नियोन । आधुनिक फुटबलका हस्तीद्वय क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र इटालियन क्लब युभेन्ट्सका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यूईएफए च्याम्पियन्स लिगको ‘फरवार्ड अफ दि सिजन’ अवार्डको मनोनयनमा पर्न असफल भएका छन् ।
मेस्सी र रोनाल्डो उनीहरूको उदयपछि पहिलोपटक यूईएफएको पोजिसन स्तरीय अवार्डमा पर्न असफल भएका हुन् । अवार्डको चार विधामध्ये च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखका सबैभन्दा धेरै सात खेलाडी मनोनयनमा परेका छन् । यस्तै च्यापिम्पयनस लिग उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट तीन खेलाडी मनोनयनमा परेका छन् । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका एक र इंग्लिस क्लब म्यानचेस्टर सिटीका एक खेलाडी मनोनयनमा परेका छन् ।
अघिल्लो सिजनका ३२ क्लबका प्रशिक्षक र ५५ जना खेल पत्रकारले चार विधाबाट हरेक खेलाडीलाई ५, ३ र १ अंक प्रदान गर्नुपर्नेछ । प्रशिक्षकले आफ्नै टोलीका खेलाडीलाई बढी अंक दिन पाइनेछैन । अवार्ड विजेताको घोषणा च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिने कार्यक्रममा हुनेछ । जुन अक्टोबर १ मा स्विट्जरल्यान्डको न्योनमा हुनेछ ।
सोही दिन नै यूईएफएले यूईएफए पुरुष वर्ष खेलाडी र यूईएफए वर्ष महिला खेलाडी घोषणा गर्नेछ । गत सिजन च्याम्पियन बनेका इंग्लिस क्लब लिभरपुलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक, लिभरपुलकै भर्जिल भान डाइक उत्कृष्ट डिफेन्डर, आयाक्स तथा बार्सिलोनाका फ्रान्की डि जोङ उत्कृष्ट मिडफिल्डर बार्सिलोनाकै लियोनेल मेस्सी उत्कृष्ट फरवार्ड चुनिएका थिए ।
मनोनयनमा परेका खेलाडी
गोलरक्षक–केलर नाभास (पीएसजी), म्यानुयल नोयर (बायर्न) र जान ओब्लाक (एट्लेटिको म्याड्रिड)
डिफेन्डर – डेभिड अलावा (बायर्न), अलफन्सो डाभिस (बायर्न) र जोसुवा किम्मिच (बायर्न)
मिडफिल्डर – केभिड डि ब्रुयन (म्यानचेस्टर सिटी), थोमस मुलर (बायर्न) र थियागो अलकान्तरा (बायर्न)
फरवार्ड – रोवर्ट लेवान्डोस्की (बायर्न), केलियन एमबाप्पे (पीएसजी) र नेयमार (पीएसजी)






