सप्तरीमा एक जनाकाे मृत्यु, सभासदसहित एउटै कार्यालयका १३ कर्मचारी संक्रमित

सप्तरी, राजविराज । जिल्लामा कोरोना संक्रमणबाट आइतबार थप एक संक्रमितको मृत्यु भएको छ भने २६ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक कोरोनाबाट जिल्लाको डाक्नेश्वरी नगरपालिका–७ घर भई विगत लामो समयदेखि राजविराज–६ मा बसोवास गर्दै आएकी ६५ वर्षिया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

गत २० असोजमा कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएकी उनको आइतवार बिहान ६ बजेतिर निवास स्थलमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । मृतकको शवको आइतवारै सेनाले सप्तकोशी किनारमा व्यवस्थापन गरेको छ ।

आइतवारै जिल्लामा एक प्रदेशसभा सदस्य र एउटै कार्यालयका १३ कर्मचारी सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

यता आइतवारै जिल्लामा एक प्रदेशसभा सदस्य र एउटै कार्यालयका १३ कर्मचारी सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सप्तरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित एक सभासद तथा राष्ट्रिय वाणिज्य बैंक शाखा राजविराजका १३ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै रुपनी गाउँपालिकाका ११ तथा राजविराज नगरपालिकाका एक जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिए । यहाँ स्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एउटै कार्यालयका १३ कर्मचारी सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. रन्जित झाले बताए ।

योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ भने कुल संक्रमितको संख्या १ हजार ३ सय ८८ पुगेको छ । एकै दिन १३ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि राष्ट्रिय वाणिज्य बैंक बन्द गरिएको छ । यसअघि राजविराज र कञ्चनरुप नगरपालिका स्थित मालपोत कार्यालय तथा खडक नगरपालिका र राजगढ गाउँपालिकाका कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँको सेवा बन्द गरिएको थियो । ती कार्यालय र स्थानीय तहको सेवा आइतवारसम्म पनि बन्द रहेको छ । जिल्लामा संक्रमितको संख्या बढ्ने दर कायमै रहदा स्थानीयमा भने झन त्रास फैलिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी