लन्डन । क्याटलान क्लब बार्सिलोनाका पोर्चुगिज डिफेन्डर नेसल्स सेमेडो इंग्लिस प्रिमियर लिग क्लब वल्भ्समा अनुबन्धित भएको छ । वल्भ्सले २६ वर्षीय राइट ब्याकलाई ३७ मिलियन पाउन्डमा पाँच वर्षका लागि अनुबन्धित गरेको हो । वल्भ्सले बुधबारै सेमेडोलाई क्लबमा सार्वजनिक गरेको छ ।
यवल्भ्समा अनुबन्धित भएपछि डिफेन्डर सेमेडोले क्लबको अफिसियल वेबसाइटमा आफूले वल्भ्स रोज्नुको कारण वल्भ्स उत्कृष्ट टोली रहेको बताएका छन् । ‘यो उत्कृष्ट टोली हो । उनीहरूले पछिल्लो सिजन उत्कृष्ट फुटबल खेलिरहेका छन् । गत सिजन उनीहरूले निकै राम्रो फुटबल खेले । यो इंग्ल्यान्डको मात्रै नभई युरोपकै उत्कृष्ट टोली बनेको छ । मलाई आशा छ । यो सिजन पनि वल्भ्सले केही नयाँ गर्नेछ ।
प्रशिक्षक नुनो उत्कृष्ट प्रशिक्षक हुन् । उनले वल्भ्समा निकै राम्रो गरिरहेका छन् । म उहाँबाट धेरै सिक्न चाहन्छु,’ सेमेडोले वल्भ्सको अफिसियल वेभसाइटमा भनेका छन् । सेमेडो २०१७ मा पोर्चुगिज क्लब बेन्फिकाबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि १२४ खेलमा दुई गोल गरेका छन् । उनले बार्सिलोनाबाट दुई सिजन ला लिगा र समान एकपटक कोपा डेल रे र सुपरकोपा जितेका छन् ।






