काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १४ अर्ब बढीको कारोबार भएको छ । परिसूचकमा खासै उत्साह नदेखिएको बजारमा अल्पकालीन लगानीकर्ता सक्रिय हुँदा बजार पँुजीकरण भने २५ अर्बले बढेको देखिन्छ ।
यस साता २ सय ५ कम्पनीको १४ अर्ब ६४ करोड ७३ लाख ८९ हजार ४ सय ५ रुपैयाँबराबरको ५ करोड ४४ लाख १८ हजार ६ सय ३ कित्ता सेयर कारोबार भएको छ । गत साताको अन्तिम दिन २० खर्ब ९३ अर्ब रहेको बजार पुँजीकरण २५ अर्बले बढेर २१ खर्ब १८ अर्ब ८० करोड पुगेको छ । गत साता २ सय १ कम्पनीको ११ अर्ब ४१ करोड ९६ लाख १५ हजार ६ सय ८८ रुपैयाँबराबरको ५ करोड २२ लाख २५ हजार ३ सय ३३ कित्ता सेयर कारोबार भएको थियो ।
यस साता सेयर बजारमा हाइड्रोपावरका सेयरमा लगानीकर्ताको बढेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । यद्यपि अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा साताको अन्तिम दिन बिहीबार केही दबाबमा परेको थियो । जलविद्युत्मा ब्याजदर घटेको र यसको प्रत्यक्ष प्रभाव आम्दानीमा पर्ने भएपछि लगानीकर्ताले उचित प्रतिफलको अपेक्षा गर्दै यसतर्फ लगानी बढाएको अर्यालले बताए । पछिल्लो बजार प्रवृत्ति हेर्दा बीचबीचमा सानातिना करेक्सन आउने गरेको देखिन्छ । एक÷दुई दिन करेक्सनपछि फेरि बजारले नयाँ रफ्तार तय गर्ने गरेको छ ।
बजार बढ्ने वा घट्ने यसको प्रवृति हो । तथापि, बजारको गति र प्रवृत्ति’bout ठोकुवा गर्न नसकिने भएकाले लगानीकर्ताले चनाखो भएर अध्ययन गर्न आवश्यक हुन्छ । सूचक सामान्य दबाबमा परे पनि खरिदबिक्री माहोल राम्रो छ । लगानीकर्ताले कम्पनीको वित्तीय सूचकमा सूक्ष्म अध्ययन गर्न बिर्सिनुहुँदैन । लाभांश क्षमता, संस्थागत सुशासन भएका कम्पनीतर्फ लगानी केन्द्रित गर्न सके जोखिम कम गर्न सहयोग पुग्ने हुन्छ । प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, लाभांश क्षमता, संस्थापकलगायतका पक्षमा पनि ध्यान दिँदै अघि बढ्नुपर्ने हुन्छ ।
साताभर नेप्से सूचक तीन दिन बजार बढेको छ भने दुई दिन मात्रै घटेको छ । साताको पहिलो दिन आइतबार १४ दशमलव ७१ अंकले नेप्से बढेर १ हजार ५ सय ८५ दशमलव ७६ को बिन्दुमा पुगेको थियो । सोमबार ३ दशमलव ६३ अंकले सूचक घटेको थियो । फेरि मंगलबार र बुधबार नेप्से सूचक क्रमशः ४ दशमलव १७ अंकले र १४ दशमलव ६८ अंकले बजार बढेको थियो । साताको अन्तिम दिन बिहीबार भने बजार ११ दशमलव ३४ अंकले घटेर १ हजार ५ सय ८९ दशमलव ६४ को बिन्दुमा पुगेको छ । अर्थात् गत साताको तुलनामा नेप्से सूचक १८ दशमलव ६ अंकले बढेको छ ।
यस साता कारोबारमा आएका ६ वटा उपसमूह बढ्दा ६ वटा उपसमूह घटेको छन् । साताको पहिलो दिनको तुलनामा सबैभन्दा बढी जलविद्युत् १ सय २५ दशमलव १७ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ८८ दशमलव ५७ अंकले, वित्त समूह ५६ दशमलव ५८ अंकले, होटेल २५ दशमलव ६३ अंकले, अन्य समूह २ दशमलव ४७ अंकले र म्युचुअल फन्ड शून्य १३ अंकले बढेका छन् । घट्नेमा सबैभन्दा बढी निर्जीवन बिमा १७० दशमलव ४३ अंकले घटेको छ । भने, जीवन बिमा ११३ दशमलव ६३ अंकले, उत्पादन तथा प्रशोधन ६२ दशमलव ९४ अंकले, लद्युवित्त १९ दशमलव ४५ अंकले, बैंकिङ ७ दशमलव ५३ अंकले र व्यापार ४ दशमलव ५ अंकले घटेका छन् ।
यस साता कारोबारमा आएका कम्पनीहरूमा सबैभन्दा बढी कारोबार अरुन काबेली पावर कम्पनीको भएको छ । यसको ५८ करोड ६४ लाख बढीको कारोबार भएको हो । त्यस्तै, शिभंम सिमेन्टको ५७ करोड ६६ लाख बढीको, नेपाल रिइन्स्योरेन्स कम्पनीको ५५ करोड २० लाख बढीको कारोबार भएको छ, भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ४३ करोड बढीको कारोबार भएको छ । स्वाभिमान लघुवित्त वित्तिय संस्थाको १ लाख ४८ हजार ४ सय ६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नियमित कारोबारका लागि नेप्सेको कारोबार पाँच दिन खुला रहेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक साताको पहिलो दिनको तुलनामा ४ दशमलव ५९ अंकले बढेर ३ सय १४ दशमलव ७५ को बिन्दुमा आइपुगेको छ ।






