काठमाडौं । कोरोना भाइरस महामारीबीच फ्रन्टलाइनमा खटिएका अधिकांश नर्सलाई सरकारी तथा निजी अस्पतालले बेवास्ता गरेको पाइएको छ । केही सरकारी अस्पतालले समयमा तलबसमेत दिएका छैनन् भने निजीले जबर्जस्ती जागिरबाट निकालिरहेको पाइएको हो ।
सरकारले हरेक अस्पतालले आफ्नो स्वीकृत बेड संख्याको २० प्रतिशत कोभिड–१९ बिरामी र गत शनिबार हरेक मेडिकल कलेजले ३३ प्रतिशत आइसोलेसन बेड छुट्याउनुपर्ने निर्णय गरेको छ । जसकारण संक्रमण नदेखिएका विरामी नीजि अस्पतालमा आउनेक्रम घट्दै जाँदा खर्च नउठेको भन्दै नर्सलाई तलब नदिएको पाइएको छ ।
नेपाल नर्सिङ संघका अनुसार काठमाडौंमा मात्रै कोभिड–१९ महामारीबीच सयभन्दा बढी नर्सको रोजगारी खोसिएको छ । संघ उपाध्यक्ष मिना खड्काले निजी अस्पतालले करारका नर्सलाई जागिरबाट निस्कासन गर्ने गरेको बताइन् । ‘केही अस्पतालले जबर्जस्ती बिदामा बस्न आग्रह गरेको पाइएको छ,’ उनले भनिन्, ‘केहीले खर्च धान्न नसकिने भन्दैमा विदामा बस्न आग्रह गरेका छन् । संघमा उजुरी आउनेक्रमसमेत सुरु भएको छ ।’
नेपालमा कोरोना संक्रमित संख्या ५८ हजार ३ सय २७ पुगेको छ । बुधबार १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
निजी अस्पतालका अधिकांश नर्सले समयमै तलबसमेत नपाएको गुनासो गरेका छन् । पीपीईबिना काम गरिरहेको, तलब आधामात्रै पाएको, अस्पतालले ड्युटी समय काम गरेमात्रै तलब उपलब्ध गराएको उनीहरूले बताएका छन् ।
सरकारी, नीजि, गैरसकारी अस्पतालमा नर्सको करार, बेतलबी बिदा र तलब सुविधा कट्टा, बिमा सुविधालगायतका समस्या समाधानतर्फ सरकार गम्भीर हुनुपर्ने नर्सिङ संघको माग छ ।
भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स डिकी शेर्पा महामारीमा दिनरात नभनी सेवा गरिरहेको बताउ“छिन् । ‘सरकारले कम्तीमा उचित सम्मान र प्रोत्साहन त गर्न सक्छ नि ?’ उनी भन्छिन् ।
नेपाल नर्सिङ काउन्सिलका अनुसार देशभर ९५ हजार ३ सय ८४ नर्स दर्ता छन् । उनीहरूले न्यूनतम तलबमा काम गर्दासमेत सरकारले प्रोत्साहन गरेको पाइएको छैन । केही नीजि अस्पतालमा कार्यरत नर्स सरकारले तोकेभन्दा अत्यन्त कम तलबमा काम गर्न बाध्य छन् ।
यसैबीच, नेपालमा कोरोना संक्रमित संख्या ५८ हजार ३ सय २७ पुगेको छ । बुधबार १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुलमध्ये १६ हजार २ सय ४२ सक्रिय संक्रमित छन् । कोरोना आशंकामा गत २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ ।
देशभर हाल ७ हजार ८ सय २० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा ७ सय ३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ ।
उपत्यकामा कोराना संक्रमित संख्या १३ हजार ६ सय ६१ पुगेको छ । काठमाडौंमा ११ हजार २ सय ३५, ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमित पुगेका छन् ।