सिरहाको विष्णुपुर–१ मा २० वर्षीय तन्नेरी मुकेशकुमार सिंहले गाउँकै १६ वर्षीया किशोरीलाई बलात्कार गरे । बलात्कृत भैसकेपछि एउटी किशोरीले कुन हदसम्मको मानसिक पीडा झेल्न विवस हुन्छिन् शब्दमा व्याख्या गर्न गा¥हो छ । त्यसपछिको अवस्थामा परिवारका सदस्य वा आफन्तको पे्रमयुक्त भाव र परामर्श नै किशोरीहरुको जिउने आधार बन्छ । जब किशोरीले घरमा पुगेर आफुलाई मुकेशकुमारले बलात्कार गरेको सुनाइन् ।
किशोरीका परिवारका सदस्यको व्यवहार पनि मुकेशकुमारको भन्दा फरक रहेन । मुकेशकुमार जस्तै राक्षसी रुपमा प्रस्तत भए । किशोरीका भाईले ‘घरको इज्जत फालिस्’ भन्दै निर्घात कुट्पिट गरे बलात्कृत बहिनीलाई । किशोरीका भाइलाई दिदी बलात्कृत भएकोमा भन्दा घरको इज्जत गएकोमा बढी चिन्ता लाग्यो र पीडित बहिनीलाई आक्रमण गरे तर, बलात्कारीको बिरुद्धमा प्रहरीमा उजरी गर्नुपर्छ भन्ने उनको मष्तिष्कले भेउ पाएन र परिवारका सदस्यले नै घटना गुपचुपमा राख्ने योजना बनाए ।
घटना घटिसकेपछि पीडक पक्ष प्रशासनसम्म नपुगेपनि गाउँमा हल्ला चलिसकेको थियो । जब वल्लोघर पल्लोघर मुकेशकुमारको राक्षसी स्वभाव र किशोरीका भाईको ‘बौलाहा रुप’ प्रति टिका टिप्पणी सुरु भयो । बलात्कारी छोराका बाबुले नयाँ ट्रिक अपनाए । स्थानिय भलाद्मी पञ्च जम्मा गर्ने । मधेशको यो पुरानो रित हो । पञ्चायत बसाउने र पञ्चायतले गरेको निर्णयलाई सर्वोपरी ठान्ने । पञ्चायतले निर्णय ग-यो । बलात्कार गर्नेले बलात्कृतको परिवारलाई पाँच लाख बुझाउने र प्रहरमा उजुरी नगर्ने । घरको इज्जत फालिस भन्दै दिदी कुट्ने भाइ पाँच लाख पाउने भएपछि बलात्कारी बिरुद्ध जाइलागेनन् बरु पाँच लाखले के उद्यम गर्ने भनेर योजना बनाउन थाले । ढिलै किन नहोस् प्रहरीले थाहा पायो र बलात्कारमा संलग्न र स्थानिय भद्र भलाद्मीलाई पक्राउ ग-यो ।
नेपाली समाजमा मौलाउँदो बलात्कार संस्कृति नियन्त्रण गर्ने हो भने मृत्यदण्डको गफ गरेर हुन्न । पीडितको उजुरी लिन नमान्ने प्रहरी र बलात्कारीको पक्षमा फैसला गर्ने भ्रष्ट न्यायाधीशको सुची बनाएर कारबाही सुरु गर्नुपर्छ ।
नेपालमा बलात्कृत किशोरीले बलात्कृत भएवापत ‘घरको इज्जत फालेको अभियोगमा कुटाई खाएको र बलात्कृत महिलाका बा, आमा र दाजुभाईले केही रुपैयाँमा उजुरी नगर्ने सहमति जनाएको यो नै पहिलो घटना होइन । दैनिकजसो बलात्कार र बलात्कारपछि हत्याका समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नयाँ लहर सुरु भएको छ । ‘बलात्कारीलाई अब मृत्युदण्ड दिनु पर्छ ।’
अहिले बलात्कारीलाई मृत्युदण्ड भनेर लेखेपछि फेशबुकमा लाइक आउँछ, ट्विटरमा लाइक र रिट्विट र मिडियामा समाचारको विषय बन्छ । ट्विटरमा सेलीब्रेटी ठहरिनका लागि पनि अहिले गतिलो हतियार बनेको छ अहिले । ‘बलात्कारीलाई मृत्युदण्ड’ भन्ने शब्द जसले अहिले लेखिरहेका छन् तिनलाई राम्रो संग थाहा छ यो लेख्दैमा केही हुनेवाला छैन । किनकी नेपालले कुनै पनि किसिमका दोषीलाई मृत्युदण्ड दिइने छैन भनेर अभिसन्धीमा हस्ताक्षर गरिसकेको छ । ट्विटरमा लेख्नेहरुलाई यो पनि थाहा छ । मृत्युदण्ड जस्तो अमानवीय कानुन हटाउन लाखौं मान्छेहरुले सयौं वर्ष संघर्ष गरेपछि मात्रै सम्भव भएको हो र नेपालमा फेरि मृत्यु दण्डको कानुन बन्न सम्भव छैन ।
बलात्कारीलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्छ । त्यसमा कुनै शंका छैन । तर, के मृत्युदण्डको सजाय व्यवस्था गर्दैमा बलात्कार स्वाट्ठै घट्ने होइन । केही अहिलेको कानुनले बलात्कारीलाई कार्वाही गर्दैन र ?
मृत्युदण्डको ’boutमा बहस गर्नु अघि हाम्रो सामाजिक परिवेशलाई नियाल्नुपर्ने हुन्छ । किन पीडितका आफन्त अझै केही रुपैयाँमै बलात्कारी बिरुद्ध उजुरी गर्दिन भनेर बाचा गर्छन् । कतिपय ठाउँमा बलात्कारीलाई नै छोरी जिम्मा लगाउँछन् र ज्वाईं मानेर खुट्टा ढोग्छन् ।
भ्रष्ट प्रहरी नैतिक हिन न्यायाधीश
मधेशका भित्री गाउँ र सुदुरपश्चिमका दुर्गम पहाडी भूभागका कुरा छोडौं संघीय राजधानी काठमाडौंमा मालिक र कामदार मिलेर युवतीको सामुहिक बलात्कार गर्छन् । मालिकलाई सामान्य सोधपुछमै प्रहरीले छाडिदिन्छ र कामदारलाई अभियुक्त बनाएर जेल पठाउँछ
शहरदेखि दुरदराजका गाउँसम्म बलात्कारका तथ्याङ्क अध्ययन गर्ने हो भने बलात्कारीको मनोबल बढ्नुमा हाम्रो प्रशासनिक संयन्त्रको लवस्तरोपन काफी छ । बलात्कार किन बढ्यो वा बलात्कृत किन उजुरी गर्न गएनन् भन्ने सन्दर्भमा पीडित परिवारको चेतनाको स्तरको कुरा उठाइन्छ र खिल्ली गरिन्छ । त्यही जोडिन्छ गरिबी, पछौटेपन आदि । तर, बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरुका सन्दर्भमा प्रहरीले जय जयकार गरेको र न्यायलयले ‘बलात्कारीलाई फूलमाला’ चढाएको विषयमा कहिल्यै चर्चा गरिन्न । प्रहरी र न्यायालयको कुरा गर्ने बित्तिकै लहरो तान्दा पहरो गर्जने सम्भावना हुन्छ । धेरै टाढा जानै पर्दै । ललितपुरको गोदामचौर बलात्कार घटनामा न्यायधीशले गरेका फैसला, दरबारमार्ग बलात्कार काण्डमा प्रहरीको रबैया, सुन्तली धामी बलात्कार प्रकरण जस्ता घटना आफैंमा काफी छ ।
मधेशका भित्री गाउँ र सुदुरपश्चिमका दुर्गम पहाडी भूभागका कुरा छोडौं संघीय राजधानी काठमाडौंमा मालिक र कामदार मिलेर युवतीको सामुहिक बलात्कार गर्छन् । मालिकलाई सामान्य सोधपुछमै प्रहरीले छाडिदिन्छ र कामदारलाई अभियुक्त बनाएर जेल पठाउँछ । प्रहरीद्वारा बलात्कृत सुन्तली धामीको मुद्धा अदालतले वर्षौसम्म किनारा लगाउँदैन तर, रक्सीले मातेर मान्छे मार्नेलाई उन्मुक्ति दिन निकै हतारो हुन्छ हाम्रा ‘श्रीमानहरु’ लाई ।

दैनिक जसो बलात्कारका घटना घटिरहनुको कारणलाई कतिपयले यौनिकतासंग जोडेर हेर्ने गरेका छन् तर, होइन् । युवतीले छोटो लुगा लगाएकाले, उत्ताउलो भावभंगीले हिँडेकाले जस्ता बोक्रे तर्क पनि आउँछन् बेला बेलामा । बलात्कारबाट जोगिन नङ पाल्नु, खुर्सानीको धुलो बोक्नु जस्ता काइते सुझाब राजनीतिक दलका शीर्ष नेताबाटै सार्वजनिक भयो । यस्ता टिप्पणीले केबल बलात्कारका मुद्धाको विषायन्तर गरेर बलात्कारी जोगाउन मात्रै भुमिका खेल्यो ।
बलात्कार मात्रै किन अन्य घटनाकै कुरा गरौं न । गाँजाको ठेक्का लिने ठेकेदार सितिमिति कार्वाहीको दायरामा आउँदैन तर, एक हजार पाउने आसमा पाँच किलोमिटर सामान पु-याउने जिम्मा पाएको एउटा भरिया, लागुऔषध कारोबारी शीर्षकमा जेल जान्छ । चितवन राष्ट्रिय निकुञ्जको गैंडा तस्करीमा संलग्नलाई प्रहरीले वर्षौ भेट्दैन । तर, गैंडा मरेको आसपासमा दाउरा खोज्न गएको प्रजा खाग तस्करीको अभियोगमा जेल जान्छ ।
उपाय के छ त ?
बलात्कार बिहीन समाजको परिकल्पना गर्ने हो भने सम्भव छ । त्यसका लागि गफ हैन काम गर्नुपर्छ । बर्तमान कानुनमा भएको विधी अक्षरस पालना गर्नुपर्छ । यदि वास्तवमै बलात्कार बिहिन समाजको पहल गर्ने हो भने आजैदेखि सुरु गरौं । बलात्कारसंग सम्बन्धित कम्तीमा पाँच वर्षको फाइल खोलौं र विस्तृत अध्ययन गरौं । पहिला प्रहरीबाटै सुरु गरौं । बलात्कारका मुद्धामा कुन कुन प्रहरीले बलात्कारीको पक्ष लिएर उजुरी दर्तै गरेनन् वा उजुरी लिएर पनि मुद्धालाई कमजोर बनाउन भुमिका खेले ।
त्यसपछि हेरौं न्यायलयको फैसला कुन न्यायाधीशले कुन मुद्धामा आर्थिक प्रलोभनमा परेर बलात्कारीको पक्षमा फैसला गरे । न्यायाधीशहरुको सूची बनाऔं र बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई साथ दिएको अभियोगमा कानुन सम्वत कार्वाही गरौं । यति गर्न सकियो भने भोलिका दिनमा कुनै पनि बलात्कारीका पक्षमा उभिने छैनन् भने आफैंलाई कार्वाही हुने डरले न्यायाधीशहरुले फैसला गर्र्नुअघि विचार पु-याउनेछन् ।
र अन्त्यमा
प्रहरी र न्यायालयको गलत रबैयाले त बलात्कारको घटना बढाएको छ नै, महिलालाई हेर्ने हाम्रो दृष्टिकोण कति खराब छ भनेर पनि विचार गरिनुपर्छ । संविधानमा आरक्षण वा महिला सशक्तिकरणको कुरा गरेपनि महिलाको क्षमता हेरेर भुमिका दिने कुरामा हामी आजसम्म चुकिरहेका छौं । राजनीतिमा महिलाको उपस्थितीलाई हेरेर महिला सशक्तिकरणको पारो बढिरहेको भनिरहेका छौं । हरेक पार्टीमा स्थान पाएका महिलालाई हेरौं त ’em आफ्नै क्षमताले त्यहाँ पुगेका हुन् कि पार्टीका शीर्ष नेताहरुको श्रीमती, छोरी, बुहारी, भान्जी वा अन्य नाता लागेकाले ?
अर्को कुरा छोरीले कुरा बुझ्ने भएपछि यसो गर्न हुन्न, उसो गर्न हुन्न भनेर राम्रो र नराम्रोको परिभाषा सम्झाउँदै संस्कार सिकाउने बाबु आमाहरु छोरालाई संस्कार सिकाउनु भनेको उसको पौरुषोत्तमाथि आक्रमण गर्नु वा सो सरह हो भन्ने मान्यतामा उसका बद्मासीहरु माथि आँखा चिम्लदै जान्छन् ।






