स्टुटगार्ट । इन्ज्युरी समयको थप गरिएको छैटांै मिनेटमा जोसे गायाले गोल गरेपछि स्पेन यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा जर्मनीसँगको हारबाट जोगिएको छ । स्टुटगार्टमा बिहीबार राति भएको खेलमा गायाले गोल र गोलरक्षक डेभिड हे गेयाको उच्च प्रदर्शन गरेपछि जर्मनीसँग १–१ गोलको बराबरी रोक्दै स्पेनलाई हारबाट जोगाएका हुन् ।
जर्मनी भने अन्तिम एक मिनेट सम्हालिन नसक्दा जितबाट वञ्चित बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको १८औं मिनेटमा स्पेनका गोलरक्षक डेविड डे गेयाले उत्कृष्ट बचाउ गरे पनि जर्मनीलाई अग्रता लिनबाट चुकेको थियो । लेरोय सानेको शक्तिशाली प्रहारलाई डाइभ दिँदै एक हातले बललाई पञ्च गर्दै बाहिर पठाएका थिए । त्यसको ५ मिनेटपछि स्पेनले पनि अग्रता लिने अवसर गुमायो ।
लिड्स युनाइटेडले यसैसाता अनुबन्ध गरेका फरवार्ड रोड्रिगोले पेनाल्टी क्षेत्रबाहिर गोलरक्षक बिट भएको अवस्थामा प्रहार गर्न नसक्दा स्पेन अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा फ्रिकिकमा आएको रिबाउन्डलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका सर्जियो बुस्केट्सको प्रहार सिधै जर्मन गोलरक्षक केभिन ट्रयापले सहजै नियन्त्रणमा लिए । २९औं मिनेटमा स्पेनिस टोलीका लागि डेब्यु गरिरहेका मिडफिल्डर फेरान टोरेसको प्रहार अकासियो । ३६औं मिनेटमा सिटीका नयाँ खेलाडी फेरानले नै अर्को अवसर सिर्जना गरे पनि रोड्रिगोको प्रहारले पोस्टको दिशा लिन सकेन । पहिलो हाफको अन्तिम मिनेटमा रोड्रिगोको अर्को प्रहार गोलरक्षक ट्रयापले विफल पारे । ५१औं मिनेटमा जर्मनीले यसै सिजन चेल्सीमा पुगेका वेर्नरको गोलमा अग्रता लियो ।
डेब्यु गरिरहेका रोबिन गोसेन्सको लो क्रसलाई वेर्नरले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक डे गेयाले बचाउने कुनै अवसर पाएनन् । ६२औं मिनेटमा सानेको लो क्रसमा वेर्नरको प्रहार पोस्टभन्दा थोरैले बाहिरिदा जर्मनीले अग्रता दोब्बर पार्ने अवसर सदुपयोग गर्न सकेन । ७८औं मिनेटमा गोलरक्षक डे गेया पुनः बाधक बने । क्रुसको फ्रिकिक प्रहारमा निकलस सुलको हेडरलाई डे गेयाले पन्च गर्दै विफल पारे । ८५औं मिनेटमा यही खेलमार्फत स्पेनका लागि डेब्यु गरेका १७ वर्षीय फरवार्ड अन्सु फातीको मुभलाई मथिअस गिन्टरले क्लियर गर्दै खतरा टारे ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा स्पेनले गोल गरे पनि रेफ्रीले फल भएको भन्दै मान्यता दिएनन् । फेरानको फ्रिकिक क्रसमा अन्सु फातीको हेडर गोलमा परिणत भए पनि उक्त मुभको क्रममा रामोसले गिन्टरलाई फल गरेका थिए । इन्ज्युरी समयको छैटौं मिनेटमा स्पेनले बराबर गोल फर्कायो । फेरान टोरेसको क्रसमा पेनाल्टी क्षेत्रभित्र रोड्रिगोको हेडरलाई जोसे गायाले गोलको दिशा दिँदै खेललाई बराबरीमा ल्याउँदै स्पेनलाई हारबाट जोगाए ।
यही समूह ग्रुप ‘ए’–४ को अर्काे खेलमा युक्रेनले स्विट्जरल्यान्डमाथि २–१ को जित निकालेको छ । युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को र ओलेक्सन्डर जिनचेन्कोले गोल गरे । स्विट्जरल्यान्डका हरिस सेफेरोभिकले एक गोल फर्काए । यस्तै, अर्काे खेलमा रसियाले सर्वियामाथि ३–१ को सहज जित हात पारेको छ । रसियाको जितमा कप्तान अर्टिम ज्युवाले दुई तथा काराभाइवले एक गोल थपे ।
सर्वियाका एलेक्सान्डर मिट्रोभिकले एक गोल फर्काए । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा सबै चार गोल सम्भव भएको थियो । यही समूहको अर्काे खेलमा हंगेरीले टर्कीमाथि १–० को झिनो जित निकालेको छ । हंगेरीको जितमा खेल सकिन १० मिनेट बाँकी रहँदा डोमिनिकिले गरेको गोल नै निर्णायक बन्यो । अब रसियाले हंगेरीसँग तथा सर्वियाले टर्कीसँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ ।






