नेकपा स्थायी कमिटी बैठक लामो नहुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको एजेण्डाको बिषयमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा बुधबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भोली (शुक्रबार) बस्ने स्थायी कमिटी बैठक लामो समयसम्म नगर्ने सहमती समेत दुई अध्यक्षका बीचमा भएको छ । बैठकका एजेण्डाका बिषयमा छलफल गर्दै कोरोना भाइरसको संक्रमणका कारण छिटै सकिने बालुवाटार स्रोतले जनाएको छ ।

बिहिबारसम्ममा बैठकका एजेण्डा स्थायी कमिटी सदस्यहरुलाई पठाईसक्ने बताईएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा महासचिव बिष्णु पौडेलले गत सोमबार छलफल गर्दै अनिश्चित बनेको बैठक बोलाउँने निर्णयमा पुगेका थिए ।

१० आसार देखी जारी स्थायी कमिटी बैठक १३ साउनदेखी अनिश्चित बनेको थियो । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेपछि बैठक अनिश्चित बनेको हो । तर यसै बीचमा महासचिव पौडेल नेतृत्वमा गठन भएको ‘समस्या समाधान सुझाव कार्यदल’ ले सहमतीको प्रस्ताव सहितको प्रतिवेदन बुझाएपछि बैठक बस्न लागेको छ ।

बैठकमा सोही प्रतिवेदनमा केन्द्रीत भई छलफल हुने बताईएको छ । यधपी वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारी बिषयमा प्रतिवेदन मौन छ । यस बिषयमा प्रतिवेदन मौन भएपछि नेता नेपालले सचिवालय बैठकमा आफ्ना सुझवहरु पेश गरिसकेका छन् ।

महासचिव पौडेल नेतृत्वमा गठन भएको कार्यदलमा भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल सदस्य थिए । यो कार्यदलले ६ भदौमा आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा अध्यक्ष ओलीले यो प्रतिनिधिसभाको अवधिसम्म प्रधानमन्त्रीको रुपमा सरकार र दाहालले पार्टी सञ्चालन गर्ने गरी कार्यविभाजन गरेको छ । अगामी एकता महाधिवबेशन केन्द्रीय कमिटीले निर्णय गरे अनुसार आउँदो चैत महिनाको अन्तिम साता सहमतीकै आधारमा गर्ने प्रस्ताव आएको छ । यस्तै संघीय र प्रदेश सरकार पुनर्गठन गर्ने सुझाव समेत कार्यदलले दिएको छ ।

(Visited 92 times, 1 visits today)