काठमाडौं । कोराना संक्रमणले विश्व नै आतंकित बनेका बेला विशुद्ध समाजसेवाका लागि स्थापना भएको हिमानी ट्रस्ट यतिबेला सहयोगमा जुटिरहेको छ । ट्रस्टले रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंसँग मिलेर कोभिड विरामीका लागि आवश्यक पर्ने दुई थान हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई उपलब्ध गराएको छ । श्वास प्रश्वासमा उपयोग मानिएको यो उपकरण नेपालका लागि नयाँ प्रविधि भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर इमराम अन्सारीले बताए ।
हिमानी ट्रस्टले देशभरिकै स्वास्थ्य संस्थामा सहयोग उपलब्ध गराउँदै आएको व्यस्थापक उत्तम निरौलाले बताए । उनका अनुसार ट्रस्टले कोरोना संक्रमण भएयता झन्डै ५ करोड रुपैयाँ नगद र भौतिक सामाग्री उपलब्ध गराइसकेको छ ।
ट्रस्टले नेपाल सरकारलाई २ करोड रुपैयाँ नगद हस्तान्तरण गरेको थियो भने विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई पर्सनल प्रोटेक्ट किटलगायतका सामग्री उपलब्ध गराइरहेको छ । यसका लागि ट्रस्टले ३ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको व्यवस्थापक निरौलाले जानकारी दिए ।
देशको सीमा क्षेत्रमा पिउने पानीको व्यवस्था, हात धुने साबुन र सेनिटाइजर तथा औषधिसमेत ट्रस्टले उपलब्ध गराएको छ । कोरोना संक्रमण सुरु भएपछि रोजगारी गुमाएका व्यक्तिहरु भोकै नपरुन भनेर ट्रस्टले खानाको व्यवस्था गर्दै आएको छ । ट्रस्टले उपत्यकालगायत विभिन्न स्थानमा दैनिक ५ सयजनालाई खाना खुवाउँदै आएको व्यवस्थापक निरौलाले बताए ।






