महामारीविरुद्ध सामूहिक सहकार्य आवश्यक

कोरोना महामारीले अब मध्य चरण पार गरिसकेको देखिन्छ । हामीले अपनाएका प्रारम्भिक रोकथामका उपायहरूले मात्र यसलाई नियन्त्रण गर्न सकिने देखिँदैन । स्थानिक विशेषताअनुसार पनि यसले आफूलाई अनुकूल बनाइसकेको हुनुपर्छ किनकि पहिले छिटफुट रूपमा देखापर्दै गर्दाको भन्दा केही फरक तर व्यापक रूपमा यो विस्तार भइरहेको छ । महामारी आफंैमा मानवजातिका विरुद्ध सर्वव्यापी भएर आइसकेकाले यसको विरुद्ध लड्न पनि हामी एकजुट भएर अघि बढ्नुपर्छ । यसका लागि सरकार एक्लैले गरेका प्रयास र प्रक्रियाहरू पर्याप्त नहुन सक्छ । यसलाई पर्याप्त र प्रभावकारी बनाउन अब जनस्तरसम्मको हातेमालो जरुरुी भइसकेको छ । महामारी एक दिन वा एक महिनाको जस्तो छोटो समय लिएर आएको होइन । यसले दीर्घकालीन असर र प्रभाव पार्नेगरी सदाका लागि प्राणी जगत्मा रहनेगरी आएको छ । त्यसैले, यसको विरुद्धको लडाइँ पनि तात्कालिक र दीर्घकालीन गरी दुवैलाई अघि बढाउनु जरुरी भएको छ ।

महामारी सबै जनताका विरुद्ध हो भन्ने भावना पैदा गर्न सरकारले यसको प्रचार प्रसारलाई विभिन्न स्थानीय तथा मातृभाषामा व्यापक रूपमा लैजान जोड दिनुपर्छ । भाषा आफंैमा बुझाइको माध्यम हो । प्रचार प्रसारमा विभिन्नता भए पनि बुझाइमा यसले एकरूपता ल्याउन मद्दत गर्दछ । यसका लागि स्थानीय वा मातृभाषाको कोरोनाविरोधी मञ्चहरू निर्माण गराएर प्रचारप्रसार गराउनु जरुरी छ । अर्को कुरा आर्थिक जीवनलाई निकै ख्याल गर्नुपर्छ । जनताको आर्थिक उत्पादन र परिचालनलाई ख्याल गरी त्यसैअनुरूप वर्गीकरण गरी आआफ्नो समुदाय ग्रुप वा कलस्टरबीच महामारीविरोधी मोर्चा निर्माण गरिदिन प्रेरित गर्नुपर्छ ताकि उनीहरू एकअर्कालाई आफंैले निगरानी र सचेत गराउन सकून् । यसले गर्दा उनीहरूको बीचमा जवाफदेहिता र उत्तरदायित्वको बोध हुन जाओस् । यस्तो अवस्थामा कसैले कसैप्रति आरोप प्रत्यारोप लगाउन उचित हुँदैन । सरकारी निकाय र अन्य सबै पक्षबीच सहकार्य र समन्वय अत्यावश्यक छ ।

सरकारले तोकेको संक्रमितको संख्याले पनि राजधानीमा मात्रै २५ हजारको सीमारेखा पार गरिसकेको छ । यसले अबको स्थिति काबुभन्दा बाहिर जान सक्छ भन्ने संकेत भने अवश्य गरेको छ । यसका साथै अबका दिनमा महामारीसँग लड्न हामीले हालसम्म गरेका व्यावहारिक र प्राविधिक तयारीले पनि पुग्ने देखिँदैन । अबको समयका लागि महामारीसँग जुध्न प्रचारप्रसार र सर्तकर्ता, पीसीआर परीक्षण, सघन कक्षहरू तथा चिकित्सकहरूको टोली पनि ठूलै संख्यामा तयारी राख्नुपर्छ । यसका लागि सरकारले निजी स्वास्थ्य सेवा प्रदायक सस्थाहरूसँग सहकार्य गर्नु र उनीहरूलाई पनि मानवीय सेवामा प्रेरित गर्नु जरुरी छ । सरकारले कोटा माग गर्नेभन्दा पनि निजी अस्पतालहरूले दिने सेवामा सहजता र उचित सेवा शुल्क निर्धारणमा समझदारी बनाउँदा राम्रो हुन्छ । महामारीका बेला ठाडो निर्देशन र कानुुन कार्यान्वयनका विवाद झिक्नुभन्दा पनि मानवीय समवेदना, सेवाभाव र जवाफदेहिता उमार्नेतिर जोड दिनुपर्छ । नागरिक समाज तथा निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरू पनि सरकारसँग हातेमालो गरेर अघि बढ्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 446 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने