कोरोना महामारी र शव अन्त्येष्टि विवाद

विश्वभर कोरोनाबाट पौने ३ करोड संक्रमित भइसकेका छन् । पौने २ करोड निको भएका तथा पौने ९ लाखको मृत्यु भइसकेको छ । नेपालमा करिब ४५ हजार व्यक्ति संक्रमित हुँदा २५ हजार निको भएका छन् । पौने ३ सयको मृत्यु भइसकेको छ ।

कोभिड–१९ संक्रमणको म्यासिभ आउटब्रेक भएमा कुल जनसंख्याको ८० प्रतिशत संक्रमणमा पर्ने र ३ प्रतिशत बिरामी आईसीयूमा जाने आँकलन छ । हाल ४० हजार बढी भएको संक्रमितको संख्या दसैंतिहारसम्म १ लाख नाघ्ने देखिन्छ । देशका विभिन्न भागमा कोभिडको संक्रमणको चरण पनि फरफरक छ । सोही कारण त्यहाँ मृत्युदर बढ्न थालेको छ । कुनै पनि स्थानीय तह, पेसा, निकाय, आयोगमा कोभिड–१९ संक्रमित नभएको छैन । संख्यामा घटीबढी होला ।

लामो समय ९९.७ प्रतिशत लक्षणविहीन संक्रमित छन् भन्दाभन्दै पछिल्लो समय देशभर ६ प्रतिशत बढी र उपत्यकामा करिब २० प्रतिशत र वीरगन्ज, राजविराज क्षेत्रमा ५० प्रतिशतमा लक्षण देखिने गरेको छ । मुख्य रूपमा सुक्खा खोकी, ज्वरो, सास फेर्न कठिन र केहीमा स्वाद र गन्धमा थाहा नहुने, पखाला, छाती, घाटी तथा जिउ दुख्नेछन् । ज्वरो आएको साता दिनमै श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । लक्षण भएका संक्रमित बढ्दै जाँदा भाइरसले फोक्सो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने भएकाले एक चौथाइलाई अक्सिजन दिनुपरिरहेको उपचारमा संलग्न अस्पताल बताउँछन् । मृत्युदरको जोखिम कम गर्न अक्सिजन थेरापीमा मुख्य ध्यान दिन जरुरी छ ।

सरकार अघिअघि कोरोना पछिपछि हुनुपर्नेमा ठीक उल्टो कोरोना अघिअघि सरकार पछिपछि भइरहेको छ

भेन्टिलेटरमा गइसकेपछि फर्काउन गाह्रो हुने भएकाले सबैभन्दा धेरै चाहिने अक्सिजन हो । बुढापाका, दीर्घरोगीमा मात्र नभई स्वस्थ र जवान संक्रमितलाई पनि अक्सिजन जरुरत परिरहेको छ । ४० वर्षमाथिमा धेरै र ६० वर्षमाथिमा अनिवार्य भएको छ अक्सिजन थेरापी । कोभिड–१९ मा मृत्युको प्रमुख कारक अक्सिजनको कमी हाइपोक्सिया छ । हरेक स्वास्थ्य र आइसोलेसन केन्द्रमा अक्सिजन पर्याप्त उपलब्ध गराउन र घरमा बस्नेले पनि पल्स अक्सिमेट्रीबाट नाप्ने र ९३ प्रतिशतभन्दा कम भए तुरुन्त खबर गर्न भन्नुपर्छ ।

विकसित देश बढी उमेर समूहका व्यक्तिलाई पनि बचाउन सफल भएका छन् भने नेपाल स्रोतसाधनको कमीका कारण बचाउन सकिने उमेर समूह पनि जोखिममा पर्ने खतरा छ । हालसम्म करिब ३२ प्रतिशत मृत्यु कोरोनाजन्य जटिलताका कारण भएको देखिन्छ भने अन्य रोगसँगै भएको निमोनियाले १७ प्रतिशत । कोभिड–१९ को जटिलतासँगै क्रमशः उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या, मुटुरोग, निमोनिया र हाइपोथाइरोडिज्म छन् ।

सबैभन्दा बढी ज्यान गुमाउने समूह ४१ देखि ६० वर्षको करिब ४५ प्रतिशत छ । विश्वमा जस्तै नेपालमा पनि कुल मृत्युदर ०.५ प्रतिशतबाट उकालो लाग्दै ०.९५ पुगेको छ । सामाजिक व्यवहार र अन्र्तक्रियामा युवाको सहभागिता धेरै भएकाले संक्रमित पनि युवा नै छन् । नेपालमा अहिले सरकार अघिअघि कोरोना पछिपछि हुनपर्नेमा ठीक उल्टो कोरोना अघिअघि सरकार पछिपछि प्रतिकार्यका रूपमा भइरहेको छ । महिलामा २१.४० प्रतिशत संक्रमण तथा एक चौथाइ मृत्यु देखिइरहेकाले संक्रमण समुदाय उन्मुख छ ।

विश्व स्वास्थ्य संगठनलगायतका संस्था तथा सबै देशले कोरोना पीडितहरूको शवको व्यवस्थापन कसरी गर्ने भनी विभिन्न निर्देशिका तथा प्रोटोकल बनाई लागू गरेको पनि धेरै महिना व्यतित भइसक्यो । तर, जनमानसमा विशेषतः नेपालीमा त्यस’bout प्रशिक्षण, सूचनाको सरल प्रवाह नगरिएकाले अनेकन भ्रम तथा शंका उब्जिरहेका छन् । जसका कारण शव व्यवस्थापनमा अनावश्यक जटिलता हुन गई मानव शरीरले मृत्युपछि पाउनुपर्ने न्यूनतम संस्कारमा समेत ठूलो विचलन देखिएको छ ।

कुनै पनि सभ्य समाजको ठूलो मापक त्यस समाजको नागरिकलाई मरेपछि गरिने व्यवहार हो भन्ने विश्वव्यापी मान्यता छ । तापनि कोरोना कालमा मानवसभ्यता जनावरहरूको संस्कारभन्दा पनि पछाडि फर्कंदै त छैन भन्ने सोच्न बाध्य बनाएको छ ।

शवबाट संक्रमण रेडिएसनझैं फैलने र बमजस्तै विस्फोट हुने डर सबैमा छ । शव जलाउँदा हजारांै डिग्री तापक्रम र शरीर खरानी हुन्छ, जसले सबै ब्याक्टेरिया, भाइरस पूर्ण रूपमा नष्ट भई मर्छन् । पानी उम्लदा नष्ट हुने भाइरस खरानीमा रहने नभएकाले अस्तु संकलन गर्दा सर्दैन तथा जमिनमा ५÷६ फिट तल गाडिएको शवबाट भाइरस बाहिरी वातावरणमा पनि नआउने भएकाले स्थानको विवाद अर्नगल हो । मृत्युपछि तत्काल अन्तिम संस्कारमा लाग्नु धेरैजसो धर्म तथा संस्कारको मान्यता हो । जिल्ला कोभिड व्यवस्थापन समिति संलग्नताका कारण केही ढिलाइ सामान्य भए पनि मृत्युजस्तो संवेदनशील अवस्थामा कुनै प्रशासकीय वा कागजी झमेला नगरी कागजात र मानवीय संसाधनको तुरुन्त व्यवस्था गरी शव व्यवस्थापन हुनुपर्छ ।

संलग्न मानवीय संसाधनलाई उचित प्रशिक्षणको अभावले आफ्नो दायित्वबाट हच्केका छन् । आफंै अगाडि आउने स्वयंसेवकलाई सहभागी गराई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराई तथा अन्य तरिकाबाट प्रोत्साहित गर्नुपर्छ । सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडिएको मृत्युपछिको अन्तिम संस्कार’bout कोभिडले गर्दा अगति पर्ने सांस्कृतिक आंतक पैदा भएको छ ।

शव व्यवस्थापनमा सुरक्षाका लागि मृत्यु जहाँसुकै भए पनि शंकास्पद वा यकिन दुवै अवस्थाका शवको यथाशक्य चाँडो अन्त्येष्टि गर्ने, परम्परागत स्थानमै प्रचलित विधिअनुसार दाहसंस्कार वा समाधिस्थ गर्ने, शवलाई उठाउँदा, घाट लैजादा, चितामा राख्दा वा गाड्ने तयारी गर्दा गर्नुपर्ने प्रक्रियामा विशेष सावधानी अपनाउने, धेरै मलामी जम्मा नहुने, भौतिक तथा सामाजिक दूरी पालना गरी अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्दे एक÷दुई दर्जन मानिस भई अन्त्येष्टि गर्ने, वृद्धवृद्धा, केटाकेटी तथा अन्य शारिरीक रोगका कारण कमजोर स्वास्थ्य भएका व्यक्ति अन्त्येष्टिमा सहभागी नहुने गर्नुपर्छ ।

साथै, अन्तिम सस्कारको प्रक्रियामा मुखमा पानी चुहाइदिने, ढोग्ने, अँगालो हाल्ने, मिचीमिची धुने र नुहाउनेजस्ता प्रक्रिया नगर्ने, एक मिटर बढीको दूरीबाट हेर्दा, जल छर्कदा, नमस्कार गर्दा र फूल चढाउँदा जोखिम हुँदैन । शवसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिले हरेक चरणमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, शववाहनका चालकले मास्क, पन्जा लगाएर मात्र गाडी चलाएमा पनि रोग सर्ने सम्भावना छैन । शवसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूले अन्त्येष्टि सकिएपछि बाहिरी सबै कपडा, जुत्ता, टोपी आदि डिस्पोजेबल भए सुरक्षित स्थानमा संकलन गर्ने र त्यसको उचित उपचार गरी थन्काउने वा जलाउने तथा पुनः प्रयोग गर्नुपर्ने भए १ प्रतिशत क्लोरिन झोलले निर्मलीकरण गरी धुने, पखाल्ने र घाममा सुकाउने गर्नु अनिवार्य हुन्छ ।

अन्य कुराम शव नछुने मलामीले अरू समयमा जस्तै लगाएका कपडा धुने र नुहाइधुवाइ गरेमा पर्याप्त हुन्छ । उल्लिखित तथ्य तथा कार्य मृतकका परिवारका सदस्यले गर्न सधैं र सबै सक्षम नहुने भएकाले जिल्लास्थित कोरोना व्यवस्थापन समितिले विशेष प्रशिक्षण दिएका व्यक्तिको टोलीबाट शवको व्यवस्थापन गर्न भनिएको हो । अरू कसैले हेर्न र मलामी जान बर्जित गरिएको हैन र छैन । सामान्य अवस्थाको अन्त्येष्टिभन्दा कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिमा फरक भनेको केवल सावधानी मात्र हो, जुन जीवित व्यक्तिसँग पनि हामीले हर समय र हर स्थानमा अपनाइरहेका छौं । स्मरण रहोस्, कोभिड सर्ने खतरा शवबाट भन्दा जिउँदा व्यक्ति र बिरामीबाट धेरै गुणा बढी हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख रूपैयाँ