उदयपुर । ७० औं प्रजातन्त्र दिवसको अबसर पारेर उदयपुरका ४ कैदीलाई राष्ट्रपतिले कारागारमुक्त गरेकी छन् । बिभिन्न अपराधमा संलग्न भएको आरोप प्रमाणित भई ५० प्रतिशत सजाय भुक्तान गरि सकेका कैदीहरुलाई बाँकी कैद मिनाहा गरी रिहा गरिएको हो ।
कारागारमुक्त हुनेहरुमा भोजपुर दुङमाना–४ का ३० वर्षीय विकास मगर, साविक लेखगाउँ गाविस–७ भई हाल ताप्ली गाउँपालिका– २ लेखगाउँ उदयपुरका २९ वर्षीय दिपक भन्ने लिलबहादुर राई, साविक रिस्कु–२ भई हाल कटारी नगरपालिका– ६ उदयपुरका २५ वर्षीय विक्रम राई र त्रियुगा नगरपालिका–७ का राजेश विक रहेका छन् ।
कारागार प्रशासनका कर्मचारी उमेशमणि पोखरेलका अनुसार मगर र राईद्वयलाई ५÷५ वर्ष र विकलाई २ वर्षको कैद सजायको फैसला अदालतले सुनाएको थियो ।
मगर ज्यान मारेको अभियोगमा ०७३ चैत १२ गतेको फैसला अनुसार ५ वर्षका लागि कारागार चलान भएका थिए भने ज्यान मुद्दामै लिलबहादुरलाई ०७४ वैशाख १२ गते र विक्रमलाई ०७३ पुस ४ गते ५ वर्षको जेल सजायको फैसला अदालतले सुनाएको थियो । चोरी अभियोगमा थुनामा परेका विकलाई अदालतले ०७५ कात्तिक ३० गते २ वर्षको कैद सजायको फैसला सुनाए अनुसार उनीहरु कैद भुक्तान गरिरहेको पोखरेलले बताए ।
कारागार प्रमुख कुमारबहादुर खड्काले जवरजस्ती करणी, लागु औषध लगायत दर्जन अपराधमा संलग्न बाहेकका कैदीलाई ५० प्रतिशत सजाय भुक्तानी गरि सकेपछि बाँकी कैद मिनाहा गर्ने कानुन अनुसार उनीहरु छुटेको बताए ।
आचरण राम्रो भएका, इमान्दार र कारागारले तोकेका नियम कानुनको परिधिभित्र रहने कैदीहरु विशेष चाडपर्व तथा दिबस जस्ता अबसर पारेर राष्ट्रपतिले कैद मिनाहा गर्नसक्ने प्रावधान अनुसार उनीहरु छुटेको जेलर खड्काले बताए ।
यसैबीच उदयपुरमा प्रजातन्त्र दिवस बिबिध कार्यक्रमका साथ मनाइदै छ । तत्कालीन जहानीया राणा शासनविरुद्धको आन्दोलन सफल भएर फागुन ७ गते प्रजातन्त्र प्राप्त भएको स्मरणमा फागुन ६, ७ र ८ गते ३ दिन बिबिध कार्यक्रमका साथ मनाउने निर्णय भए अनुसार जिल्लाभर कार्यक्रम गरी दिवस मनाइएको हो । दिबसको अबसरमा सरसफाई, दिपावली, वक्तृत्वकला, निबन्ध, प्रभातफेरी ¥याली लगायत कार्यक्रम सञ्चालन भईरहेको मूल समारोह समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियारले बताए ।
दिबसको अबसर पारेर उदयपुरको नेपालटारमा कृषि मेला प्रदर्शनी आयोजना गरिएको छ भने बिभिन्न नगरपालिका तथा गाउँपालिकाहरुले अन्तरक्रिया, खेलकुद, सरसफाई, विरामीलाई फलफूल वितरण तथा कोणसभाको आयोजना गरिरहेको आयोजक समितिले जनाएको छ ।