ब्युनर्स आयर्स । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई लागेको एक खेलको प्रतिबन्ध फुकुवा भएको छ । गत वर्ष जुलाईमा भएको कोपा अमेरिका कपको दौरान मेस्सीलाई दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था (कन्मेबल)ले कारबाही गरेको थियो ।
तेस्रो स्थानको खेलमा चिलीविरुद्ध खेल्दा मेस्सी र मिडफिल्डर ग्यारी मेडेलबीच वादविवाद हुँदा रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए । मेस्सीले आफूलाई देखाएको रातो कार्डको निर्णयविरुद्ध प्रतियोगिता ब्राजिललाई जिताउने हेतुले नै आयोजना गरेको आरोप लगाएका थिए । उक्त प्रतियोगिताको फाइनलमा घरेलु टोली ब्राजिलले पेरुलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो । निकै आक्रोशित देखिएका मेस्सीको उक्त अभिव्यक्तिलाई कन्मेबलले निकै गम्भीर रूपमा लिएको जनाएको थियो ।
मेस्सीलाई कन्मेबलले एक प्रतिस्पर्धात्मक खेलमा प्रतिबन्धको घोषणा गरेको थियो । गत वर्ष नै अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दा पनि मेस्सी उक्त खेलका लागि योग्य थिए । तर, कोरोना भाइरसका कारण २०२० मा कुनै अन्तर्राष्ट्रिय खेल हुन नसक्दा मेस्सीले प्रतिबन्ध भोग्ने खेल आयोजना नै हुन सकेन । अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापिआले मेस्सीको प्रतिबन्धविरुद्ध अपिल गर्दै विश्वकप छनोटको इक्वेडर र बोलिभियाविरुद्ध खेलमा मेस्सी खेल्न पाउनुपर्ने माग गरेका थिए ।
उनले प्रतिबन्धको हद पार भइसकेको जनाउँदै मेस्सीले खेल्न पाउनुपर्ने दाबी गरेका थिए । कन्मेबलले उक्त अपिलको अध्ययन गर्दै मेस्सीको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएको छ । प्रतिबन्ध फुकुवा भएसँगै मेस्सीले अर्को महिना विश्वकप छनोटअन्तर्गत हुने खेल खेल्न पाउने भएका छन् । २००५ देखि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा रहेका मेस्सीले ९१ क्याप जित्दै ७० अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनकै समकालीन पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक साताअघि शतकीय गोल (१०१) अन्तर्राष्ट्रिय गोल गरेका छन् ।






