काका भन्छन्– यदि म प्रधानमन्त्री भएको भए

काका देशका सचेत, शिक्षित, दीक्षित एवं प्रशिक्षित नागरिक हुन् । उनले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । विश्वविद्यालयबाट मास्टर्स गरेपछि बेरोजगारीको तनाव विसर्जन गर्नका लागि दुई तीन-वर्ष युरोपतिर बरालिएर स्वदेश फर्किएका व्यक्ति हुन् उनी । युरोपको बसाइमा उनी कुनै दिन पनि खुसी हुन सकेनछन् । उनले युरोपले गरेको विकास र सुशासनलाई नेपालसँग तुलना गर्दा त्यहाँको विकास उनलाई नवांै आश्चर्यजस्तो लाग्थ्यो रे । न्युजिल्यान्डका खेतका फाँटहरूमा गरिने आधुनिक कृषि उत्पादन र अत्याधुनिक पशुपालनका फर्महरूमा घुम्दा आप्mनो गाउँका खेतका फाँट र गोठहरू सम्झन्थे रे उनले ।

यसैगरी युरोपमा पहाड खोलेर बनाइएका फराकिला राजमार्गबाट (टनेल) रेलको यात्रा गर्दा नेपालका नागबेली साँघुरा बाटा र पहाडको सम्झना आउँथ्यो रे । त्यहाँका सफा नदीहरू देख्दा बाग्मती नदी दृश्य उनको वरिपरि घुम्थ्यो रे । कर्मी मौरीजस्ता त्यहाँका मिहिनेति मानिस देख्दा खेत, खला, चिया, चौतारीमा राजनीतिक गफ चुट्ने नेपाली र वैदेशिक कामको खोजीमा लाइन लाग्ने युवाको झझल्कोले हैरान भएपछि विरक्त लागेर देशको लागि केही गर्नुप-यो भन्ने अभिलाषा बोकेर नेपाल फर्किएका रहेछन् काका ।

तातो चियाको घुट्को लगाउँदै काकाले भने, यदि म प्रधानमन्त्री हुने अवसर पाएँ भने यो देशलाई केही वर्षभित्र नै कायापलट गरिदिने थिएँ । देशप्रति अगाध माया र राजनीतिक नेतृत्वप्रति असन्तुष्टि जनाउँदै काकाले केही विकासका आधार प्रस्तुत गरे । उनले सिंगापुरका विकासवादी नेता ली कुआन युको प्रशंसामा केही समय खर्च गरे । ली कुआन युले सुशासन र विधिको शासनलाई विकासको आधार बनाउने क्रममा भ्रष्टाचार र अनियमिततामा संलग्न आफ्नै राजनीतिकर्मी मित्रलाई जेलमा हालेर जनतालाई भनेका रहेछन्, ‘मलाई एउटा मित्रभन्दा देश र यहाँका जनता प्यारा छन्’ भन्दै अब उप्रान्त कोही राजनीतिज्ञ र राष्ट्र सेवकबाट भ्रष्टाचारको दुष्प्रयास भएमा उनकै नियति भोग्नुपर्ने निर्देशन दिएको उल्लेख गर्दै मलेसियाका महाथिर, अफ्रिकाका नेल्सन मन्डेला, चीनका सी चिनफिङले आआफ्ना देशमा गरेको विकासका ’boutमा पनि चर्चा गरे ।

काकाले हाम्रा राजनीतिका शीर्ष पात्र र प्रवृत्तिका ’boutमा केही समय खर्चेपछि नेतृत्व लोभी, कुटिल, स्वार्थी, परिवारवादी एवं अदूरदर्शी भएपछि उसले सञ्चालन गर्ने राज्यका संयन्त्र कमजोर हुनु स्वाभाविक हो भन्ने विचार राखे । हाम्रो देशको सन्दर्भमा राजनीति र प्रशासनतन्त्रलाई भ्रष्टाचारमुक्त बनाउनु विकासको पहिले सर्त भएको धारणा राख्दै उनले भने, ‘यसका लागि कानुनी रूपमा नै भ्रष्टाचारीलाई प्राणदण्डको व्यवस्था आवश्यक हुन्छ । म प्रधानमन्त्री भएको भए अमेरिका, चीन र भारत, पाकिस्तान, बङ्गलादेशलगायतका देशहरूमा जस्तै भ्रष्टाचारीलाई प्राणदण्ड दिने कानुनी व्यवस्था गर्ने थिएँ ।’ यति भने लगत्तै निधार खुम्च्याउँदै काकाले भने, ‘यसो गर्दा अख्तियार अनुसन्धान दुरुपयोग आयोग र न्यायलयलाई स्वच्छ, पारदर्शी एवं सक्षम बनाउन आवश्यक हुन्छ । तसर्थ कुनै राजनीतिक आस्थाको आधारमा भ्रष्टलाई जोगाउने अक्षम व्यक्ति होइन, स्वतन्त्र र सक्षम र निष्पक्ष निर्णय लिन सक्ने व्यक्तिलाई अख्तियार र न्यायालय प्रमुख बनाई देशका भ्रष्ट शासक एवं प्रशासकको सम्पत्ति छानबिन गराउने थिएँ ।’

उच्च पदस्थ व्यक्ति एवं व्यक्तित्वका लागि जनताको करबाट महँगा विदेशी गाडी किन्न खर्च हुने अर्बा रुपैयाँको कटौती गर्ने थिएँ

काकाले चुरोट सल्काउँदै युरोपको बसाइ र जीवनका निराशालाई व्यवस्थापन गर्ने माध्यमका रूपमा धुवाँको लत लागेको गुनासो पनि गरे । उनले राजनीति क्षेत्र र प्रशासन क्षेत्रको सुधार गरेपछि विकासको मोडेल वा प्राथमिकता आवश्यक हुन्छ । विकासका लागि देशमा भएको प्राकृतिक स्रोतसाधनलाई उपयोग गर्ने जनशक्तिको खाँचो हुन्छ । मानवस्रोत उत्पादनको माध्यम शिक्षा हो । तसर्थ, शिक्षालाई गुणस्तरीय, वैज्ञानिक, अनुसन्धानमूलक, रोजगारमैत्री एवं जीवन उपयोगी बनाउनको लागि तदनुरूपको शिक्षा पद्घतिमा सुधार गर्ने विचार व्यक्त गरे ।

शिक्षा प्राज्ञिक थलो भएकाले यो क्षेत्रको सुधारमा देशका विज्ञहरूको थिंकट्यांक बनाई उनीहरूसँग सहकार्य गर्न जरुरी हुन्छ भने । यसो भन्दै गर्दा न्युजिल्यान्डको एउटा विश्वविद्यालयको अवलोकनको अनुभव सुनाउँदै काकाले भने, ‘विश्वविद्यालयभित्र प्रवेश गरेदेखि त्यहाँको वातावरणले मलाई अत्यन्त आकर्षित ग¥यो । हरियाली, सफासुग्घर र पूmलले सजिएको विश्वविद्यालयको सुनसान वातावरणमा कक्षाकोठामा शिक्षण सिकाइ भइरहेको रहेछ । प्रविधिमैत्री कक्षाकोठा, विद्यार्थी, प्राध्यापक, प्रशासनलगायतको अनुशासन देख्दा मलाई त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दाको दृश्यहरूको सम्झना आयो । जताततै छरिएर राजनीतिक गफ चुटेका विद्यार्थी र राजनीतिक आस्थाको आधारमा भर्ना गरिएका प्राध्यापक एवं विद्यार्थी नेताहरूले ताला लगाएका डिनका कार्यालय,’ काकाले थपे, ‘सिस्टम र संस्कारको अभावमा उत्पन्न हुने गतिविधिको अभ्यास पनि गुणस्तरीय शिक्षाको बाधक हो ।’

देश विकासको आधार र दक्ष एवं कर्मशील नागरिक उत्पादनगर्ने शिक्षालय अब्बल नभएसम्म विकासको बलियो आधार बन्न नसक्ने दृष्टिकोण राख्नेक्रममा काकाले भने, ‘यसका लागि दीर्घकालीन योजना चाहिन्छ । तर, तत्काल छोटो समयमा नागरिकले देख्ने र अनुभव गर्न सक्ने विकासको मोडेलअन्तर्गत शिक्षाका अल्प र मध्यकालीन कार्यक्रम सञ्चालन गरी दक्ष कृषि जनशक्ति उत्पादन गर्न आवश्यक रहेको विचार व्यक्त गर्दै उनले हरेक स्थानीय तहमा कृषि शिक्षाका तालिम अभियानका रूपमा चलाउने थिएँ ।’

यसो गर्दा आफ्नो ठाउँको उत्पादन हुन सक्ने खेतीका आधारमा तराईमा धान, गहुँ, आलु, जुम्लामा स्याउ, गुल्मीमा कफी, धनकुटामा एबोगाडो, कास्कीमा सुन्तला, सिन्धुलीमा जुनार, कर्णालीमा जडिबुटीलगायत अन्य ठाउँको उदाहरण दिँदै हावा, पानी, माटो र उत्पादनको सम्भावनाअनुसारका ७ सय ५३ वटै स्थानीय तहमा किसान परिवारलाई कृषि शिक्षाका व्यावसायिक तालिम दिई दक्ष कृषक उत्पादन गर्ने उनले बताए ।

कृषि उत्पादनसँगसँगै हरेक स्थानीय तहमा पशुपालन व्यवसायलाई आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गर्ने प्राविधिकसहितको तालिम सञ्चालन गर्ने थिएँ । यस कार्यक्रमले छोटो वर्षभित्र नै कृषि एवं पशुपालनको क्षेत्रमा आधुनिकीकरण र व्यावसायीकरण सुरु हुन सक्छ । छोटो समयमा नै किसान परिवारको आर्थिक अवस्थामा सुधार हुन सक्छ । गाउँहरू उत्पादनमा आत्मनिर्भर हुन सुरु गर्दछन् । किसानहरूको आर्थिक अवस्थामा सुध्रन्छ । किसानहरूलाई आधुनिक बीउ, बिजन, मल, बजार, बिमा, अनुदान, कृषि प्राविधिकलगायतको राम्रो व्यवस्था गरी कृषिमा आधारित उद्योग स्थापना गर्दै जाने नीति लिने थिएँ । पशुपन्छीमा नश्ल सुधार गर्ने, उपचार गर्ने, उन्नत जातका गाई, भैंसी, भेंडा, बाख्रालगायतको आधुनिकीकरण र यान्त्रिकीकरण गर्न हरेक स्थानीय तहमा आवश्यक कृषि तथा पशुविज्ञ प्रतिष्ठानको स्थापना गर्दै अगाडि बढ्ने नीति, कार्ययोजना एवं लगानीको व्यवस्था गर्ने थिएँ भन्दै उनी मुसुक्क हाँसे ।

काकाले चुरोटको खरानी एस्ट्रेमा ठक्टकाउँदै भने, ‘धिक्कार ! हाम्रा नेताहरू, चियाको कप र राजनीतिक गफमा दिन बिताउँछन् । आन्तरिक किचलो, बिचौलिया, ठेकेदार, र व्यापारीसँग सेटिङ मिलाउन डेटिङ गर्छन् । न्यायालय, अख्तियार, विश्वविद्यालयका डिन, रिडर, रजिस्ट्रारलगायतका राजनीतिक नियुक्तिमा भागबण्डा मिलाउन कसरत गर्छन् । आफ्ना वरिपरि घुम्नेलाई अवसर दिन्छन् । शक्तिको दुरुपयोग गर्छन् । माक्र्सवाद, लेलिनवाद, माओवाद, बीपीवाद, जनवाद, समाजवाद केके जानेका हुन् हाम्रा नेताहरूले ? चुट्नसम्म गफ चुट्छन् । तर, विकास गर्दैनन् । देश विकास गर्ने ढंग पनि छैन यिनीहरूमा ।’

काकाले अहिलेको तीन तहको खर्चिलो राज्य व्यवस्था पनि आवश्यक नभएको विचार राखे । युरोपका देशहरू विकास हुनका लागि गणतन्त्र चाहिएको रहेनछ । विकासको गर्न चाहनेलाई सिद्घान्त र वादभन्दा पनि भिजन, मिसन, एक्सनसहितको सुशासन र अठोट चाहिने कुरा युरोपियन मोडेलबाट सिक्न सकिन्छ । म प्रधानमन्त्री भएको भए स्थानीय तहलाई बलियो बनाएर सिङ न पुच्छरको खर्चिलो, अनावश्यक प्रान्तीय सरकार खारेज गर्ने थिएँ । यसैगरी उच्च पदस्थ व्यक्ति एवं व्यक्तित्वका लागि जनताको करबाट महँगा विदेशी गाडीमा खर्च हुने अर्बाैं रुपैयाँको कटौती गर्ने थिएँ । हरेक मन्त्रालयमा रहेका हजारौं गाडीको उपयोग गर्ने कार्यदिशा बनाउने थिएँ भन्दै ‘सित्तैको धन फुपूको श्राद्घ’ झैं गर्ने आर्थिक दोहन रोक्ने थिएँ भने ।

देश विकासको बाँकी मार्गचित्र अर्को भेटमा प्रस्तुत गर्ने बाचासहित काकाबाट छुट्टिएपछि मेरा मनमा विचारका तरंगले पिङ खेल्न थाले । अहो ! काकाले बनाएका विकासका योजना जस्ताको त्यस्तै प्रधानमन्त्रीको दिमागमा कपी पेस्ट गर्न पाए देशले विकासको गति लिने थियो । हे भगवान ! यो राजधानी पत्रिका प्रधानमन्त्रीको टेवलमा पुगोस् । उनले पढून् । उखानटुक्का अत्यन्त मन पराउने हाम्रा प्रधानमन्त्रीले अर्ती भन्ने कुरा अरूको पनि सुन्नुपर्छ भन्ने लोकोक्तिको मनन गरून् । देश विकास गर्न हाम्रा होइन, राम्रा मान्छे चाहिन्छन् भन्ने कुरा बुझून् । गफ होइन, काम गरून् ।

तपाइको प्रतिक्रिया
(Visited 746 times, 1 visits today)

epaper

ताजा समाचार

पुटिन-सीसहित भारत–इरानका शीर्ष नेताहरूको किर्गिस्तानमा सामूहिक भेट हुँदै