पस्नबाट रोक्न निकुञ्जमा कयौँ पटक अनुरोध गर्यौ । तर, निकुञ्जले पटक्कै सुन्दैन,’ बर्गदा गाउँकी पार्वती थापाले गुनासो सुनाइन् । हात्तीको डरले बर्गदा गाउँको दक्षिण पूर्व टोलका कुनै परिवार पनि रातमा घर बस्दैनन् । ‘ घर बस्यो भने हात्तीको त्रास रहि रहन्छ । त्यसैले साँझ पर्नासाथ घर छाडेर भाग्छौ,’ स्थानिय महादेव थारुले भने । उत्तरतर्फ निकुञ्ज र पूर्वतर्फ सामुदायिक वन भएकाले पनि यो गाउँ वन्यजन्तुको बढी जोखिममा छ ।
यो टोलका अधिकांश किसानले हिउँदेबाली पनि लगाएका छैनन् । वर्षेनी यसरीनै हात्तीले बाली नष्ट गर्ने भएकाले खेत बाँझै राख्नु परेको किसान टेटराम थारुले बताए । ‘खेती लगायो, हात्तीले सखाप पार्छ । क्षतीपूर्ती माग्न जाँदा ३० कुन्टल फल्ने बालीको १ कुन्टल मात्र क्षतिपूर्ती पाइन्छ । अनि कसरी खेती गर्ने,’ बर्गदा गाउँका किसान टेटराम थारुले प्रश्न गरे ।
‘दिनहुँजसो हात्ती गाउँ पस्छ । बालीनाली त परै जावस ज्यान जोगाउनै गाहे भैसक्यो, स्थानिय लालसरा सावदले दुखेसो सुनाइन् । निकुञ्जले हात्ती नियन्त्रण गर्न नसकेको भन्दै स्थानिय आक्रोशित भएका छन् । मध्यवर्ती क्षेत्रमा निकुञ्जले लाखौँ रुपैँया खर्च गरेको भनेपनि आफुहरुलाई निकुञ्जले पिडा मात्र दिएको गाउँलेको आरोप छ । ‘लाखौँ रुपैयाँ मध्यवर्ती क्षेत्रमा आउँछ । तर खै त्यो कहाँ जान्छ । सुरक्षित र ढुक्क भएर आफनो घरमा सुत्न पनि पाइदैन,’ स्थानिय जीवराज बैद्यले आक्रोश पोख्दै भने, ‘निकुञ्जले वन्यजन्तुलाई नियन्त्रण गर्न सक्दैन भने हामीलाई सुरक्षित स्थानमा लैजावस् । हामी यो ठाउँ छाडिदिन्छौँ ।’
निकुञ्ज आसपासका गाउँमा बर्षेनी जंगली हात्तीले ठूलो जनधनको क्षति गर्दै आएको भएपनी निकुञ्जले जंगली जनावरबाट हुने क्षति रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ । वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्न निकुञ्जको सीमा क्षेत्रमा पक्की पर्खाल लगाउनु पर्ने स्थानियबासीको माग छ । ‘विद्युतीय तरबार प्रभावकारी भएन । अब सिमेन्ट पर्खाल नै लगाउनु पर्छ,’ स्थानिय गगनसिँह भण्डारीले भने । यसका साथै सधै गाउँ पसेर आतंक मच्चाउने हात्तीलाई डार्ट गरेर अन्यत्र स्थानान्तरण गरे मात्र आफुहरु सुरक्षित हुने स्थानियको भनाई छ ।
‘हामी धेरै कुरा माग्दैनौँ, पहिलो गाउँमा आतंक मच्चाउने हात्तीलाई डार्ट गरेर यहाँबाट लैजानु पर्छ । अनि सीमा क्षेत्रमा पक्की पर्खाल लगाउनु पर्छ । यही नै हाम्रो माग हो । यो सुनुवाई नभए हामी गाउँले आन्दोलन गर्न बाध्य हुनेछौ,’ स्थानिय विर्खबहादुर सावदले आक्रोश व्यक्त गर्दै भने ।
गाउँ पसेर आतंक मच्याउने हात्ती डार्ट गरेर अन्यत्र लैजानका लागि आफुले निकुञ्जमा पहल गरिरहेको निकुञ्ज मध्यवर्ती क्षेत्र बबई उपभोक्ता समितिका अध्यक्ष चक्र खनालले बताए ।
तस्बिर ः सुदीप अधिकारी
बुधबार हात्तीले भत्काएको घर