काठमाडौं । चलचित्र मंगलम्को गीत पर्खपर्ख मायालु…गाउनुअघि गायिका बिन्दु परियार चर्चामा थिइनन् । यो गीत आएपछि उनको चर्चा ह्वात्तै बढेको छ । यो गीत रिलिज भएयता आफूले अरूसँग मागेर गीत गाउनुपर्ने अवस्था नआएको बिन्दुले बताएकी छन् ।
राजधानी दैनिकसँगको भेटमा यी गायिकाले आफ्नो संघर्षको कथा सुनाउँदै भनिन्, ‘चलचित्र मंगलम्भन्दा अघि चलचित्र अप्रिल फुलमा एउटा गीत गाएकी थिएँ । तर, त्यो गीतले म खासै दर्शक–श्रोताबीच चिनिन सकिनँ ।’ पर्खपर्ख मायालु… आएपछिको अवस्था’bout उनले भनिन्, ‘हामीले एउटा गीतिसंग्रहका लागि गाएको गीत कथासँग मिल्ने भएपछि निर्माता छविराज ओझा र निर्देशक नवल नेपाल सरले चलचित्र मंगलम्मा राख्नुभयो ।
यो गीत दर्शकले सर्वाधिक रुचाएपछि मलाई गीत गाउन दिनुहोस् न भनेर माग्नुपर्ने अवस्था आएको छैन ।’ यो गीत सर्वाधिक हिट भएपछि आफूलाई कैयौं चलचित्र र गीतिसंग्रह तथा सिंगल ट्राकका लागि गीत गाउने अवसर आएको पनि उनले बताइन् ।
उनको यो गीतलाई अहिलेसम्म ५ करोडभन्दा बढीपटक युट्युब च्यानलमा दर्शकले हेरिसकेका छन् । ३ करोड जनसंख्या भएको नेपालमा आफ्नो गीतलाई ५ करोडपटक हेर्नु भनेको यसलाई दर्शकको उच्च मायाको रूपमा बिन्दुले लिएकी छन् ।
यो गीत हिट बनाउने क्रममा बिन्दुले अर्को चलचित्र ‘छक्कापन्जा–३’ को पहिलो नम्बरमा गीत गाउने अवसर पाइन् । यो गीतलाई पनि अहिलेसम्म युट्युब च्यानलमा करिब ५ करोडपटक दर्शकले हेरिसकेका छन् । यसरी गायिका बिन्दुको दुईवटा चलचित्र गीत अहिले ५ करोडपटक भन्दा बढी युट्युबमा हेरिएको छ ।
गायिका बिन्दु परियारले पाँच दिनअघि मात्र नयाँ गीत माया गर्छु है…बजारमा आएको छ । यो गीतलाई पाँच दिनमै ५ लाख ५० हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । नाजिर हुसेनको अभिनय रहेको यो गीत र भिडियोलाई अहिले दर्शकले रुचाएका छन् । यो गीत रिलिज भएको एक दिनअघि बिन्दुको अर्को गीत चारकोठे मुटु रिलिज भएको थियो । त्यो गीतलाई पनि दर्शकले रुचाएका छन् ।
मुुलुकमा लकडाउन हुँदा अरू खाली बस्नुपरे पनि गायिका बिन्दु परियारलाई फुर्सद छैन । उनले यो लकडाउनमा दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । अहिलेको अवस्था’bout बिन्दुले भनिन्, ‘गत चैतदेखि यो दसैंसम्मको अस्ट्रेलिया, जापान, युरोप, दुबईसहित थुप्रै मुलुकका कन्सर्ट रद्द भएकोमा साह्रै दुःखी छु । तर, यस्तो अवस्थामा पनि धमाधम गीत रेकर्ड गर्ने र दर्शकमाझ आउने अवसर पाइरहेको छु ।’
एकै साता तीन÷चार वटासम्म गीत रिलिज हुँदै ती गीतको प्रचारप्रसारका लागि मिडियासँगको भटघाट र दौडधूप भ्याइनभ्याइ हुने गरेको पनि बिन्दुले बताएकी छन् । गायन यात्राको यो आधा दशकमा ३ सयभन्दा बढी गीत आफूले रेकर्ड गराइसकेको पनि उनले बताइन् । यति धेरै गीत रेकर्ड भइसक्दा पनि आफूलाई चिनाउने गीत एक दर्जन मात्र भएको पनि यी गायिकाले बताएकी छन् । ती एक दर्जन गीत आफे स्वदेश र विदेशका विभिन्न स्टेजमा गाएको पनि उनले बताएकी छन् ।
आफ्ना श्रीमान् सुदीप सागर कुशल संगीतकार र संगीत संयोजक हुँदा गायिका बिन्दुलाई अझ सजिलो भएको छ । श्रीमान्को माध्यमबाट पनि आफूलाई कैयौं गीत गाउने अवसर मिलेको यी गायिकाले बताएकी छन् । कतिले उनका हिट गीत सुनेर गीत गाउन प्रस्ताव गर्दा रहेछन् । गायनबाट अहिलेको अवस्थामा राम्रै कमाइ हुने गरेको पनि गायिकाले बताइन् ।






